Comments Add Comment

पहुँचवालालाई तक्मा, कवि र पत्रकारलाई हत्कडी !

निर्माण सम्पन्न हुन नपाउँदै कयौं पुल भत्किन्छ । बाटो कालोपत्रे  हुन नपाउदै पिच उप्किन्छ । शक्ति र पहुँचको आधारमा हत्यारा र बलात्कारी हात्तीजस्तो बढेमान हुन्छ , अर्को निमुखाको नाम पोतिन्छ  । यहाँ कमिसन लाखबाट हैन करोड/ अर्ब र खर्बबाट शुरु हुन्छ । सरकारी संस्थान सबै घाटामा (बिधुत प्राधिकरण कुलमान आएपछि बाहेक) चल्छन् तैपनि २-४ अर्ब बोनस फिजारिन्छ ।

आवश्यकता भन्दा दश गुणा बढी खर्बौको सरकारी गाडी खरिद गरिन्छ । आधा थन्किन्छ र केही बर्षपछि कवाडीको मोलमा लिलामी हुन्छ । अघिकांश  ठेक्कापट्टा दादागिरी र नोटले खल्तीमा बोकेर हिँडिन्छ । बालुवाटार, गुठी, मठ मन्दिर वा सार्बजनिक जग्गा बरिस्ठहरुले हड्प्छन् । मझौलाले सेटिङ मिलाएर केही पैसो दिएजस्तो गर्छन्।

ट्रली बस हसुरे । साझा यातायात बर्सेनी करोडौंको घाटा देखाएर हसुर्दैछन् । आयल निगम के त झन के कुरो भो र, धुलोपिठो पारिरहेका छ्न् । अदालत आफ्नै ससुरालीजस्तो बनाए, जहाँ जति नै गल्ती गरे पनि ज्वाइँ साब बन्न पाइन्छ । इज्जत पाईन्छ । प्रहरी, प्रशासन केहीलाई नेताले आफ्नो वरिपरि घुमाउँछन् । केहीलाई पहुँचवालाले कुदाउँछन् र केहीलाई  डनले भकुर्छन् त केहीलाई पैसोले हिडाउँछ ।

पूर्वदेखि पश्चिमसम्म कयौं आयोजना  अलपत्र छन् । खादाको भारी थेग्न नसक्ने गरी लाउन पाउने लोभमा हजारौं योजनाहरु विनापूर्वाघार, विनास्रोत र विनारकम  शिलान्यास गर्न तँछाड मँछाड हुन्छ । तर, आफैंले शिलान्यास गरेका योजना के भयो भन्ने न खादावालालाई हेक्का हुन्छ, न त लगाइदिनेलाई नै पत्तो हुन्छ । सरुवा, बढुवामा कयौंको घरजग्गा जोडिन्छ त कैयौंको बैंक ब्यान्लेस थपिन्छ ।

एकातिर  इमान्दार रास्ट्रसेवकहरु भने छोराछोरी, श्रीमती र कोठाभाडा तिर्न कयौं रात भोकै सुत्नुपर्ने अवस्था छ भने अर्कोतिर शक्ति र पैसाको आडमा (केही आपवाद वाहेक) रास्ट्रपतिलाई समेत गुमराहमा पारेर उनैबाट  तक्माले कयौं अयोग्य राम थापाहरुको छाति नापिन्छ । कयौं बलात्कारी बचाउने सहासीहरुको घाँटी छोट्याउनुपर्नेमा उनीहरुकै घाँटी पुरस्कार र मेडलले भरिन्छ ।

लाखौं लाख बालबालिकाहरु सडकमा बोराको सिरानी हालेर सुतिरहँदा प्रधानमन्त्री / मन्त्रीहरु कोही बालबालिका स्कुल जानबाट बन्चित हुँदैनन् भनी पुराण सुनाउँछन् । अनि बोलाइएका र किनिएका निरीहहरु परर ताली पिट्छन् ।  हिजो राजालाई सामन्ती सत्तामा उभ्याएर निशाना ताक्नेहरु आज बाक्लो सुरक्षा कवजमा बाटो नै जाम गरी कहिले सिंहदरबार त कहिले बालुवाटार, कहिले शीतलनिवास त कहिले बिदेश सयर गरिरहेका छन् ।

भुकम्पले ढलेका लाखौं घरहरुले अझै पनि हामीलाई गिज्याइरहेका छन् । भुकम्पले ढलेका धेरै घर र मनहरु ठडिन नसके पनि भुकम्पले नछोएका केहीको भने बैंक भरिएको छ। भाग्य भरिएको छ र सुख भरिएको छ । भुकम्पले ढलेका, डुबानमा परेका बस्ती ठड्याउन घुर्मुस सुन्तलीहरू रातदिन जागा बस्छन् । तर, जसले अघिकार र साँचो समातेर बसेका छन्, उनीहरु सघैं मस्त निन्द्रामा छन् ।

तराईका कयौं बस्तीहरु हैजाले सोत्तर हुँदा होस् वा कर्णालीका जनता सामान्य ज्वरोको औषघि नपाएर  सुत्केरी हुन डोकोमा ५ दिन बोकेर सदरमुकाम पुर्याउनुपर्ने दुरावस्था, न डाक्टर उपलब्ध छन्, न औषधि, न त अस्पताल नै ।

हजारौंको बलिदानी, त्याग, तपस्या, क्षति र जेलनेलले ल्याएको खै कस्तो गणतन्त्र ? जहाँ ठग र दलालको भण्डाफोर गरेवापत अर्जुन गिरीजस्ता पत्रकारलाई हतकडी लाग्छ । रसुवाली कवि ठाकुरप्रसादको हात बाँधिन्छ ।

खोज पत्रकारिता र जनताको गुनासो सुनाउने लेखकलाई जेल हैन, सम्मान गर । तब न गणतन्त्रको  उचाइ बढ्नेछ । र गणतन्त्रको संस्थागत विकास हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment