Comments Add Comment

होमवर्क गर्नैपर्छ र ?

विद्यालयबाट फर्केका छोराछोरीलाई सबैभन्दा बढी चटारो हुन्छ, होमवर्कको । विद्यालयको ड्रेस बदल्न नपाउँदै उनीहरु कपी र पुस्तक फिजाउन थाल्छन् । अघिल्तिर पस्किएको नास्ता समेत भुलेर पाठ घोक्न र प्रश्न हल गर्न थाल्छन् ।

गृहकार्य, जसलाई अहिलेका बालबालिकालाई होमवर्क भन्न सजिलो मान्छन्, त्यो उनीहरुको दैनिकीको एक हिस्सा हो । अढाई बर्षको उमेर अर्थात नर्सरीमा भर्ना भएदेखि नै उनीहरुले घरमा आएर गृहकार्य गर्नुपर्ने हुन्छ ।

गृहकार्यको पिरलो

बालबच्चा घर फर्किएपछि सबैभन्दा बढी घोत्लिनै नै गृहकार्यमा हो । यदि उनीहरुले सही ढंगले गृहकार्य गरेनन् भने उक्त विषयको कक्षामा बस्न असहज हुन्छ । शिक्षकको गाली खानुपर्ने हुनसक्छ । सजाय झेल्न सक्नुपर्छ । साथीभाईको अगाडि आफ्नो कमजोरी खुल्नेछन् ।

त्यही कारण उनीहरु गृहकार्यप्रति अत्यान्तै गंभिर एवं संवेदनशिल हुने गर्छन् । गृहकार्य गर्नुपर्छ भन्ने मानसिकताले उनीहरुलाई उन्मुक्त खेल्न र खान पनि दिदैन । यस्तो समस्या ‘पढाईमा कमजोर’ विद्यार्थीलाई अरु बढी हुन्छ ।

उनीहरु यसैपनि शिक्षक र साथीभाईका अगाडि निरिह हुन्छन् । कतिपय पाठ बुझेकै हुँदैनन् । शिक्षकले कक्षाकोठामा पढाएका कुरा मस्तिष्कले ग्रहण गरेको हुँदैन । जबकी घर फर्केपछि त्यही पाठ बुझेर गृहकार्य गर्नुपर्न हुन्छ । यस्तो अवस्थामा उनीहरुलाई होमवर्क गर्नु सजाय झेल्नु बराबर हुन्छ ।

यसको असर चाहि कहाँ पर्छ भने, उनीहरुलाई आफ्नो कक्षाकोठा, शिक्षक सम्झन मन लाग्दैन । विद्यालयप्रति वितृष्णा भाव जाग्न थाल्छ । गृहकार्यकै बोझले उनीहरु मानसिक भार बोक्न बाध्य हुन्छन् ।

खेल्न मन लाग्दालाग्दै, खान मन लाग्दालाग्दै, गफ गर्न मन लाग्दालाग्दै, टिभी हेर्न मन लाग्दालाग्दै पनि उनीहरु आफुलाई खुम्चाएर गृहकार्य गर्न बस्छन् । गृहकार्य गर्नैपर्छ भन्ने मानसिक दबावले उनीहरुलाई अरु कुरा गर्न छुट दिदैन ।

गृहकार्य राम्ररी गरेका छैनन् वा गर्न छुटाएका छन् भने बालबालिकालाई विद्यालय जान डर लाग्छ । त्यही डरको कारण बालबच्चा विद्यालय नजाने भएकाले कति अभिभावक आफैले होमवर्क गरिदिन्छन् ।

गृहकार्य एक कर्मकाण्ड

बालबालिकाले राम्ररी गृहकार्य गरेनन् भने शिक्षक/शिक्षिकाको गाली खानुपर्छ । सजाय झेल्नुपर्छ । उनीहरुलाई यस्तो लाग्छ, मानौ गृहकार्य नगर्नु वा छुटाउनु भनेको अपराध गरे सरह हो ।

यद्यपी हरेकजसो विद्यालयले गृहकार्यलाई अनिवार्य गराउँछ । जति धेरै गृहकार्य थमाइन्छ, उत्तिनै विद्यार्थीहरु बौद्धिक एवं तिक्ष्ण हुन्छन् भन्ने मान्यता हुन्छ । भएभरको गृहकार्य दिएपछि विद्यार्थीहरुले पाठ कष्ठस्थ गर्छन् । कक्षा कोठामा पढाएको पाठ र अभ्यास गराएको कुरालाई थप जानेर वा बुझेर आउँछन् । यही कारण हरेक शिक्षक/शिक्षिकाले विद्यार्थीलाई साँझ घर र्फकदा गृहकार्य पनि बोकाएर पठाउँछन् । विद्यार्थीहरु पिठ्युँमा ५-६ केजीको झोला र मस्तिष्कमा दर्जनौ गृहकार्यको चाप बोकेर घर र्फकन्छन् । घरमा पिठ्युँको झोलाले भन्दा मस्तिष्कको बोझले अरु बढी थकित बनाउँछ ।

शिक्षक/शिक्षिकाले विद्यार्थीको मनोदसा बुझेका हुँदैनन् । बुझ्ने फुर्सद पनि हुँदैन । उनीहरुलाई के मात्र थाहा हुन्छ भने, गृहकार्य दिएपछि विद्यार्थीहरु पढाईबाट दायाँबायाँ लाग्दैनन् । खेलेर वा टिभी हेरेर समय बर्वाद गदैनन् । निरन्तर पढिरहन्छन् । किनभने परीक्षामा उच्च अंक जो हासिल गर्नुछ ।

गृहकार्य गर्नैपर्छ ?

गृहकार्य गर्नैपर्छ ? संभवत हरेक कलिला विद्यार्थीको मनमा यो प्रश्न उठ्छ । तर, उनीहरुलाई यस्तो प्रश्न गर्ने ठाउँ दिइदैन ।

गृहकार्य किन गराइएको होला ? गृहकार्य गराउँदा के हुन्छ ? गृहकार्य कुन हिसाबले सार्थक हुनसक्छ ? गृहकार्य नगराउँदा के हुन्छ ?

यस सम्बन्धमा शिक्षक/शिक्षिकाहरु सायदै घोत्लिन्छन् । गृहकार्य आफैमा गलत भने होइन । गृहकार्य नगराउँदैमा राम्रो हुन्छ भन्ने पनि होइन । तर, गृहकार्यको महत्व र आवश्यक्तालाई नबुझी दिइने गृहकार्य विद्यार्थीको लागि बोझ हो । यसले उनीहरुको खाने र खेल्ने समय चोरिदिन्छ । बच्चाहरु बच्चा जस्तै हुन पाउँदैनन् । उनीहरु मानसिक बन्दी बन्न पुग्छन् ।

गृहकार्य गराउनुको पछाडि केही अर्थ हुन्छ ।

पहिलो, विद्यार्थीले कक्षाकोठामा पढेका पाठ घरमा गएर अभ्यास गरुन् ।

दोस्रो, दिनभर पढेको पाठ विद्यार्थीले कसरी बुझेका छन् भन्ने मूल्यांकनका लागि ।

तेस्रो, विद्यालयबाहिर पनि विद्यार्थी पढाईमा केन्द्रित होउन् ।

चौथो, फुर्सदको समय सदूपयोग होस् ।

मूलत यिनै ध्येय हुन्, गृहकार्य दिइने । जब कुनै विद्यार्थीले गृहकार्य गर्दैनन्, तब उनीमाथि औंला ठड्याइन्छ । किन ?

किनभने, उनले पाठ बुझेकै छैनन् ।

किनभने, उनले हेलचेक्रयाइ गरे ।

किनभने, उनले शिक्षकलाई टेरेनन् ।

किनभने, उनी पढाइप्रति गंभीर छैनन् ।

यस्तै सोचाइ राखेर गृहकार्य नगर्ने विद्यार्थीलाई ‘कमजोर’ वा ‘हेलचेक्राई गरेको’ दोष दिइन्छ । अतः गृहकार्यको नतिजा जे हुनुपर्ने सो हुँदैन । यसले विद्यार्थीको पढाईमा थप निखार ल्याउनुपर्ने थियो, तर यसले उनीहरुलाई मानसिक बोझ दियो ।

हाँस्ने-खेल्ने समय गृहकार्यमा

अहिले यसैपनि विद्यालयमा पठन-पाठनको समयावधी बढी छ । बिहान आँखा खुल्नसाथ बालबालिकाहरु पहिरन लगाउने, पुस्तक मिलाउने, नास्ता तयार गर्ने हतारोमा हुन्छन् । राम्ररी ज्यान तंगि्रन नपाउँदै उनीहरु विद्यालयको प्राङ्गण टेकिसकेका हुन्छन् । दिनभर विद्यालयकै कक्षा कोठामा बसेर पठनपाठन गर्छन् । घर र्फकदा साँझ ५ वा ६ बज्छ । अर्थात बिहान आँखा खुल्नसाथ घर र आमाबुवा छाडेका विद्यार्थी साँझमा मात्र घरभित्र प्रवेश गर्न पाउँछन् । अझ कतिपय बच्चालाई ट्युसन, कोचिङ क्लासमा राख्ने गरिन्छ । अर्थात बिहान उठेदेखि राती सुत्ने समयसम्म उनीहरु पढेको पढ्यै हुन्छन् ।

त्यसपछि पनि उनीहरुलाई किताब र कपीले छाड्दैन, गृहकार्य जो गर्नैर्पर्छ ।

जबकी बालबच्चालाई खेल्ने र रमाउने समय पनि चाहिन्छ । बच्चाले पाठ वा किताब हेरेर मात्र सबै कुरा सिक्दैनन् । घरमा खेलेर धेरै कुरा सिक्छन् । मनोरञ्जन गरेर धेरै कुरा सिक्छन् । घरको वातावरण, चालचलनबाट पनि धेरै कुरा सिक्छन् । तर, होमवर्क वा पढाईको अतिरिक्त चापले उनीहरु घरभित्रै पनि आमाबुवा, परिवारबाट विच्छेद हुनुपर्छ ।

यसर्थ अहिलेका बालबालिकालाई गृहकार्य कति आवश्यक छ ? गृहकार्यले कति सार्थक नतिजा दिइरहेको छ ? अभिभावक र शिक्षिक/शिक्षिकाले बुझ्नैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment