Comments Add Comment

सारीले एकै सिजनमा किन छाडे चेल्सी ?

घरेलु मैदानको याद या चुरोट !

२ असार, काठमाडौं । इंग्लिस क्लब चेल्सीलाई युरोपा लिग जिताएका प्रशिक्षक माउरिजियो सारी अहिले सिरी ए विजेता टिम युभेन्टसको प्रशिक्षक बनेका छन् । तीन वर्षका लागि गएका सारीले युभेन्टसको च्याम्पियन्स लिग सपना पूरा गर्लान् ?

सारी २०१८ को जुलाईमा नापोलीबाट चेल्सी गएका थिए । जहाँ प्रिमियर लिगमा तेस्रो स्थानमा रहेको चेल्सीलाई युरोपा लिग जिताएर सफल नै दरिए । सिजन सकिनेवित्तिकै मासिमिलियानो एलेग्रीले युभेन्टस छाडेपछि चेल्सीलाई एक सिजनमै छाडेर उनी युभेन्टस लागे । जसका लागि युभेन्टसले झण्डै ५ मिलियन पाउण्ड क्षतिपूर्तिसमेत तिर्‍यो ।

युरोपा लिगको उपाधि जितेपछि नै सारीमा घरेलु मैदान फर्कने इच्छा तीब्र बनेको थियो । परिवारसँग नजिक रहने चाहना र कतिपय अवस्थामा ‘ब्रिटिश एटिच्युड’ मन नपर्नु पनि सारीको चेल्सी छाड्ने घोषणासँग जोडिएका छन् ।

तीन वर्षको सम्झौतामा चेल्सी आएका सारी एक वर्षमै हिँडेपछि चेल्सीमा पूर्व मिडफिल्डर फ्रान्क लामपार्ड प्रशिक्षक बन्ने खबर आइरहेका छन् तर यसको आधिकारिक धारणा भने बाहिरिएको छैन ।

जसरी सारी क्लब छाडेर जानुमा मिश्रित धारणा आइरहेका छन् त्यसरी नै फ्रांक लाम्पार्डलाई प्रशिक्षक बनाउनेमा प्रतिक्रियाहरु सुनिन्छन् । पहिलो सिजन सम्मानजनक अवस्था भए पनि सारीले क्लब छाड्दा चेल्सी समर्थक दुःखी भएनन् । केहीले उनी क्लबमै रहेहुन्थ्यो भनिरहँदा केहीले उनले छाडेकै राम्रो भन्ने धारणा राखेका छन् ।

अचम्म लाग्दो कुरा त चेल्सीले नै पनि सारी रहनु र सारी नरहनुमा उति ठूलो केही कुरा गरेन । यस्तो लाग्छ निरर्थक फुटबल प्रेममा सारी र चेल्सीको सम्बन्ध बढिरहेको थियो । होइन भने, एन्टोनियो कोन्टेले विजोग बनाएको चेल्सीलाई यो स्तरमा देखाउनु ६० वर्षका सारीको क्षमता नै मान्नुपर्ने हो ।

चेल्सीमा सारीले खेलाएका ६३ खेलमा ४० मा जित, ११ खेल बराबरी र १२ मा हार भएको थियो । जसको विजयी प्रतिशत ६३.४९ प्रतिशत देखिन्छ । उनी धेरै अर्थमा कोन्टेको ठीक विपरीत देखिए ।

स्वरुपमा नै पनि कोन्टे चिरिच्याट्ट सुटबुटमा हुन्थे, सारी टाउजर टिसर्टमा चुरोट पिइरहेका । यसमा पनि ‘ब्रिटिश एटिच्युड’ का अनेक धारणा जोडिन्छन् । उनलाई चेल्सीले नै राख्ने इच्छासमेत नहुनुका पछाडिको एक कारण यो पनि हो ।

सारीको सम्बन्धमा बेलायती मनोवृत्तिको कुरा चेल्सीका मालिक रोमन एब्रामोभिचले नै उठाएका थिए । प्रशिक्षक बनेर आउने भएसँगै सारीले बेलायती मनोवृत्तिलाई स्वीकार गर्नुपर्ने उनले सार्वजनिक रुपमा नै बताएका थिए ।

चुरोटका अम्मली सारीलाई मैदानमा चुरोट खाने बानी छाड्न मात्रै होइन कोट लगाएर आउन पनि एब्रामोभिचको सुझाव थियो । सामान्यतः मैदानमा टिसर्ट टाउजरमा देखिने सारीले अहिलेसम्म कोटमा बानी लगाइसकेका छैनन् र चुरोटको बानी पनि छाडेका छैनन् ।

चेल्सीका पूर्वखेलाडी पाट नेभिन सारीले पहिलो सिजनमा राम्रो नतिजा नै ल्याएको भए पनि म्यानचेस्टर सिटी र लिभरपुलको नजिक पनि नदेखिएको बताउँछन् । अब को प्रशिक्षक हुने भन्ने सवालभन्दा बढी इडन हाजार्ड रियल मड्रिड लागेपछि कठीन बन्न सक्ने आउँदो सिजनबारे कुरा हुनुपर्ने उनी बताउँछन् ।

युरोपियन फुटबलका विज्ञ मिना रोजुकी त सारी युभेन्टसका लागि समेत उपयुक्त प्रशिक्षक नभएको बताउँछन् ।

उनले बीबीसीसँग भनेका छन्, ‘मलाई युभेन्टसका लागि सारी उपयुक्त हुन् भन्ने लाग्दैन । उनले नापोलीमा नै देखाएको कामले पनि युभेन्टसलाई केही नयाँ दिन सक्छन् भन्नेमा शंका छ । किनभने उनी फुटबलको कला र सुन्दरतालाई सम्मान गर्छन् जितभन्दा बढी ।’

सारीको चुरोट मोह

सुन्दा अचम्म लाग्न सक्छ तर सारीको चुरोट मोह अनौठो छ । कसैले गुगलमा ‘सारी’ सर्च ग¥यो भने पनि उनको चुरोटबिनाको फोटो निकै कम भेटछन् । उनी चेन स्मोकर नै हुन् ।

यसअघि इटालियन क्लब नापोलीमा रहँदा खेल भइरहेका बेला पनि उनलाई चुरोट पिउन छुट थियो । मैदानको बाहिरी लाइनमा बसेर धुँवा उडाइरहेका भेटिन्थे । प्रिमियर लिगमा भने मैदानमा नै त्यस्तो छुट उनलाई थिएन ।

धेरै नै आलोचना हुन थालेपछि नापोलीले पनि मैदानमै चुरोट खान प्रतिबन्ध लगायो । तर, सारीका लागि मैदान छेउमै चुरोट खाने एउटा विशेष स्थान नै छुट्याइदियो । त्यस्तो स्थान चेन्जिङमा रुममा पनि थियो । नापोलीअघि अर्को इटालियन क्लब इपोलीमा रहँदा पनि उनी उसै गरी मनमौजी धुँवा उडाइरहेका हुन्थे ।

कतिसम्म भने टिम अवे खेलका लागि प्लेनमा जाँदा उनी भने एक्लै रेल चढेर जान्थे । त्यसको एउटै कारण थियो बीच बीचमा चुरोट खाने चाहना । उनले दिनमा पाँच बट्टासम्म चुरोट खाने गरेको उनको नजिकै रहेर काम गरेकाहरु सुनाउँछन् ।

‘सारी चुरोटमा असाध्यै डुब्छन् । त्यो एकदमै अविश्वसनीय छ’ नापोलीका खेलाडी मरेक ह्यामसिक भन्छन्, ‘त्यस्तो धेरै चुरोट खाने मैले अरु कोही देखेको छैन । तर, त्यसरी चुरोटमा डुबेर पनि उनको सोच खेलभन्दा बाहिर कहिल्यै गएन ।’

सारी र चुरोटका सम्बन्धमा एउटा रोचक घटना छ । इटालियन ¥यापर नास्टाले ‘जस्ट लाइक पाउरिजियो सारी’ बोलमा एउटा गीत नै बनाए । जुन गाएर उनले सारीसँगको भेट पक्का गरे ।

नास्टाले सारीसँगको भेटमा तस्बिर खिचाए र एउटा चुरोटको खिलीमा अटोग्राफसमेत लिए । त्यसमा उनी भन्छन्, ‘म्यारोडोनालाई भेट्दा फुटबलमा अटोग्राफ लिए जस्तै हो सारीसँग चुरोटमा लिनु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment