Comments Add Comment

सुस्ताउने ठाउँ छैन शहरमा

तपाईं हिँड्दा-हिँड्दै लखतरान हुनुभयो । गाडी पर्खदा-पर्खदै थाक्नुभयो । किनमेल गर्दा-गर्दै शिथिल हुनुभयो । कुनै काम गर्दा-गर्दै हैरान हुनुभयो । अब तपाईंलाई लाग्छ, कतै एकैछिन सुस्ताउनु पर्‍यो । आरमले बस्नुपर्‍यो । थकाई मेट्नुपर्‍यो । सीतल र सहज ठाउँमा विश्राम गर्नुपर्‍यो ।

तर, काठमाडौं महानगरमा त्यस्तो ठाउँ फेला पार्न मुश्किल मात्र होइन, असंभव जस्तै हुन्छ । अर्थात यो महानगरमा एकछिन सुस्ताउने ठाउँ छैन ।

कहाँ सुस्ताउने ?

कोही थाकेर पुटपाथमै विश्राम गर्छन् । कोही आकासे पुलमा उक्लिएर थकाई मार्छन् । कोही कुनै सार्वजनिक भवनको पर्खालमा अडेसिन्छन् ।

रोगी, बुढाबुढी, गर्भवती, बालबच्चा छन् भने त महानगरमा हिँडडुल गर्नै गाह्रो । न कतै विश्राम गर्न सकिन्छ । न सुस्ताउन । अशक्त, दृष्टिविहिनहरुको लागि पनि उस्तै समस्या छ । यो महानगर यी कुनैपनि अवस्थाका व्यक्तिका लागि अनुकुल र सहज छैन ।

शहरमा कति बुढापाका होलान् । उनीहरु बुढ्यौलीमा आफ्ना जमनाका दौतरीसँग भेटघाट गरेर दिन कटाउन चाहन्छन् होला । किनभने घरमा उनीहरु एक्लै हुनसक्छन् । घरबाहिर गएर पुराना दौतरीसँग भेट्दा केही खुसी मिल्छ होला । तर, उनीहरुका लागि भलाकुसारी गर्ने ठाउँ छैन ।

कोही आफ्ना बालबच्चालाई खेलाउनका लागि घरबाहिर निस्कनु परेमा उनीहरुले बालमैत्री ठाउँ फेला पार्दैनन् । कुनै खुला र सहज ठाउँमा बालबालिकालाई खेलाउने ठाउँ छैन ।

न हिँडडुल गर्ने ठाउँ, न सुस्ताउने ठाउँ । महानगर एकदमै साँघुरो छ । असहज छ ।

पार्क छैन पार्क जस्तो

महानगरको मध्यभागमा एउटा पार्क छ, रत्नपार्क ।

काठमाडौंको अत्याधिक व्यस्त ठाउँमध्येको एक हो यो । यहाँ पुरानो बसपार्क छ, जहाँ काठमाडौं बाहिरका मान्छेहरु आउजाउ गरिरहन्छन् । क्याम्पस पढ्ने, कार्यलयमा जागिर खाने, पेशा व्यवसाय गर्ने सबै यही थुपि्रन्छन् । बाहिरी जिल्लाबाट आएकाहरु घुमफिर गर्न पनि यही पुग्छन् । यसरी विभिन्न सिलसिलामा जमघट हुने यो ठाउँमा रत्पार्क नै एक त्यस्तो पार्क हो, जहाँ केही छिन सुस्ताउन सकिन्छ ।

केही बर्षअघिसम्म भने यो कुनै माछा बजार जस्तै थियो । फुटपाथका पसलहरु त्यही हुन्थ्यो । पार्क अस्तव्यस्त मात्र होइन, फोहोर पनि थियो । अहिले भने रत्नपार्क केही हेर्नलायक छ । यद्यपी प्रवेश शुल्क लाग्ने भएकाले सबैका लागि यो त्यती अनुकुल छैन ।

त्यस्तै, भृकुटीमण्डपसँगै पनि अर्को पार्क छ, अम्याजिङ पार्क । एकातिर फन पार्क छ । अर्कोतिर प्रदर्शनी हल छ । यसको अघिल्तिर क्याम्पस र अस्पताल छन् । होटल तथा लज छन् । बालबालिकालाई खेलाउन वा कुनै प्रदर्शनी हेर्नका लागि पनि यस ठाउँमा मान्छेहरुको भिड लाग्छ । अतः यहाँ पुग्नेहरु अम्याजिङ पार्कमा सुस्ताउन सक्छन् ।

केशरमहलसँगै अर्को पार्क छ, स्वप्न बगैंचा । ठमेल बजार प्रवेश गर्ने मुखमा छ, यो पार्क । खासगरी विदेशी पर्यटकहरु यो पार्कमा सुस्ताउन आइपुग्छन् । केशर शमशेर जबराले बेलायतको एक बगैंचाबाट प्रभावित भएर यो बगैंचा निर्माण गरेका थिए । यो निकै व्यवस्थित र आर्कषक छ । यद्यपी स्वप्न बगैंचामा प्रवेशका लागि शुल्क तिर्नुपर्छ ।

शंखमुल पुलदेखी टेकु दोभानसम्म फैलिएको अर्को पार्क छ, युएन पार्क । एक हजार ५ सय ६७ रोपनीमा फैलिएको यो पार्क भने अस्तव्यस्त छ । पार्कभित्र कुनैपनि कुरा व्यवस्थित छैन । एकातिर बागमतीको दुर्गन्ध, अर्कोतिर पार्कभित्रकै फोहोरमैलाले यो पार्कलाई कुरुप बनाएको छ ।

बालाजु बाइपास नजिक अर्को पार्क छ, बाइसधारा पार्क । नयाँ बसपार्क नजिकको यो पार्क पनि धेरै जमघट हुने ठाउँमा छ । यहाँ २२ वटा ढुंगे धारा छ । त्यसैको नाममा पार्कको नामकरण गरिएको हो । पार्क हरियाली भएपनि त्यती फराकिलो भने छैन ।

चक्रपथसँगै जोडिएको धुम्बाराहीमा पनि शंख पार्क छ । यो पार्क २२ रोपनी क्षेत्रफलमा फैलिएको छ । वि.स. २०४३ सालमा पञ्चायत रजत जयन्ती पार्कको रुपमा निर्माण गरिएको हो । २०४६ सालपछि भने यो पार्कको नाम शंख पार्कमा रुपान्तरण गरिएको हो ।

यसैगरी स्वयम्भुमा शान्तिपार्क, न्युरोडमा भूगोल पार्क, सामाखुसीमा चिल्ड्रेन पार्क छ, नागपोखरीको नारायण चौर । अरु पनि सानातिना पार्कहरु छन् । यद्यपी यी महानगरको चाप र भौगोलिक फैलावट अनुसार यी पार्क पर्याप्त एवं पुग्दो छैन ।

साथसाथै यी सबै पार्कहरु पायक पर्ने ठाउँमा पनि छैन । पार्कभित्र हरियाली छैन । चौतारो, धारो, शौचालयको अभाव छ ।

भिडभाड, कोलाहाल र दुर्गन्ध

शहर अस्तव्यस्त र साँघुरो छ । मान्छेको भिडभाड छ । कोलाहाल छ । पेट्रोल/डिजेल र फोहोरको दुर्गन्ध छ ।

तपाईं निस्पिmक्री हिँड्न सक्नुहुन्न । हिँड्ने ठाउँ पनि त छैन । सडक किनार साँघुरो छ । त्यसमाथि त्यहाँ अनेकथरी पसल थापिएको हुन्छ । हिँड्नै कठिन । हिँड्दा-हिँड्दै पेट्रोल र डिजेलको गन्ध नाकमा ठोकिन्छ । फोहोर-मैलाको दुर्गन्ध ठोकिन्छ । अनुहारले धुलोले ढाकिन्छ ।

पैदल हिँड्नका लागि पनि सहज छैन । महानगरका फुटपाथ यस्ता छैनन्, जहाँ पैदल यात्रु सहज रुपमा आउजाउ गर्न सकोस् ।

पितापूर्खाबाट केही सिक्ने कि ?

हाम्रा पितापूर्खा भन्थे, चौतारो बनाउनुपर्छ । धारो बनाउनुपर्छ । पाटी पौवा बनाउनुपर्छ । पैदल हिँड्ने बटुवा, भरिया जो कोहीलाई सुस्ताउनका लागि सहज होस भन्र चौतारो बनाइन्थ्यो । पिपलको रुख रोप्ने र त्यसको छहारीमा चौतारी बनाउने प्रचलन पनि यसरी नै विकास भयो ।

यसैगरी ठाउँ ठाउँमा धारा बनाउनुपर्छ भने । बनाइदिए पनि । पाटी-पौवा बनाइदिए । यस्ता काम अक्सर व्यक्तिगत रुपमा गर्थे, त्यो पनि एकदमै निश्वार्थ भावले । उनीहरुले अरुको सहयोग नलिई, आफ्नै बलबुतोमा चौतारो, धारो, पाटीपौवा निर्माण गर्थे ।

तर, अहिलेका पुस्ताले यस्तो संस्कारलाई उपेक्षा गर्दै आए । अरुको सुविधा र सेवाको लागि समर्पित भावले कुनैपनि काम गर्न छाडियो ।

शहरी क्षेत्रमा त व्यक्तिगत रुपले यस्ता चौतारी, धारो, पाटीपौवा बनाउन सहज र अनुकुल हुँदैन । यद्यपी महानगरपालिकाले भने आफ्नो पहलमा ठाउँ-ठाउँमा पार्क, धारा बनाउन सक्छ । निर्माण गर्ने काम असहज भएपनि भएकालाई व्यवस्थि गर्न सकिन्छ । तर, महानगरले यसतर्फ खास ध्यान दिन नसक्दा काठमाडौं एक असजिलो र अप्ठ्यारो शहर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment