
२७ वैशाख, काठमाडौं । बुधबार संसदको अर्थसमिति बैठक चलिरहेका बेला अर्थमन्त्री युवराज खतिवडाले पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई जीडीपी त थाहा होला नि ? भनेर प्रश्न गरे । जीडीपी अर्थात कुल ग्राहस्थ उत्पादन पूर्वअर्थमन्त्री कार्कीलाई थाहा नै नहुने कुरै भएन ।
सरकारले पछिल्लो केही वर्षदेखि आर्थिक वृद्धिदरको विषयलाई राम्रैसँग उठान गर्ने गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले उच्च अंकको आर्थिक वृद्धिदरको नारा घन्काउन थालेको छ ।
राष्ट्रिय योजना आयोग यतिबेला दीर्घकालीन सोच सहितको १५ औं पञ्चवर्षीया योजनालाई अन्तिम रुप दिने गर्ने चरणमा छ । आयोगले तयार पारेको १५ औँ पञ्चवर्षीय योजनामा १०.१ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य निर्धारण गरेको छ ।
दीर्घकालीन (२५ वर्षे) सोचसहित तयार गरेको १५औँ योजनाको मस्यौदामा आयोगले दुई अंकको आर्थिक वृद्धि हासिल गर्ने उल्लेख गरेको छ । आयोगको लक्ष्यलाई अर्थशास्त्रीहरुले महत्वाकांक्षा बढी भएको विश्लेषण गरिसकेका छन् ।
के छ जीडीपीको अवस्था ?
चालु आर्थिक वर्ष ०७५/७६ मा मुलुकको आर्थिक वृद्धिदर (ग्रोथ रेट) ६.८१ प्रतिशतले बढ्ने केन्द्रीय तथ्यांक विभागले अनुमान गरेको छ । गत आर्थिक वर्षमा यस्तो वृद्धिदर ६.२९ प्रतिशतले बढेको थियो ।
आर्थिक वर्ष २०७४/७५ मा ३० खर्ब ७ अर्ब रुपैयाँ रहेको अर्थतन्त्र (जीडीपी) को आकार यस वर्ष ६.८१ प्रतिशतले बढ्दा नेपालको अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब पुग्नेछ ।
पछिल्ला केहि वर्षदेखि निरन्तर जीडीपीको आकार बढ्दै आएको छ । यस अघिका वर्षहरु २०७३/७४ ७.९१ प्रतिशत भएको थियो । यसैगरी २०७४÷७५ मा आइपुग्दा ६.२९ प्रतिशतले बढेकोमा चालु आर्थिक वर्षमा ६.८१ पुग्ने अनुमान गरिएको छ ।
आगामी आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा पनि मुलुकको आर्थिक वृद्धिदर ६ प्रतिशत भन्दा माथि हुने अनुमान अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले गरेको छ । विगतका केही वर्षहरुको आर्थिक वृद्धिदर चार्टमा प्रस्तुत गरिएको छ ।
जीडीपीको मापन
मुलुकको कुल आन्तरिक उत्पादन नै जीडीपी अर्थात कुल ग्राहस्थ उत्पादन हो । मुलुकमा उत्पादन हुने वस्तुहरुको उत्पादन भने जीडीपीको आकार बढ्ने र उत्पादन घटे जीडीपीको आकार घट्ने हुन्छ ।
नेपाल कृषि प्रधान देश हो । हुन त आयातमूखी अर्थतन्त्र मुलुकमा छ । धेरैजसो नेपालीले खाद्यान्न विदेशी मुलुकबाट किनेरै खानुपर्ने बाध्यता छ । जीडीपीमा बाहिरबाट आएको विषय जोडिँदैन । जति आफ्नो देशमा उत्पादन हुन्छ, त्यो नै जीडीपी हो ।
कृषिजन्य उत्पादन, गैर कृषि जन्य उत्पादनहरुले नै हाम्रो जीडीपी नापिन्छ । जीडीपी भनेको राष्ट्रको आर्थिक उत्पादनको मापन भनेर बुझ्छौं, जसले त्यो गणनालाई एउटै मौद्रिक मूल्यका रूपमा प्रस्तुत गर्छ ।
यति भनेपछि पछि, मुलुकको आन्तरिक उत्पादनमा के के परे त ? जीडीपी बढाउने वा घटाउने तत्व केके हुन् त भन्ने प्रश्न उब्जिन्छ ।
जीडीपीमा योगदान दिने धेरै तत्वहरु छन् । जसमध्येको प्रमुख भनेको धान हो । हाम्रो अर्थतन्त्रमा धानको योगदान महत्वपूर्ण मानिन्छ । यही कारणले पनि नेपालको अर्थतन्त्र आकासे पानीको भरमा छ भन्ने चलन छ । पानी राम्ररी पर्दा धानको उत्पादन वृद्धि हुने र त्यसको प्रधाव जीडीपीमा देखिने हुन्छ । गत आर्थिक वर्षमा कृषि मध्येमा धानको योगदान २०.७५ प्रतिशत रहेको थियो ।
यसैगरी तरकारी, मकै, दलहन, मत्स्यपालन, खानी तथा उत्खनन, उद्योग, विद्युत्, ग्यास तथा पानी, थोक तथा खुद्रा व्यापार, होटल तथा रेष्टुरेन्ट, यातायात, सञ्चार तथा भण्डारण, शिक्षा, स्वास्थ्य लगायतको योगदान मुलुकको जीडीपीमा देखिन्छ ।
प्रतिक्रिया 4