Comments Add Comment

सुकुम्बासी बस्तीमा डोजरः विस्थापितलाई वैकल्पिक व्यवस्था गर्न ६ दलको माग

७ असार, बुटवल । बुटवल उपमहानगरपालिकाले डोजर लगाएर घर भत्काएपछि विस्थापित भएका १६ परिवारलाई वैकल्पिक बसोबासको व्यवस्था गर्न ६ दलले माग गरेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, सत्तारुढ समाजवादी पार्टीसहितका ६ दलका नगर समितिले बुटवल–१ मस्जिद टोलका १६ परिवारलाई बसोबासको वैकल्पिक व्यवस्था गर्न माग गरेका हुन् । उनीहरुले विस्थापितलाई वैकल्पिक व्यवस्था नगरेसम्म मस्जिद निर्माणको काम अघि नबढाउन समेत माग गरेका छन् ।

शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै ६ दलले बुटवल उपमहानगरले ४८ वर्षदेखि बस्दै आएको ठाउँबाट वैकल्पिक बसोबासको व्यवस्था विना वर्षायाममा विपन्न परिवारलाई विस्थापित गरेकोमा आपत्ति जनाएका छन् । विस्थापित परिवारलाई तत्काल गाँस, बास र कपास र स्वास्थ्य उपचारको व्यव्यस्था गर्न उपमहानगरपालिकासँग माग समेत गरेका छन् ।

बुटवल–१ स्थित रजा ए मुस्तफा मस्जिद अगाडि २ कठ्ठा बढी जग्गामा २०२८ सालदेखि बस्दै आएका १६ परिवारका टहरा उपमहानगरले दुई हप्ता अघि डोजर लगाएर भत्काएको थियो । अदालतमा मुद्दा चलेको र अन्तिम फैसला नहुँदै उपमहानगरले बलपूर्वक घरवारविहीन बनाएको पीडित परिवारको गुनासो छ ।

तत्कालीन श्री ३ बडामहारानीको जग्गाले चर्चेको उक्त जग्गामा ४० लाख लागतमा कभर्ड हल बनाउने भन्दै शिलान्यास गरेको छ ।

मस्जिदलाई आवश्यक पर्ने पार्किङ क्षेत्र नछोडेर कभर्ड हल बनाउन खोजेको भन्दै मस्जिद व्यवस्थापन समितिले विरोध गरेको थियो । अहिले ३० फुट पार्किङ स्थलका लागि छाड्ने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment