Comments Add Comment

कलंकी-महाराजगञ्ज सडक ८ लेनको बनाउन १ अर्ब ८१ करोड

१५जेठ, काठमाडौं । सरकारले कलंकी-बालाजु-महाराजगञ्ज सडक खण्ड विस्तारको लागि बजेट विनियोजन गरेको छ । यो आयोजनाका लागि आगामी वर्षको बजेटमार्फत १ अर्ब ८१ करोड बजेट छुट्याइएको छ ।

सरकार अहिले यो खण्डको चीन सरकारबाट प्राप्त हुने डिजाइन कुरिरहेको छ । सडक विभागले सडकसीमा क्षेत्रभित्रका संरचनाहरु हटाउन यसअघि नै सूचना निकाले पनि अझै निर्माण सुरु गर्न चीनले डिजाइन दिएको छैन ।

अहिले विस्तार भइरहेको कलकी-कोटेश्वर खण्डमा चीन सरकारले दिएको डिजाइन नै स्वीकृत गर्दा बनाइ नसकिँदै सुधारका लागि भत्काउनुपर्ने अवस्था आएको छ । अब चक्रपथको बाँकी खण्डको डिजाइन भने कलंकी-कोटेश्वरको भन्दा वैज्ञानिक हुने विभागको भनाइ छ । बाँकी १७ किमि सडकमा मेडियन अर्थात् दुई सडकको बीचमा लेन छुट्याउने भाग राखिनेछ ।

चक्रपथ सडक विस्तार आयोजनाले एक वर्षअघि नै कलंकी-महाराजगञ्ज सडक सीमामा पर्ने सबै संरचना हटाउन भन्दै सूचना जारी गरेको थियो । सूचनामा सडक क्षेत्र मिचेर बनाइएका संरचना भत्काउन अटेर गरे सार्वजनिक सडक ऐनअनसार आफैंले हटाउने र त्यसबापत लागेको खर्च असुल्ने चेतावनी दिइसकेको छ ।

कुल २७ दशमलव दुई किलोमिटरमध्ये कलंकी-महाराजगञ्ज खण्ड ८.२ किमि लम्बाइको छ । चीनले केही वर्षअघि नै रिंगरोडलाई तीन चरणमा विस्तार गर्ने प्रतिवद्धता जनाइसकेको थियो ।

कलंकी-महाराजगञ्ज खण्ड विस्तारको लागत पनि निक्र्योल भइसकेको छैन । अब केही समयभित्रै विद्युत् र टेलिफोनका पोलहरु हटाउन शुरु गरिने भएको छ ।

चक्रपथकै बाँकी महाराजगञ्ज-कोटेश्वर सडक विस्तारमा पनि चीनको चासो छ, जुन करिब नौ किमि लम्बाइको छ । पूरै चक्रपथ विस्तारमा सहयोग गर्न चीन यसअघि नै सहमत भइसकेको छ ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीको चैत ०७२मा भएको चीन भ्रमणका बेला चक्रपथका सबै खण्ड विस्तार सम्बन्धी सहमति भएको थियो ।

चार लेनको चक्रपथ चीनकै अनुदानमा ०२७ सालमा निर्माण भएको थियो, जसलाई आठ लेनमा स्तरोन्नती गर्न पनि उत्तरी छिमेकीले चासो लिँदै आएको छ ।

कलंकीबाट महाराजगञ्ज हुँदै कोटेश्वरसम्मको १७ किमि सडक विस्तारको सम्भाव्यता अध्ययन पनि चिनियाँ प्राविधिकले नै गरिसकेका छन् । पूरै चक्रपथलाई आठ लेनको बनाउन १३ अर्ब रुपैयाँ लाग्ने विभागको प्रारम्भिक अनुमान छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment