Comments Add Comment

इद मुवारकः आत्मशुद्धी र सद्भावको पर्व

हरेक चाडपर्व, उत्सवले उमंग ल्याउँछ । खुसी बाढ्छ । सद्भाव फैलाउँछ । आपसी रिस, राग, वैमनस्य, द्वेष, दम्भ पखालेर प्रेममय माहौलमा मिसाइदिन्छ । ईद यस्तै पर्व हो, जसले खासगरी मुस्लिम समुदायमा बेग्लै उत्साह संचार गराइदिन्छ ।

हाम्रो समाज बहुरंगी छ । यहाँ विभिन्न जात-जतिको रंग पोतिएको छ । विभिन्न समुदायको रंग घुलिएको छ । एउटा जात, समुदायले कुनै पर्व, उत्सव मनाइरहँदा त्यसमा अर्को समुदाले पनि आफ्नो खुसी मिसाइदिन्छन् । हाम्रो समाजको सौन्दर्य पनि यहीँ हो ।

मुस्लिम समुदायले  ईद पर्व  एक महिनासम्म मनाउने गर्छन् । यस अवधीलाई उनीहरुले पवित्र पर्व मनाउने अवसरको रुपमा लिन्छन् ।

मुस्लिम समुदायले मनाउने यो पर्वको विधी एवं शैली आफैमा निकै रोचक र महत्वपूर्ण छ । ईदलाई उनीहरुले आत्मशुद्धिका लागि मनाउने गर्छन् । यसका लागि रमदान पर्वको पूर्वसन्ध्यामा चन्द्रमा अवलोकनपछि ईदको रौनक सुरु हुन्छ ।

पर्व मनाउनुअघि उनीहरु बिहानै नुहाई-धुवाई गर्छन् । शरीरलाई शुद्ध बनाउँछन् । त्यसपछि नयाँ वस्त्रधारण गर्छन् । यसरी शुद्ध भइसकेपछि मस्जिदमा पुग्छन् र नमाज पढ्छन् । मुस्लिम समुदायले अल्लाहलाई आफ्नो ईश्वर मान्छ ।

रमदानको आफ्नै विधी छ । यस अन्र्तगत उपवास बस्ने गरिन्छ । यसलाई रोजा बस्ने भनिन्छ । रोजा बस्नका लागि बिहान ३:४३ बजेबाट बेलुका ६:३६ बजेसम्म केही नखाई बस्नुपर्छ ।

बर्षायाममा खानेकुराकै माध्यामबाट पेटमा संक्रमण हुने भएकाले यतिबेला जथाभावी खानु राम्रो मानिदैन । रोजाले शरीरका लागि पनि अनुशासित दिनचर्यामा डोहोर्‍याउँछ । नियमित र विधीपूर्वक एक महिनासम्म रोजा बस्दा कतिपय कुलत पनि छुट्छ । जस्तो गुड्खा, खैनी, चुरोट लगायत लागुऔषध खाने, जथाभावी खानेकुरा सेवन गर्ने बानी छुट्छ । खानपानको यो एक अनुशासित शैली पनि हो ।

दुःखीलाई दान

हरेक पर्वले अरुको लागि कृतज्ञ रहन सिकाउँछ । अरुको लागि बाँच्न सिकाउँछ । अरुको खुसीमा आफ्नो खुसी साट्न सिकाउँछ । ईद पनि यस्तै पर्व हो, जसले अरुप्रति सद्भाव र प्रेम राख्न प्रेरित गर्छ ।

इदको अवसरमा गरिब, निमुखा, कमजोर व्यक्तिलाई दान दिने गरिन्छ । यसरी सबैप्रति कृतज्ञ भावले यो पर्व मनाउन सुरु गरिन्छ ।

आपसी सद्भाव

ईद एक माध्याम पनि हो, आपसी सद्भाव बाँढ्ने र एकअर्काबीचको तुष मेटाउने पनि । एकअर्कावीच सुख र शान्ति, एकता र उन्नतीका कामना गरिन्छ । यस पर्वको अवसरमा मुस्लिम समुदाय आपसमा शुभकामना आदान-प्रदान गर्छन्, इद मुवारक भन्दै ।

इद मुवारक भन्नु पनि एकअर्काप्रति सद्भाव व्यक्त गर्नु नै हो । ईद भनेको उत्सव हो, मुवारक भनेको धन्य ।

आफ्नै मिठास

यो पर्वको बेग्लै मिठास छ । यतिबेला आपसी सद्भाव बाढ्दै मीठो-मसिनो पनि खाने गरिन्छ । रोजा बस्नेहरुले दिनभर उपवास बस्छन् र राती खाना खान्छन् । यतिबेला खाइने विशेष परिकार हो सेवाइ । यो मिठो परिकारले उनीहरुको परिवारमा पनि मिठास भर्ने अपेक्षा गरिन्छ ।

सेवाइ दुधमा चिनी मिश्रण गरेर पकाइन्छ । यसमा स्वादका लागि ड्राई फ्रुट्स पनि राख्न सकिन्छ । बिहान उपवास बस्नुअघि सेवाइ खाने गरिन्छ । यसले दिनभरका लागि शरीरलाई उर्जा मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment