Comments Add Comment

लोकसभा चुनावमा ‘आउट अफ सिन’ नितिशकुमार !

६ चैत, काठमाडौं । भारतमा लोकसभा चुनाव जारी हुँदा बिहारका मुख्यमन्त्री नितिशकुमारको कुनै चर्चा छैन । पछिल्ला करिब दुई दशकमा उनी यसरी चर्चाबाहिर रहेको यो पहिलो पटक हो ।

सन् २०१४ को लोकसभा चुनाव र २०१५ को विधानसभा चुनावका चर्चित पात्र बनेका नितिशकुमारलाई कुनै बेला भावी प्रधानमन्त्रीका रुपमा समेत हेरिएको थियो ।

तर, आज उनी गुमनाम छन् ।

सन् १९९४ मा लालु यादवसँग सम्वन्ध तोडेपछि उनी एक विद्रोही र प्रगतिशील छविका नेताका रुपमा उदाएका थिए । राज्यमा सन् २००५ मा एनडीएसँग सत्तामा आएपछि मुख्यमन्त्री नितिशकुमारलाई सर्वमान्य नेताका रुपमा स्वीकार गरियो । तर, बदलिएको राजनीतिक परिस्थितिमा आज उनलाई सबैले भाउ दिन छोडेका छन् ।

मुख्य विपक्षी राष्ट्रिय जनता दल (आरजेडी) का प्रदेश अध्यक्ष रामचन्द्र पूर्वे भन्छन्, ‘जनादेशको अपमान र लालूप्रसादमाथि विश्वासघातले गर्दा राजनीतिमा नितिशकुमारले आफ्नो प्रतिष्ठा गुमाए । त्यसैले उनको सामाजिक र राजनीतिक सान्दर्भिकता समाप्त भएको छ । आज नितिशकुमार एउटा कामचलाउ सीएम जस्तो बनेका छन् ।’

यता, जनता दल यूनाइटेडका प्रदेश प्रवक्ता राजीव रंजन प्रसाद भने नितिश कुमार पछिल्लो दुई दशकमा बिहारको राजनीतिका एक अपरिहार्य अनुहार बनेको बताउँछन् । उनको भनाइमा बिहारमा नितिशको सान्दर्भिकता पहिलेभन्दा अझै बढेको छ ।

‘मुख्यमन्त्रीले विहारलाई विकासको बाटोमा अघि बढाउन जनतासँग आशीर्वाद मागेका थिए । उनले कहिले पनि लालु यादवका गलत कामहरुलाई ढाकछोप गर्न जनतासँग वादा गरेका थिएनन् । लालू यादवका छोराहरुको भ्रष्टाचारलाई नजरअन्दाज गर्नका लागि जनादेश मागेका थिएनन्,’ उनले भने ।

उनको दाबी छ कि २०१५ मा राजदलाई नितिश कुमारले नै संजीवनी दिएका थिए ।

वरिष्ठ पत्रकार अरुण श्रीवास्तवको भनाइमा मुख्यमन्त्री नितिश कुमारले बारम्बार आफ्नो पोजिसन बदल्दा उनको विश्वसनीयतामा प्रश्नचिन्ह उठेको छ । ‘यदि उनी कुनै एउटा पोजिसनमा अडिएको भए विश्वसनीयता कायम रहन्थ्यो । उनी भाजपासँग त छन्, तर उनलाई आफ्नो सीमा थाहा छ । उनका लागि एउटा लक्ष्मण रेखा बनाइएको छ श्रीवास्तवले भने ।

नितिश कुमारले आम जनतासँग जोडिएका कुनै पनि एजेन्डालाई सम्वोधन गर्न नसकेको पनि उनको आरोप छ ।

एक समय नितिश कुमारको चर्चा राष्ट्रिय स्तरमै थियो । भावि प्रधानमन्त्रीको रुपमा समेत हेर्न थालिएको थियो । विपक्षीले उनलाई यसरी नै प्रोजेक्ट पनि गरेको थियो ।

तर कांग्रेसको कारणले यस्तो हुन सकेन ।

कहिले एनडीए त कहिले राजदसँग हुँदा उनी बिस्तारै राष्ट्रिय राजनीतिको रंगमञ्चबाट विलाउँदै गए । आम राजनीतिक दलहरुका नेताबीचमा उनको विश्वसनीयता गुम्दै गयो ।

त्यसो त अझै पनि विहारका मानिसहरुबीचमा आफूलाई उभ्याइरहेका छन् नितिशकुमार । चुनाव प्रचार गरिरहेका छन् तर, उनले विहारका मानिसहरुको मनोभावना बुझ्न सकिरहेका छैनन् ।

सामाजिक न्यायको कुरा त गरेका छन् तर, लालु यादवभन्दा आफूलाई भिन्न देखाउन सकिरहेका छैनन् ।

नितिशकुमारले सन् २००० देखि लगातार लालू यादवविरुद्ध चुनाव लडे । अन्ततः सन् २००५ मा लालूलाई पराजित गर्न सफल भए । बिहारका सबैभन्दा शक्तिशाली हस्तिलाई पराजित गरेपछि उनको चर्चा चुलिएको थियो ।

सन् २०१० को चुनावमा पनि यही स्थिति रह्यो । त्यसपछि २०१४ मा नितिश कुमारले नरेन्द्र मोदीलाई चुनौती दिए भने २०१५ मा फेरि लालूसँग २० वर्षपछि एक भए ।

दुवै मिलेर नरेन्द्र मोदीलाई चुनौती दिए । तर, वर्तमान लोकसभा चुनावमा मोदीको पक्षमा उभिएका छन् नितिशकुमार । मोदीको नाम लिएर बिहारमा एनडीएले भोट मागिरहेको छ । नितिशकुमार आफ्नो भाषणमा मोदीको प्रशंसा गरेर थाकिरहेका छैनन् । नितिशकुमारले सन् २०१७ मा महागठवन्धनबाट नाता तोड्ने निर्णय लिएका थिए तर, फेरि एनडीएमा जाँदा उनको साख गिरेको छ ।

बीबीसी हिन्दीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment