Comments Add Comment

आजका पत्रपत्रिका : बालुवाटार जग्गा प्रकरण मिलाउन अख्तियारभित्रैबाट चलखेल

सेटिङको रहस्य खुलेपछि महाशाखा प्रमुख कारबाहीमा

४ वैशाख, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरुको प्राथमिकतामा फरक–फरक विषय परेका छन् । खासगरी अनियमितता र बेथितिसँग सम्बन्धित सामग्रीलाई नै प्रमुख दैनिक पत्रिकाहरुले मुख्य समाचार बनाएका छन् । यद्यपि, केही दैनिक पत्रिकाहरुमा आशालाग्दा खबरहरु पनि छन् ।

कान्तिपुरले बालुवाटारस्थित ललितानिवास जग्गा खरीद प्रकरण छानिबनको अन्तर्य खोतलेको छ । कान्तिपुरका अनुसार, यो खरीद प्रकरण टुंग्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्रैबाट सेटिङ प्रयास भएको छ । अनुसन्धानका लागि तोकिएका अनुसन्धान महाशाखाका प्रमुख हरिप्रसाद जाेशीले नै छानबिन प्रभावित गर्ने प्रयास गरेका हुन् । कानून व्यवसायीलाई कार्यालयमै बोलाएर प्रलोभन र धम्की दुवै दिएपछि उनी कारबाहीमा परेका छन् । समाचार अनुसार, महान्यायाधिवक्ताको कार्यालयबाट अख्तियार आएका उनलाई उतै फिर्ता पठाइएको छ । तर, सरुवाबाहेकका थप करवाही भने गरिएको छैन ।

जोशीले ललिता निवासबारे पेस गरेको अनुसन्धान प्रतिवेदनसमेत विश्वासिलो नभएपछि अख्तियारले छुट्टै नयाँ अनुसन्धान अधिकृत तोक्ने तयारी गरेको समाचारमा उल्लेख छ ।

ललितानिवास जग्गा अतिक्रमणमा स्वयं आयुक्त नै संलग्न रहेको दाबी पनि कान्तिपुरले गरेको छ । समाचार अनुसार, निर्वाचन आयुक्त सुधीरकुमार शाहले बालुवाटारको पर्खाल सारेका छन् । भक्तपुरका तत्कालीन मालपोत अधिकृत शाहले ०४९ मा ललिता निवासको २ रोपनी जग्गा श्रीमती उर्मिलाको नाममा खरीद गरेका थिए । उक्त जग्गा सुरुमा प्रधानमन्त्री परिसरभित्र थियो । ०५४ मा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको पालामा निजी सचिव भएका शाहले जग्गा बाहिर पारेर बालुवाटारको कम्पाउन्डवाल लगाउन लगाएको समाचारमा उल्लेख छ ।

मेयर छोरालाई मन्त्रीले २४ करोड उपलब्ध गराएको खुलासा पनि कान्तिपुरको पहिलो पृष्ठमा छ । शिक्षा र स्वास्थ्यको बजेट रकमान्तर गरेर प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले छोरा शैलेशकुमार साह मेयर रहेको सप्तरीको हनुमाननगर नगरपालिकालाई २४ करोड रुपैयाँ फुटकर योजनामा विनियोजन गरेको कान्तिपुरको दाबी छ । शैलेशकुमार नवलकिशोरका जेठा छोरा हुन् । छोरा मेयर रहेको क्षेत्र मन्त्री साहको संसदीय क्षेत्र पनि हो ।

कान्तिपुरले भित्री पृष्ठमा वैदेशिक रोजगारको पीडालाई पनि समेटेको छ । समाचार अनुसार, ३ हजार नेपाली साउदीमा अलपत्र परेका छन् । नेपाली कार्यरत ३ कम्पनी टाट पल्टिँदा ती नेपालीहरु अलपत्र परेका हुन् ।

साउदीको अलमिल कन्स्ट्रक्टिङ कम्पनी, अजमिलको भगेनी कम्पनी अर्कद , जे एण्ड पी र साउदी मार्वल एन्ड ग्रिनाइटेड संकटमा परेपछि नेपाली अलपत्र परेकाे कान्तिपुर समाचारमा उल्लेख छ ।  उनीहरु नेपाल फर्कन नपाएर अलपत्र छन् । त्यस्तै वैदेशिक रोजगारीका लागि प्रतिबन्धित रहेको इराकमा २० हजार नेपाली पुगेको तथ्यांक पनि कान्तिपुरमा छ । अवैध बाटो हुँदै यति ठूलो संख्यामा नेपाली इराक पुगेको कान्तिपुरको समाचार सार छ ।

अन्नपूर्णमा मोफसलको विषयले मुख्य स्थान पाएको छ । उसले आज उपल्लो गोरखाको तानेर विवाह गर्ने अनाैठाे प्रथाबारे लेखेको छ ।

कानूनमा महिलाको इच्छाविपरीत विवाहका लागि जबरजस्ती गर्न पाइँदैन । अन्नपूर्णका अनुसार, उत्तरी गोरखाका बिहीलगायत २ दर्जन गाउँमा भने अझै पनि केटीलाई तानेर विवाह गर्ने परम्परा छ । चिनेको होस् वा नचिनेको होस्, मन परेको होस् वा नपरेको होस्, केटाले मन पराएपछि जबरजस्ती तानेर दुलही बनाउने चलन रहेको छ, यी क्षेत्रमा ।

नेपालमा तोकिएको समयमा ठेकेदारले काम पूरा गरेको घटना विरलै छन् । तर, भेरी–बबई डाइभर्सन आयोजना यसको अपवाद हो । अन्नपूर्णका अनुसार यो आयोजनाको सुरुङ १ वर्ष पहिले नै सकिएको छ ।
टोखा बिस्केट जात्राको तस्वीर छापेको नागरिकले जन्मका आधारमा वंशजको नागरिकता दिने गृहमन्त्रीको विवादास्पद निर्णय सर्वोच्चले सदर गरेको लेखेको छ । ठूला करदाता कार्यालयले एनसेल करबारे लिएको निर्णयलाई पनि नागरिकले प्रमुखताका साथ कभरेज गरेको छ ।

राजधानीले एनजीओका खर्चमाथि नजर डुलाएको छ । समाचार अनुसार सरकारलाई छल्दै एनजीओहरुले ६ अर्ब ३८ करोड खर्च गरेका छन् । कामै नभई बाहिरी चक्रपथमा ११ करोड खर्च भएको हिसाब पनि राजधानीले निकालेको छ ।

कारोबारले १२ लाख हेक्टरमा कफी उत्पादन सम्भव भएको लेखेको छ भने गाेरखापत्रले भेरी बबई डाइभर्सनको सुरुङको ब्रेक थ्रुलाई प्रमुख समाचार बनाएको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment