
५ वैशाख, काठमाडौं । बेरुजु फर्छ्यौटमा उत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयमा सचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई पुरस्कृत गरिएको छ ।
गृहमन्त्रालयमा बिहीबार एक कार्यक्रमका बीच गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले उनीहरुलाई नगद तथा प्रशंशापत्र प्रदान गरेका हुन् । बेरुजु फर्छ्यौटमा उत्कृष्ट भएकोमा गृह मन्त्रालयमा सचिव राई, नेपाल प्रहरी महानिरीक्षक खनाललाई आठ हजार रुपैयाँ नगद एवम् प्रशंसापत्र प्रदान गरिएको छ ।
त्यस्तै गृह मन्त्रालयका उपसचिव शिवनाथ पौडेल, लेखा अधिकृतहरु फइन्द्रकुमार श्रेष्ठ, शालिकराम पराजुली, लेखापाल नरबहादुर कुँवरलाई ६ हजार रुपैयाँसहित प्रशंसा पत्र प्रदान गरिएको छ ।
कार्यक्रममा गृहमन्त्री थापाले पुरस्कृत व्यक्तित्वहरुलाई बधाई दिँदै पुरस्कारले अन्य मन्त्रालयलाई पनि राम्रो काम गर्न प्रेरणा दिने बताए ।
गृहन्त्रालय र सो अन्तर्गतका निकायहरुको आर्थिक वर्ष २०७३/७४ सम्मको खर्च २०७४/७५ मा फर्छ्यौट गरिसक्नुपर्नेमा करिब ६३.०३ प्रतिशत फर्छ्यौट गरेको छ । गृहले चार अर्ब ३० करोड ९७ लाखमध्ये दुुई अर्ब ७१ करोड ६२ लाख रुपैयाँ बेरुजु फर्छ्योट गरेका छन् ।
यस्तै नेपाल प्रहरीको आर्थिक वर्ष ०७३/७४ सम्मको बेरुजु ६८ करोड ४१ लाख रुपैयाँमध्ये ८५.१४ प्रतिशत अर्थात ५८ करोड २५ लाख बेरुजु फर्छ्यौट भएको छ ।
प्रतिक्रिया 4