+
+

प्रहरी हेडक्वार्टरमा अनौठो ‘मोटरसाइकल’ (भिडियोसहित)

‘मोटरसाइकल’ बाट प्रहरी हवल्दारलाई रोबोटमा अवसर

गौरव पोखरेल गौरव पोखरेल
२०७६ जेठ १० गते १८:४९

१० जेठ, काठमाडौं । नेपाल प्रहरीको सञ्चार निर्देशनालय प्रमुख डा. राजीव सुब्बा एकदिन प्रधान कार्यालय प्रवेश गर्दैगर्दा हवल्दार पूर्णबहादुर आले सवार वाहन देखेर रोकिए ।

आले साइकल जस्तो देखिने सवारी साधनमा थिए तर, पाइडल चलाइरहेका थिएनन् । सञ्चार र सूचना विज्ञानमा विद्यावारिधि प्रहरी नायब महानिरीक्षक सुब्बाले सोधखोज गर्दा त्यो हवल्दार आले आफैंले बनाएको ‘मोटरसाइकल’ रहेछ ।

प्रहरी प्रधान कार्यालयको विद्युत् शाखामा कार्यरत् आले अण्डर एसएलसी हुन् । तर, लगाव, निरन्तरको मेहनत र न्यूनतम स्रोतको प्रयोगबाट मोटरसाइकल बनाएका रहेछन् । त्यस दिनबाट डीआईजी सुब्बा आफू मातहत अधिकृतहरुलाई भन्ने गर्छन्, ‘तपाईंहरुले जागिर खानु भयो, उसले काम देखायो ।’

परिवारका पाँचै भाइ प्रहरीमा

तनहुँको भानु नगरपालिका, चिसापानीका आलेलाई बुबाको अनुहार याद छैन । सानैमा बाबुविहीन बनेका उनले १८ वर्षको छँदा आमा पनि गुमाए । घरमा दुःख थियो । जसोतसो सावा अक्षर चिन्नेसम्म भएपछि उनी नेपाल प्रहरीमा भर्ना भए ।

दाजुहरु प्रहरीमा भएकाले आफू पनि त्यतै लागेको उनी बताउँछन् । दाजुहरु वैदेशिक रोजगारीमा जाउँ भन्थे तर, उनलाई नेपालमै बस्न मन लाग्थ्यो । ‘अनि २०६१ सालमा प्रहरी तालिम केन्द्र, भरतपुरमा प्रहरी जवान पदका लागि आवेदन दिएर भर्ना भएँ’, हवल्दार आले भन्छन्, ‘त्यसपछि त परिवारका पाँचै दाजुभाइ प्रहरी भइयो ।’

मजदुरीबाट गुजरा चलाउँदा उनले सानै उमेरमा विद्युतीय उपकरण मर्मत तालिम लिएका थिए । गाउँमा उनले धाराबाट विजुली बत्ती बालेका थिए । ‘एक दिन हिँडेर डुंग्रे बजारबाट २५ रुपैयाँको डाइनामो लगेर बत्ति बालेको थिएँ’, आले सम्झन्छन्, ‘त्यो बेला सिकेको सिपले जागिरमा पनि सजिलो भयो ।’

संस्थागत अवसरबाट उत्साह

घरको आर्थिक समस्याका कारण पूर्णबहादुर आलेले औपचारिक शिक्षा नपाए पनि उनी विद्युतीय उपकरणप्रतिको रुचीमा निरन्तर घोत्लिरहे । त्यही रुचीको परिणाम हो, १२ भोल्टको चारवटा ब्याट्रीबाट चल्ने मोटरसाइकल ।

एक दशकभन्दा लामो प्रयासबाट उनले गुडाएको मोटरसाइकलमा चार्ज सकिँदा प्रयोग गर्न पाइडल पनि राखेका छन् । पाइडल चलाउँदा मोटरसाइकल गुड्नुको साथै ब्याट्री रिचार्ज पनि हुन्छ । हवल्दार आले कपनको कोठाबाट नक्सालस्थित कार्यालय आउजाउ यही मोटरसाइकलमा गर्छन् । यो मोटरसाइकल बनाउन कुल एकलाख २० हजार खर्च भएको उनले बताए ।

यो ‘आविष्कार’का लागि गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालबाट प्रोत्साहन पुरस्कार पनि पाएको हवल्दार आलेले सुनाए । उनी भन्छन्, ‘पहिला मोटरसाइल बनाउने टाक्टाक् टुक्टुक्बाट दिक्क मानेकी श्रीमती पनि अहिले खुशी छन् ।’

नेपाल प्रहरीको सञ्चार निर्देशनालयले रोबोट बनाउने योजनामा हवल्दार आलेलाई पनि सामेल गराउन लागेको छ । निर्देशनालय प्रमुख डा. सुब्बाका अनुसार, प्रहरीले आगलागी नियन्त्रण, खोजी तथा उद्वार अभियान र बम निश्क्रिय पार्ने लगायतका काममा प्रयोग हुने रोबोट बनाउन लागेको छ ।

एउटा इञ्जिनियरिङ कलेजसँगको सहकार्यमा अगाडि बढ्ने त्यो परियोजनामा हवल्दार आलेलाई पनि संलग्न गराइने उनले बताए । त्यसरी संस्थागत रुपमा काम गर्न पाउन लागेकोमा आफू निकै खुशी रहेको बताउँदै आले भन्छन्, ‘त्यो मेरो लागि ठुलो अवसर हुनेछ ।’

तस्वीरः चन्द्र आले मगर/अनलाइनखबर

हेर्नुस् भिडियो 

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?