Comments Add Comment

बार्सिलोनाको मैदानमा फर्केला म्यानचेस्टर युनाइटेड ?

३ वैशाख, काठमाडौं । च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा घरेलु मैदानमा १–० ले हारेर पछि परेको म्यानचेस्टर युनाइटेडलाई आज दोस्रो लेगमा बार्सिलोनाको मैदानमा खेलमा फर्कने दबाव बढेको छ ।

युनाइटेडले सक्ला ?

युनाइटेडका प्रशिक्षक ओले गुनार सोल्सारले भनेका छन्, ‘हामी भाग्यमा विश्वास गरेर बस्न सक्दैनौँ ।’

राति पौने १ बजे हुने बार्सिलोना र म्यानचेस्टर युनाइटेडबीचको खेल बार्सिलोनाको मैदान क्याम्प नाउमा हुने छ । जहाँ प्रशिक्षक सोल्सारका बिर्सनै नसक्ने क्षण छन् । १९९९ मा क्याम्प नाउमा भएको च्याम्पियन्स लिग फाइनलमा सोल्सारले इन्जुरी समयमा हानेको गोलमा म्यानचेस्टर युनाइटेडले बायर्न म्युनिखलाई हराएर उपाधि जितेको थियो ।

‘यसपटक कस्तो हुनेछ भन्ने मलाई थाहा छैन, हामी राम्रो नतिजाका लागि मेहनत गरिरहेका छौँ । फुटबलमा जे पनि हुन सक्छ’ सोल्सारले भनेका छन् ।

अन्तिम १६ को खेलमा पीएसजीसँग पहिलो लेगमा २–० ले हारेर पनि पीएसजीकै मैदानमा भएको दोस्रो लेगमा ३–१ ले खेल जित्दै क्वाटरफाइनल पुगेकाले आफूहरु फेरि त्यही नतिजा दोहा¥याउन योग्य रहेको सोल्सारको भनाई छ ।

घाइते अवस्थाबाट गुज्रिएका फरवार्ड एलेक्स सान्चेज र मिडफिल्डर नेमान्जा म्याटिक अहिले टिममा फर्किएका छन् । बार्सिलोनाका पूर्व खेलाडी रहेका सान्चेजमाथि सोल्सारको आश बढेको पनि छ ।

‘सान्चेजले यहाँ लामो समय खेलेका छन्, यो रात उनका लागि निकै महत्वपूर्ण रहने छ । आश गरौँ हामी सबैका लागि सम्झनलायक समय हुनेछ’ सोल्सारले भनेका छन् ।

बार्सिलोनाले रोक्ला ?

युरोपियन प्रतिस्पर्धामा अहिलेसम्म घरेलु मैदानमा भएको खेलमा बार्सिलोना म्यानचेस्टर युनाइटेडसँग हारेको छैन । चार खेलमा दुई खेल जितेको छ भने दुई खेलमा बराबरी गरेको छ ।

बार्सिलोना युरोपियन प्रतिस्पर्धामा अवे मैदानमा जितेको ४१ खेलमध्ये ३९ खेलमा अघिल्लो चरणमा पुगेको छ । साथै च्याम्पियन्स लिग खेलमा घरेलु मैदानमा बार्सिलोना ३० खेलमा अपराजित रहेको छ जुन कुनै पनि क्लबको भन्दा धेरै हो । जसमा २७ खेल जितेको छ भने ३ खेल बराबरी गरेको छ ।

यस्तै बार्सिलोनाका लियोनल मेस्सीले प्रिमियर लिग टिमसँगको च्याम्पियन्स लिगका ३० खेलमा २२ गोल गरेका छन् । जुन कुनै पनि खेलाडीले गरेको भन्दा धेरै हो ।

युनाइटेडले पहिलो लेगमा बार्सिलोनाको पोस्टमा एउटै पनि सिधा प्रहार गर्न नसकेकाले पनि बार्सिलोना घरेलु मैदानमा अझ मजबुत हुने विश्वास गर्न सकिन्छ ।

पहिलो लेगमा अनुहारमा चोट लागेका लियोनल मेस्सी अहिले ठीक छन् । शनिबार हुएस्कासँगको ला लिगा खेलमा आराम लिएका उनले म्यानचेस्टर युनाइटेडविरुद्ध अपनाउने रणनीति नै मुख्यतः खेलमा देखिने भिन्नता हुनेछ ।

बार्सिलोनाले बराबरी मात्रै गर्दा पनि सेमिफाइनल पक्का हुनेछ । तर प्रशिक्षक एर्नेस्टो भालभर्देले टिमलाई जिताउनका लागि मैदान पठाउने बताएका छन् ।

‘पहिलो लेगमा हाम्रो जित सोचेजति स्पष्ट छैन, हामी आफ्नै शैलीमा खेल्नुपर्छ, उनीहरुले गोल नगरुन् भन्नेमा हामी सचेत रहनु पर्छ । खेल जितेर नै हामी अगाडि बढ्न चाहन्छौँ’ भालभर्देले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment