Comments Add Comment

खाँडादेवीमा केवलकार सञ्चालन गरिने, ४ अर्ब लागत

२६ जेठ, रामेछाप । रामेछापको प्रशिद्ध शक्तिपीठ खाँडादेवीसम्म पुग्नको लागि अब केवलकार बन्ने भएको छ । खाँडादेवी गाउँपालिका-३ को सित्खाबाट खाँडादेवीसम्म केवलकार निर्माणको सम्भाव्यता अध्ययनको काम पूरा भएको छ ।

खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङका अनुसार अध्ययनको क्रममा ४ किलोमिटर लामो केवलकार निर्माणको लागि ५ वटा टावर लाग्ने अध्ययनले देखाएको छ । पोलहरु ८ सय मिटरको फरकमा हुने छन् । केवलकार निर्माणको लागि ३ वर्ष लाग्ने अध्यक्ष तामाङले बताए ।

उनका अनुसार पहिलो वर्ष १० प्रतिशत काम हुने छ । त्यस्तै दोस्रो वर्ष थप ५० प्रतिशत काम पूरा गरी ६० प्रतिशत काम सम्पन्न हुने छ । अन्तिम वर्ष ४० प्रतिशत काम सम्पन्न हुने छ । तीन वर्षमा कार्य सम्पन्न गर्न करिव ४ अर्ब रुपैयाँ खर्च हुने उनले बताए ।

यसवर्ष केवलकार निर्माणको लागि प्रदेश सरकारले डिटेल प्रोजेक्ट रिपोर्ट तयार गर्ने योजना रहेको पनि अध्यक्ष तामाङको भनाइ छ ।

खाँडादेवीसम्म जाने केवलकार निर्माणको काम प्रदेश सरकारले गौरवको योजना भएको प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले बताए ।

केवलकार निर्माणको लागि डीपीआर निर्माणलगायतको काम प्रदेश सरकाबाट हुने र निर्माणको जिम्मा भने निजी क्षेत्रलाई दिने उनले बताए ।

शक्तिपीठको रुपमा सदियौंदेखि भक्तजनहरुले मान्दै आएकी खाँडादेवीमा चैते दसैं र बडादसैंका बेला ठूलो मेला लाग्ने भए पनि अहिले अन्य समयमा समेत दर्शनार्थीको संख्या बढेको छ ।

दसैंका बेला ठूलो मात्रामा पञ्चवली दिइने खाँडादेवीमा वर्षैभरी रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, ओखलढुङ्गा, दोलखा तथा तराईका विभिन्न जिल्ला र काठमाडौंबाट पनि भक्तजनहरु दर्शनका लागि आउन लागेका छन् । खाँडादेवी मन्दिरसम्म सडकको पहुँच पुगेपछि दर्शनार्थीहरु बढेका हुन् ।

खाँडादेवीसम्बन्धी स्थानीय भक्तजनमा धेरैखालका जनश्रुति र किम्बदन्ती पाइन्छन् । तर, त्यस्ता जनश्रुति र किम्बदन्तीभन्दा पनि शिवपुराणको हिमवत खण्डमा उल्लेख भएअनुसार रोशी खोला र सुनकोशी नदीको संगमस्थलमा रहेको कुशेश्वरमा देवीले शुम्भ निशुम्भ नामका राक्षसलाई बध गरी दुर्गा नदीमा खड्ग पखाली खाँडादेवी मन्दिर रहेको स्थानमा खड्ग गाडेर कालीञ्चोकमा अन्तरध्यान भएको उल्लेख छ ।

खाँडादेवी मन्दिरका पुजारी तामाङ जातिको हुनुले पनि खाँडादेवीलाई भिन्न र विशिष्ट पीठको रुपमा लिइन्छ । वि.स. १५१५ माघ १५ गते मंगलबारका दिन खाँडादेवीको शीला उत्पत्ति भएको बताइन्छ ।

वि.स. १५७३ सालमा चढाइएको घण्ट अहिले पनि मन्दिरमा रहेको खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङ बताउँछन् ।

नेपाल एकीकरण गर्ने क्रममा पृथ्वीनारायण शाहले पूर्वी किल्लालाई बलियो बनाउन सिन्धुलीगढीपछि खाँडादेवीमा सहायक गढीको रुपमा किल्ला बनाएका थिए ।

अंग्रेजसँगको लडाइ जित्नको लागि पृथ्वीनारायणले खाँडादेवीसँग आशिर्वाद लिएको बताइन्छ ।

पृथ्वीनारायण शाहले त्यही बेलादेखि कमलामाईलाई परेवा, मंगलादेवीलाई भाले, भैरवदेवीलाई राँगा र खाँडादेवीलाई हाँस र बोका बली दिन भनी आदेश दिएका थिए भन्ने जनश्रुति छ ।

खाँडादेवीको विकासको लागि अहिले पुरातत्व विभागले पनि विभिन्न काम गरि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment