Comments Add Comment

अस्ताए स्वच्छ व्यवसायको ‘पायोनियर’

१७ जेठ, काठमाडौं । उद्योगी व्यवसायीहरु कारोबार लकाउँछन्,  कर छल्छन् र सकेसम्म राज्यलाई ढाँट्छन् भन्ने आम मान्यता बनेको छ । कतिपय घटना र परिवेशहरुले त्यसमा बल थप्छन् । तर, सबै व्यवसायी एकैखालका हुन्नन् भन्ने बलियो सन्देश दिने व्यवसायी थिए, प्रभाकर राणा । उद्योग व्यवसायको क्षेत्रमा स्वच्छ व्यवसायको ‘पायोनियर’ मानिएका उनको बिहीबार निधन भएको छ ।

प्रभाकर राज्यलाई तिर्नुपर्ने कर छल्नुहुन्न भन्ने मान्यता राख्थे । उनको त्यही सोच, शैली र संस्कारलाई शीरोधार्य गरेर अघि बढेका कारण छोरा सिद्धार्थ प्रत्येक वर्ष जसो नेपालमा सर्वाधिक कर तिर्ने व्यक्तिका रुपमा सरकारबाटै सम्मानित हुँदै आएका छन् ।

उनको कम्पनी सूर्य नेपाल सार्वधिक आय कर तिर्ने कम्पनीका रुपमा पटक-पटक सम्मानित भएको छ । उनले थालेको सिप्रदी पनि सार्वधिक कर तिर्ने कम्पनीको सूचीमा अग्रस्थानमा पर्छ ।

प्रभाकरले आफ्नो जीवनकालमा स्थापना र सञ्चालन गरेका कम्पनीलाई सकेसम्म कर विवादबाट टाढा राखे । कम्पनीका कारोबारलाई पारदर्शी बनाउँदै स्वच्छ छवीका साथ व्यवसायमा होमिन उनले अरु व्यवसायीलाई पनि प्रेरित गरे ।

‘म सिप्रदीमा आउनु अघि भारतमा काम गरेँ तर, त्यहाँ कसरी कर छल्ने भनेर सिकाइन्थ्यो । १९९२मा नेपाल आएपछि मैले उहाँबाटै थाहा पाएँ कि राज्यलाई नछलेर पनि इज्जत र पैसा कमाउन सकिन्छ,’ सिप्रदी ट्रेडिङका निर्देशक शम्भु दाहाल भन्छन्,’उहाँले सँधै ‘गुड गभर्नेन्स’ भन्नुभयो । नैतिक भएर काम गर्न प्रेरित गर्नुभयो ।’

प्रभाकारले आफ्ना भेनाजु समेत रहेका तत्कालीन अधिराजकुमार हिमालय विक्रम शाहका साथ सोल्टी होटलमा लगानी गरेका थिए । विसं २०२३ मा खुलेको सोल्टीमा प्रभाकरको प्रवेशले नयाँ मोड दिएको थियो । उनले अन्तर्राष्ट्रिय चेन ब्रान्ड ओबेराइलाई सोल्टीको व्यवस्थापन हेर्ने गरी भित्र्याए ।

प्रभाकरले सोल्टी होटललाई नेपालको सबैभन्दा प्रतिष्ठित होटलमा रुपमा स्थापित गरे । प्रिमियम स्तरको सुविधाका कारण नेपाल आउने हाई प्रोफाइल व्यक्ति र पर्यटकका लागि सोल्टी उत्कृष्ट विकल्प बन्यो । दक्षिण एसियमा नै सोल्टी चिनियो ।

अरु पाँचतारे होटल थपिए तर, सोल्टीले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । यसको प्रमुख श्रेय राणालाई जान्छ ।

दुई वर्षअघि आफ्नो स्थापनाको स्वर्ण वर्ष मनाएको सोल्टीलाई यो मोडसम्म ल्याउन राणाले निकै मिहिनेत गरेका थिए । हाल सोल्टी होटलको चेन नेपालगञ्जमा पनि खुलेको छ । काठमाडौंको रवी भवनमा नयाँ पाँच तारे होटल खुल्दैछ भने उनकै समूहले बर्दियामा लक्जरी रिसोर्ट सञ्चालन गर्ने तयारी गर्दैछ ।

यसैकारण पनि पर्यटन क्षेत्रको विकासमा प्रभाकरको भूमिका रहृयो । उनकै पहलमा होटल संघ नेपाल जन्मिएको थियो । उनी संघको संस्थापक अध्यक्ष पनि हुन् । उनकै नेतृत्वमा होटल व्यवसायीले  एकीकृत रूपमा पर्यटन क्षेत्रमा प्रवर्द्धनको प्रयास सुरु गरेका थिए । पर्यटन क्षेत्रमा विभिन्न नीतिगत तथा पूर्वाधार सुधारको काम भएका थिए ।

उच्च नैतिक आर्दश भएकालाई व्यवसायमा टिक्न गाह्रो हुन्छ भन्ने मान्यता राख्नेहरुका लागि उनी फरक पात्र थिए । उनी खुला किताव जस्तै भएको टिप्पणी गर्छन् व्यवसायीहरु ।

उनी नेपालको पहिलो पुस्ताका व्यवसायी मात्रै थिएनन्, नयाँ पुस्तालाई केही नयाँ गर्न हौसाउने र सधैं सकारात्मक सोच राखेर अघि बढ्न हौसला दिने असल प्रेरक पनि थिए ।

राणाले नेपालको यातायातको क्षेत्रमा पनि ठूलो योगदान गरेका छन् । विशेष गरी सिप्रदी ट्रेडिङ कम्पनीमार्फत उनले टाटाको गाडी नेपाल ल्याए । उनले गाडी नेपाल ल्याएर विक्रीमा मात्रै ध्यान दिएनन्, यातयात व्यवसायमा आउन चाहने धेरै व्यवसायीलाई आफैंसँग डोहोर्‍याए ।

उनको कम्पनी सिप्रदीमार्फत देशभर हजारौं यातायात व्यवसायीले स्वरोजगार बन्ने अवसर पाए । विशेष गरी वित्तीय अवस्था कमजोर रहेका व्यवसायीलाई पनि सिप्रदीमार्फत सहज वातावरण बनाएर गाडी किन्न हौसाए । त्यसकै बलमा टाटा नेपालको एक नम्बरको अटो कम्पनीका रुपमा स्थापित छ ।

उनकै सोच र मार्गदर्शनमा अघि बढेको कम्पनी वर्षैसाल टाटाको उत्कृष्ट डिलरका रुपमा पुरस्कृत भइरहेको छ । यही कम्पनी देशको सबैभन्दा धेरै कर तिर्ने सूचीमा पनि छ ।

वर्षमा ३५ अर्बको कारोबार गर्ने सिप्रदी व्यवसायिक सवारी साधनमा एक नम्बरमा छँदैछ, अब प्यासेन्जर कार सेगमेन्टमा पनि पहिलो बन्ने दाउमा अघि बढेको छ ।

राणाको नेपालमै सवारी उत्पादन गर्ने एसेम्बल प्लान्ट खोल्ने योजना थियो । तर, जीवनकालमा त्यो सपना भने पुरा गर्न पाएनन् ।

राणाले नै नेपालमा सूर्य नेपाल कम्पनी स्थापना गरेका हुन् । यो कम्पनी पनि अहिले नेपालको ठूला कम्पनीको अग्रस्थानमा छ । नेपालमा सबैभन्दा धेरै आयकर बुझाउने सूचीमा यो कम्पनी पनि पर्छ । सरकारबाट वर्षैजसो यो कम्पनीले उत्कृष्ट करदाताका रुपमा पुरस्कार पाउँदै आएको छ ।

राणा तिनै व्यक्ति हुन्, जसले नेपालमा पहिलोपटक ठूलो विदेशी लगानीलाई भित्र्याएका थिए । उनले ४५ मेगावाट क्षमताको भोटेकोशी आयोजनामा अमेरिकन कम्पनी पान्डालाई नेपालमा लगानीकर्ताका रुपमा ल्याएका थिए । यो कम्पनीले सन् १९९७ मा ९८ मिलियन डलर विदेशी लगानी नेपालमा ल्याएको थियो । उनले सूर्य नेपालमा पनि विदेशी साझेदारका रुपमा आइटिसीलाई प्रवेश गराएका थिए ।

पूर्वा राजा ज्ञानेन्द्रका व्यवसायिक साझेदार रहेका प्रभाकर सोल्टी होटलका हाल पनि चेयरम्यान इमिरियट्स थिए । सन् १९३५ नोभेम्बरमा काठमाडौंको सिंहदरबारमा जन्मिएका प्रभाकरले भारतको पटना विश्वविद्यालयबाट बीए पास गरेका थिए ।

उनलाई नेपाल उद्योग वाणिज्य महासंघले ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको थियो । उनी विभिन्न पदक, सम्मान र पुरस्कारबाट विभुषित भएका थिए । राणा २००२ सम्म सोल्टी होटलको अध्यक्षका रुपमा कार्यरत थिए ।

सगरमाथा इन्भेष्टमेन्ट प्रालि, गोर्खा लहरी, रोयल नेपाल सिपिङ कर्पोरशेसन, सगरमाथा इन्भेष्टमेन्ट लिमिटेड, हिमालय गुडरिक प्रालि, नेपाल इन्फोसिस प्रालि, हिमाल इन्टरनेशनल पावर कर्पोरेसन, अमरावती इन्टरनेशनल लगायतका विभिन्न कम्पनीमा अध्यक्ष तथा निर्देशकको निभएका थिए । उनी दुई पटक नेपाल एयरलाइन्सको निर्देशक पनि भएका थिए । उनले विभिन्न संघ संस्थामा रहेर समाजिक सेवा पनि गरेका थिए ।

उनले प्रशिद्ध जोन प्लेयर ब्रान्डको कपडाको उत्पादन नेपालमै थालेका थिए । तर, राजनीतिक अस्थिरताका कारण उत्पन्न श्रम समस्या काराण कम्पनी बन्द हुन पुगेको थियो ।

विदेशी लगानीका माध्यमबाट विभिन्न विदेशी प्रविधिलाई नेपालमा ल्याउन उनी सफल भएका थिए । विदेशी पुँजी र प्रविधि ल्याएर देशभित्रै रोजगारी सिर्जना गर्न राणाको ठूलो भूमिका छ ।

अहिले नेपालमा कामदार कर्मचारीलाई सर्वाधिक पारिश्रमिक भुक्तानी गर्ने उनका कम्पनीहरु पर्छन् ।

उनका कम्पनीहरुमा अनुभवी, विज्ञ तथा व्यवसायिक कर्मचारी र व्यवस्थापकहरु छन् । यी कम्पनी उनले नै एउटा भरपर्दो प्रणाली स्थापित गरेका छन्। त्यही प्रणाली फलो गर्दै कम्पनी चलेका छन् ।

‘टिकवर्क’मा विश्वास गर्ने प्रभाकरले ‘सिस्टम’लाई नै कम्पनीको सफलताको शुत्र भन्ने गरेका थिए । उनका कम्पनीमा अरुमा जस्तो मालिकतर्फबाट व्यवस्थापनका हस्तक्षेप छैन । त्यसैले प्रभाकरका कम्पनीमा काम गर्नेहरुको वृत्ति विकासको बाटो चौंडा छ ।

‘जिम्मेवारी दिइएका माथि विश्वास गर्नुपर्छ र उनीहरुबाट राम्रो नतिजा आउँछ भन्ने उहाँको सोच थियो, कम्पनीका सीईओहरुमाथि पनि कुनै हस्तक्षेप गर्नुहुन्न भन्ने उहाँको फरक सोच थियो,’ सिप्रदीका निर्देशक दाहाल भन्छन्, ‘उहाँका मान्यता सँधै सही पनि सावित भए र हुँदैछन् ।’

अनेकन विशेषता बोकेर प्रभाकरले नेपालको उद्योग व्यवसायमा एउटा विशिष्ट प्रभाव छाड्दै भौतिक रुपमा विदा लिएका छन् । तर, उनले स्थापित गरेका सोच, विचार, सिद्धान्त र भौतिक पूर्वाधार तथा कम्पनीले देशलाई चीर कालसम्म योगदान दिइरहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment