Comments Add Comment

कर्मयोगी बन्ने कि भ्रष्ट ? 

हाम्रो समाजमा अहिले दुइथरी मान्छे छन् । एकथरी छन्, जो कर्ममा विश्वास गर्छन् । कर्ममा लीन हुन्छन् । कर्ममा रमाउँछन् ।

अर्काथरी छन्, जो कामचोर छन् । उनीहरु मेहनत, श्रमबाट होइन चाकडी गरेर आफ्नो दुनो सोझ्याउँने यत्नमा हुन्छन् । उनीहरुलाई पसिना र पौरखमा विश्वास हुँदैन । बरु भ्रष्टचारमा लिप्त छन्  । भ्रष्टचार गरेरै धन-दौलत जोड्छन् ।

कर्मयोगी, जो कर्मबाटै जीवनको सार्थकता खोज्छन् । उनीहरु समूचित काम, सही समयमा, सही ढंगले गर्छन् । गरिरहन्छन् । काम उनीहरुका लागि बोझ वा समय कटाउने मेलो बन्दैन । बरु, आफ्नो जीवनकै लय एवं धुन बन्छ । त्यसैले कर्म गरेर उनीहरु आफ्नो जीवनलाई माधुर्य बनाउँछन् । सुगन्धित बनाउँछन् ।

योगः कर्मसु कौशलम्

पूर्विय दर्शन शास्त्रले कर्मलाई सर्वोच्व मानेको छ । श्रीमद्भागवत गीताले कर्मको मर्म एवं महत्वलाई दर्शाएको छ । भनिन्छ, शरीर र मनको रचना नै यसरी भएको छ कि, जसलाई निरन्तर काममा जुटिरहनुपर्छ । नियमपूर्वक गरिएको सार्थक कर्मले जहिले पनि सकारात्मक नतिजा नै दिन्छ ।

जीवनमा पूर्णता प्राप्तिका लागि हाम्रा पूर्वजले तीन मार्ग बताएका छन्, ज्ञानयोग, भक्तियोग र कर्मयोग ।

ज्ञानयोगले उच्च बौद्धिक चेतना सम्पन्न, सूक्ष्मदर्शी, चिन्तन प्रधान भाव आर्जन गर्ने प्रेरणा दिन्छ । भक्तियोगले हृदयको शुद्धि, आत्मसमर्पणको उत्कट भावना, अनन्य प्रेमको आवश्यक्ता बताउँछ । कर्मयोगको समावेश यी दुबैका साथ अनिवार्य मानिएको छ । गृहस्थ र कर्मठ व्यक्तिका लागि कर्मयोग अधिक उपयुक्त मानिएको छ ।

अहिलेको संघर्षमय युगमा कर्मयोगलाई ‘युगधर्म’ मानिएको छ । कर्मयोगले मान्छेको आन्तरिक एवं वाह्य जीवन परिष्कार हुन्छ । कर्मयोगमा प्रवृत्त हुँदा मानिस र समाजको निकट सम्पर्क स्थापित हुन्छ ।

विदुर नीतिमा उल्लेख छ, जो राम्रो कर्म गर्छ र खराब कर्मबाट टाढा रहन्छ, साथै जो श्रद्धालु पनि छ, उनको यो सद्गुण पण्डित हुनेको लक्षण हो ।

यहाँ पण्डित भनेको हामीले अहिले बुझ्दै आएको ‘पण्डित’ भने होइन, जो कर्मकाण्डी छन् । खासमा ‘पण्डित’ उनैलाई भनिन्छ, जो आफ्नो ज्ञान, बुद्धि, विवेक, संयम, बिनम्रता, सद्भाव जस्ता गुणले भरिपूर्ण हुन्छन् ।

कुनैपनि काम गर्दा त्यसमा तन, मन दिनुपर्छ भनिन्छ । समर्पित भावले काम गर्नुपर्छ । लगाव र विवेकको सन्तुलत हुनुपर्छ । यस किसिमको काम सार्थक हुन्छ ।

कर्मबाट भाग्नेहरु 

आज हामी भने कर्मबाट भाग्दैछौ । कर्मलाई हामीले दुःख बुझ्यौ । कर्ममा भन्दा भाग्यमा आशक्ति राख्न थाल्यौ । विश्वास गर्न थाल्यौ । काम नगरी सुख खोज्ने प्रवृत्ति पाल्न थाल्यौ ।

कर्म नै समस्त समस्याको हल हो । कर्म नै समस्त दुःखको अन्त्य हो । तर, कर्म नगरी सुख खोजिरहेका छौ । कर्म नगरी समस्याको हल खोज्दैछौ । यसले हामीलाई थप दुःखमा डुबाउँदैछ ।

आज हाम्रो समाजमा भ्रष्टचारी बढेका छन् । चोर र चण्डाल बढेका छन् । धूर्त बढेका छन् । यी सबै कर्मबाट विमुख हुनुको नतिजा हो । कर्मप्रति विश्वास नगर्नुको नतिजा हो । कर्म नगरी सुख-सयल खोज्नुको नतिजा हो ।

भ्रष्टचार गरेर रातारात धन-दौलतको थुप्रो लगाउने, पुस्तौ पुस्ताको भविष्य सुरक्षित गर्ने दुषित मनोकांक्षामा मान्छेहरु लिप्त भएका छन् । तर, यसरी आर्जन गरेका धन दौलतले सुख, चैन र शान्तिभन्दा बढी भय, त्रास, लोभ पैदा गर्छ ।

बेचैन र भयभित भ्रष्ट

जब हामीमा भ्रष्ट मनोवृत्ति पलाउँछ, जब हामी भ्रष्टचारमै लिप्त हुन थाल्छौ, हाम्रो जीवनको असली रंग उड्छ । हाम्रो जीवनको असली सुगन्ध हराउँछ । हाम्रो जीवनको असली धुन बज्न छाड्छ । हामी जीवनहिन जीवन बाँच्न पुग्छौ । यस्तो जीवन जहाँ, असली जीवनको कुनै अवयव हुँदैन । खोक्रो हुन्छ । देखावटी हुन्छ ।

आज हाम्रा नेता, मन्त्री, कर्मचारीहरु भ्रष्ट छन् । घुसखोर छन् । उनीहरु आफ्नो कर्मबाट पन्छिएर भ्रष्ट भएका छन् । अथाह धन-दौलत जोडेका छन् । करोडौंको घरमा बस्छन्, करोडौको गाडीमा सयर गर्छन्, लाखौंको पलङमा सुत्छन् तर, यावत् सुविधा भोग गरिरहँदा पनि उनीहरु आनन्दित छैनन् । किन ?

किनभने उनीहरु आफैप्रति सशंकित छन् । भयभित छन् । ग्लानीले खुम्चिएका छन् ।

कर्मयोगीको आभा

तर, जो कर्मको बलले उभिएका छन् । जसले कर्मको ताकतले आफुलाई उठाएका छन् । उनीहरुको जीवनमा बेग्लै आभा छ । बेग्लै चमक छ । बेग्लै सौन्दर्य छ । बेग्लै सुगन्ध छ । हाम्रै समाजमा कर्मयोगीहरु निर्धक्क, निर्भय जीवन बाँचिरहेका छन् । उनीहरु आफ्नो कर्ममा भरोसा राख्छन् । कर्मलाई पूजा गर्छन् । कर्ममा रमाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment