Comments Add Comment

हुलाक कर्मचारीहरुको प्रश्न : ६ हजार रुपैयाँमा के-के गर्ने ?

१७ वैशाख, डोटी ।

‘कर्मचारी भनौं भने सेवा सुबिधा छैन, चिठ्ठी पत्र हराएमा सरकार छोड्या हैन ।
पहिलो सञ्चार हुलाक नै हो अहिले छैन वास्ता, सरकारले दिएको तलव, आउँदा जाँदा सक्दा ।
आश बोक्दाबोक्दै कर्मचारी कोही गए चिहान, ६ हजारले खाना पुग्दैन साँझ र विहान ।’

अछाम, चौरपाटी गाउँपालिकाको मार्कुमा रहेको अतिरिक्त हुलाक कार्यालयमा कार्यरत सुशीला बोगटीले डेउडाको भाकामा माथिको हरफ गाइन ।

महिनाभरी काम गर्‍यो, ६ हजार रुपैयाँ हात लाग्ने र त्यो ६ हजारले साँझ विहान खान नपुग्ने उनको गुनासो थियो । अतिरिक्त हुलाक कर्मचारी एसोसिएसनकी जिल्ला अध्यक्षसमेत रहेकी बोगटीले तलव बढ्ला, अन्य सेवा सुविधा पनि पाइएला भन्ने आशैआशमा काम गर्दै अतिरिक्त हुलाकका कयौं कर्मचारीहरुको मृत्यु भइसकेको कुरा गितमार्फत उठाइन् ।

२०५७ सालमा मासिक नौ सय रुपैयाँबाट आफूले जागिर सुरु गरेको वताउने बोगटी २० वर्षसम्म पनि आफु कुन श्रेणीको कर्मचारी हुँ भन्ने जानकारी नभएको बताउँछिन् ।

कैलालीमा पत्र बितरक पदमा कार्यरत लोकराज भट्टले आफ्नो पीडा कविता मार्फत पोखे । एकातिर नौकरी गरेको देखिने अर्कोतिर सामान्य खर्चका लागि पनि अरुसँग हात पसार्नु पर्ने अवस्था रहेको उनको कविताको भाव थियो । ‘हामीले ६ हजार रुपैयाँले के के गर्ने हो ?’ भट्ट भन्छन् ‘देशमा यत्रो राजनीतिक परिवर्तन हुँदा पनि हामी २०३४ सालको नियमावलीमा बाँधिएका छौं ।’

यस्तै पीडा पोख्छन् डोटी के आई सिंह गाउँपालिका-२ का महेन्द्र उपाध्याय । एसोसियसनको डोटी अध्यक्ष समेत रहेका उनी भन्छन् ‘सञ्चारका आधुनिक साधनहरुले हामी हुलाकका कर्मचारीहरुको आवश्यकता छैन भन्ने सोचेको छ सरकारले ।’ आवश्यकता नभए हामीलाई काम गरेको अवधीको सम्पूर्ण सेवा सुविधा दिएर विदा गर्नु पर्ने उपाध्याय वताउँछन् ।

अतिरिक्त हुलाक कर्मचारी एसोसियनको सुदूरपश्चिम प्रादेशिक भेलामा सहभागी भएका अतिरिक्त हुलाकका कर्मचारीहरुले सरकारले आफूहरुको श्रम शोषण गरेको बताए ।

डोटी दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले उद्घाटन गरेको उक्त भेलामा संगठनका केन्द्रीय सदस्य रामवहादुर बिष्टले बजेट भाषणबाट अरु कर्मचारीहरुको तलव बढ्ने तर हामीले आफ्नो तलब बढाउनका लागि आन्दोलन गर्नु पर्ने अवस्था रहेको बताए । उनले भने, ‘सरकारले हामीलाई कर्मचारी नै ठानेको छैन ।’

कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष टंकप्रसाद हुमागाईले अतिरिक्त हुलाकका कर्मचारीहरुले आफ्नो पहिचान र सेवा सुविधाका लागि संगसंगै लड्नु पर्ने अवस्था रहेको वताए । ‘मन्त्री-सांसदहरुले पनि हुलाक भन्ने बित्तिकै इलाका हुलाक मात्रै सम्झने रहेछन,’ हुमागाईले भने, ‘पहिले त हामीले हाम्रो पहिचान दिनु जरुरी छ, त्यसपछि हामीले पाइरहेको सेवा सुविधाको बारेमा पनि जानकारी गराउनु पर्ने छ ।’

उनले आफूहरुलाई सरकारले राम्रो व्यवहार पनि नगर्ने गरेको वताए । ‘मर्यादाका हिसावले, सेवा सुविधाका हिसावले हामीलाई कार्यालय सहयोगीको भन्दा पनि तल्लो व्यवहार गर्ने गरिएको छ’ हुमागाई प्रश्न गरे ‘के सरकारले हाम्रो श्रम शोषण मात्रै गर्ने हो ?’

उनले हाल देशभरीमा अतिरिक्त हुलाक अन्तरगत ३०७४ कार्यालय र १० हजार आठ सय ५३ कर्मचारी रहेको जानकारी दिए । सुदूरपश्चिम प्रदेशभित्र करिब दुई सय अतिरिक्त हुलाक कार्यालय र एक हजार कर्मचारी कार्यरत रहेको हुमागाईको भनाइ छ ।

सरकारले हुलाक सेवा प्राधिकरण गठन गर्ने तयारी गरिरहेको बताउँदै हुमागाईले लामो समयसम्म अतिरिक्त हुलाकमा काम गरेका कर्मचारीहरुलाई उचित सुविधा दिनु पर्ने बताए ।

उनले यदि आफूहरुको ट्रेड युनियन अधिकार कुण्ठित गर्ने काम भयो भने देशव्यापी आन्दोलन गर्न बाध्य हुने समेत जानकारी दिए ।

भेलाका प्रमुख अतिथि नगर प्रमुख मलासीले कर्मचारीहरुले पाउनु पर्ने सेवा सुविधाका लागि आवाज उठाउनु जायज भएको बताइन । ‘तपाईहरुका जायज मागहरु सरकारले पुरा गर्नु पर्छ भन्ने मेरो पनि मान्यता रहेको छ,’ मलासीले भनिन्, ‘काम गराउने तर सेवा सुविधा नदिने भन्ने हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment