+
+

प्रहरी अगाडिकै सुन पसल फोड्ने योजना टर्‍यो ! 

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २४ गते १६:५५

२४ जेठ, काठमाडौं । डकैती मुद्दाका फरार अभियुक्त छिरिङ तामाङलाई प्रहरीले गोली हानेर पक्राउ गरेसँगै कोटेश्वरमा प्रहरी चौकी अगाडि हुन लागेको डकैतीको योजना टरेको दाबी गरिएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाले उनको पक्राउसँगै कोटेश्वर प्रहरी प्रभाग अगाडि रहेको ज्वेलरी पसलमा हुन लागेको डकैती राकिएको दाबी गरेको हो ।

महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले अनलाइनखबरसँग भने, ‘तामाङको समूहले कोटेश्वरमा ज्वेलरी डकैती गर्ने योजना बनाएको रहेछ ।’ तर, उनको पक्राउसँगै योजना तुहिएको उनले बताए ।

प्रहरीले तामाङलाई पक्राउ गर्नु अगावै समूहका धराने भनिने नितेश तामाङ, मुन्द्र भनिने अजय घ्यावा तामाङ, बाहुन भनिने रुपेश चौलागाई र जिग्री भनिने मकवानपुरका भीमराज थिंङलाई पक्राउ गरिसकेको छ । उनीहरुले पनि घटनामा संलग्नता स्वीकारिसकेका छन् ।

तेह्रथुम म्याङ्लुङ घर भएका छिरिङको दाहिने खुट्टामा दुई राउण्ड गोली लागेको छ ।

श्रृंखलाबद्ध डकैती

यो समूहले ४ जेठमा जोरपाटीमा बुद्धराम सुनारले चलाएको भिमेश्वर सुनचाँदी पसलमा लुटपाट गरेको थियो ।

‘खुकुरी र फलामको रडसहित हतियार लिएर सञ्चालकलाई बन्धक बनाइ उनीहरुले काउन्टरमा रहेको नगद ८० हजार रुपैयाँ लुटेका थिए’, महाशाखाका एसपी ओम अधिकारीले भने, ‘अन्य ठाउँमा पनि उनीहरुले यही शैलीबाट लुटपाट गर्ने गरेको देखिएको छ ।’

प्रहरीको रकेर्ड अनुसार उनीहरुले जोरपाटीमा डकैती गर्नु एक दिनअघि ललितपुरको इमाडोलमा पनि लुटपाट गरेका थिए । कृष्ण मन्दिर नजिकै सुरसराज शर्माले चलाएको असन इन्भेष्टमेन्ट प्रा.लि.मा खुकुरीसहित छिरेर उनीहरुले १ लाख लुटेका थिए ।

घाइते तामाङ । तस्वीरः चन्द्र आले/अनलाइनखबर

अधिकारीका अनुसार २०७५ चैत २६ मा गोकर्णेश्वरमा यो समूह सक्रिय देखिन्छ । गोकर्णेश्वर–५ मा रवि श्रेष्ठले चलाएको पाथिभरा मनी ट्रान्फर सेन्टरमा उनीहरु प्रवेश गरेका थिए । सञ्चालकको मुखमा टेप बाँधेर बोले ज्यान लिने धम्की दिँदै उनीहरुले ३ लाख ५० हजार रुपैयाँ लुटेका थिए ।

‘यो समूहले १४ माघमा चाबहिलको एग्रिमोर बचत तथा ऋण सहकारी संस्थामा कर्मचारीलाई नियन्त्रणमा लिएर लुटपाट प्रयास गरेको थियो’, प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) मा विवरण छ, ‘तर, उनीहरु यो पटक असफल भएर भागेका थिए ।’

त्यसअघि २६ भदौमा कलंकीको पिपुल्स मनी ट्रान्फरमा पनि उनीहरुले लुटपाट गरेका थिए । त्यहाँबाट एक लाख ७० हजार रुपैयाँ लिएर उन्हिरु फरार भएका थिए । पक्राउ परेकामाथि मुलुकी अपराध संहिता ऐन, २०७४ मा भएको डाँका गर्न नहुने कसुर अन्तरगत म्याद थप गरेर अनुसन्धान हुने जनाइएको छ ।

उनीहरुमाथिको आरोप प्रमाणित भए ७ वर्षदेखि १४ वर्षसम्म कैद र ७० हजारदेखि १ लाख ४० हजार रुपैयाँसम्म जरिवाना र ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?