0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares
कांग्रेस विवाद :

डेडलाइन जेठ मसान्त-मेलमिलाप कि विभाजन ?

जेठ मसान्तभित्र पार्टीमा सहमति जुट्न नसके देशव्यापी भेला आयोजना गर्दै अधिवेशन प्रक्रियामा अघि बढ्ने तयारी भएको इतर समूहका नेताहरूले बताएका छन् ।

केशव सावद केशव सावद
२०८३ जेठ २५ गते २०:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि जेठ मसान्तसम्मको समय सीमा निर्धारण गरेको छ ।
  • सहमति नभए कोशी र लुम्बिनीको भेलापछि देशव्यापी भेला आयोजना गरी १५औं अधिवेशनको प्रक्रिया अघि बढाउने इतर समूहको तयारी छ ।
  • निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकताका लागि इमानदार प्रयत्न गरे पनि हालसम्म कुनै अपेक्षित प्रगति नभएको बताउनुभएको छ ।

२५ जेठ, काठमाडौं । विशेष महाधिवेशनका कारण उत्पन्न विवाद समाधानका लागि प्रगति नभएपछि नेपाली कांग्रेसको संस्थापन इतर समूह समय सीमा (डेडलाइन) सहित दबाब दिने रणनीतिमा उत्रिएको छ ।

आन्तरिक विवाद समाधानका लागि संस्थापन इतर समूह जेठ मसान्तलाई डेडलाइन तोकेको छ ।

जेठ मसान्तभित्र सहमति नभए १५औं अधिवेशनतर्फ अघि बढ्ने तयारी इतर समूहको छ ।

जेठ मसान्तभित्र पार्टीमा सहमति जुट्न नसके देशव्यापी भेला आयोजना गर्दै अधिवेशन प्रक्रियामा अघि बढ्ने तयारी भएको इतर समूहका नेताहरूले बताएका छन् ।

शीर्ष तहमा विवाद समाधानका लागि विभिन्न एजेन्डामा सहमति खोज्ने प्रयास जारी रहे पनि अपेक्षित प्रगति हुन सकेको छैन ।

निवर्तमान सभापति शेरबहादुर देउवा समूहका नेताहरू अब थप समय लम्ब्याउन नहुने पक्षमा देखिएका छन् ।

‘जेठ अन्तिमसम्म संस्थापनले सहमतिको खाका ल्यायो भने ठिकै छ । ल्याएन भने देशव्यापी भेला गरेर अधिवेशन गर्ने मुडमा सबै जना हुनुहुन्छ,’ एक नेताले भने, ‘शेखर कोइरालापनि सँगै हुनुहुन्छ । पूर्णबहादुर खड्काले आइतबार फेसबुकमा लेख्नुभएको पनि त्यहीसँग जोडिएको कुरा हो ।’

खड्का निकट नेताहरूको भनाइमा सहमति पहिलो प्राथमिकता भए पनि अनिश्चितकालसम्म पर्खिने अवस्था नरहेको निष्कर्षमा इतर समूह पुगेको छ ।

सहमति नभए कोशी र लुम्बिनी प्रदेशको भेला सम्पन्न गरेर देशव्यापी भेला आयोजना गर्ने तयारी इतर समूहको छ ।

क्रियाशील सदस्यताको अद्यावधिक र संगठनात्मक विवादलाई बलपूर्वक नभएर सहमतिका आधारमा समाधान गर्नुपर्ने अडान इतर समूहको छ ।

स्रोतको दाबीअनुसार समूहको आन्तरिक तयारीबारे निवर्तमान कार्यवाहक सभापति खड्काले संस्थापन पक्षलाई जानकारी गराइसकेका छन् ।

उनले उपसभापति विश्वप्रकाश शर्मालाई निवासमै बोलाएर कार्यकर्ता तर्साएर जबर्जस्ती क्रियाशील सदस्यता अद्यावधिक गर्नुभन्दा सहमतिको वातावरण बनाउन आग्रह गरेका छन् ।

‘अस्ति विश्वप्रकाशजीलाई बोलाएर पूर्ण दाइले राम्रोसँग भनेर पठाउनुभएको छ । जबरजस्ती गरेर, मान्छे तर्साएर अद्यावधिक गराएर केही काम छैन, सहमति गर्नुपर्छ,’ खड्कालाई उद्धृत गर्दै स्रोतले भने, ‘होइन भने बाँकी रहेको कोशी र लुम्बिनीको प्रदेशको भेलापछि देशव्यापी भेला गराएर हामी अधिवेशनमा जान्छौं । अब मैले रोक्न सक्ने अवस्था छैन । तपाईंहरू रोक्ने भए रोक्नुस् ।’

स्रोतका अनुसार खड्काले उपसभापति शर्मालाई जेठ मसान्तको ‘बटमलाइन’ दिएर पठाएका छन् । खड्कालाई शर्माले सभापति गगनकुमार थापासँग छलफल गर्ने जवाफ दिएको पनि स्रोतको दाबी छ ।

‘जवाफमा विश्वप्रकाशजीले सभापतिसँग कुरा गर्छु भन्नुभयो,’ स्रोतले भने, ‘तपाईंहरू दुई जनाले मिलाउने हो, मिलाउन सक्नुहुन्छ भने ठिक छ । नत्र हामी भेला गरेर अधिवेशनमा जान्छौं । थाम्न नसकिने अवस्था छैन भनेर पूर्ण दाइले भन्नुभएको छ ।’

निवर्तमान कार्यवाहक सभापति खड्का र उपसभापति शर्माबीच २२ जेठमा झन्डै तीन घण्टा छलफल भएको थियो ।

कार्यसम्पादन समितिका एक सदस्यले उक्त छलफलमा संस्थापनले गरेको सात बुँदा प्रस्तावमाथि छलफल भएको दाबी गरेका छन् ।

विश्वप्रकाश शर्मा र गगन थापा ।

कार्यसम्पादन समिति सदस्यका अनुसार सभापति थापाले सहमतिका लागि खड्का समक्ष सात बुँदे प्रस्ताव गरेका थिए । सभापति थापाले नेता खड्कालाई १६ जेठमा सहमतिका लागि प्रस्ताव पठाएका थिए ।

उक्त सात बुँदे प्रस्तावबारे खड्काले कुनै जवाफ नपठाएको संस्थापन पक्षको भनाइ छ । ‘जेठ १६ गते सभापतिले सहमतिका लागि सात बुँदे प्रस्ताव पठाउनु भएको छ । त्यसप्रति उताबाट केही जवाफ आएको छैन,’ ती कार्यसम्पादन समिति सदस्यले भने ।

१४औं महाधिवेशनमा देउवाको प्यानलबाट केन्द्रीय सदस्यमा निर्वाचित एक महिला नेतृले जेठ मसान्तसम्म मेलमिलापका लागि पहल नभए आफ्नै ढंगले अगाडि बढ्ने तयारी रहेको बताइन् ।

‘जेठ मसान्तभित्र विवाद समाधान नगरिए अगाडि बढ्ने निर्णय भएको छ,’ ती नेतृत्वले भनिन्, ‘मसान्तसम्मको टाइमलाइन दिने, भएन भने हामी अगाडि बढ्नुपर्छ भनेर हामी सबै छलफलबाट उठेका थियौं ।’

उनका अनुसार इतर समूहका शीर्ष नेताहरूले १७ जेठमा समूहको बैठक बोलाएर छलफल गरेका थिए ।

‘शीर्ष नेताहरू पहिले बस्नुभएको थियो । उहाँहरूले हामीसँगको छलफलमा ६ एजेन्डा ल्याउनुभएको थियो,’ उनले भनिन्, ‘थपघट गर्न भनिएको थियो । एजेन्डाहरू सबै मिलेका भएर हामीले थपघट केही गरेनौं । ‘एजेन्डाभन्दा बाहिर नजानुहोला भनेका छौं ।’

इतर समूहले संस्थापन पक्षलाई विवाद समाधानका लागि जेठ मसान्तसम्मको समय सीमा दिएको नेता कृष्णप्रसाद सिटौलाको अभिव्यक्तिले पनि पुष्टि गरेको छ । उनले हिमालय टिभीसँगको अन्तर्वार्तामा जेठ मसान्तको समय सीमाबारे खुलाएका छन् ।

‘नियमित महाधिवेशन पक्षधर हामीहरूले पूर्णबहादुर खड्काजीलाई जिम्मेवारी दिएका छौं । तपाईं छलफल गर्नुस्, टुंगोमा पुर्‍याउनुहोस् । तर, ढिलो नगर्नुस् अब,’ उनले भनेका छन्, ‘यही जेठ मसान्तभित्र टुंगोमा पुर्‍याउनुहोस् है भनेका छौं । उहाँले त्यो जिम्मेवारी लिनुभएको छ ।’

कृष्ण सिटौला ।

जेठ मसान्तको डेडलाइन हो ? भन्ने प्रश्नको जवाफमा नेता सिटौलाको भनाइ छ, ‘यहाँभन्दा ढिलो गरेर त नेपाली कांग्रेस पार्टीको कसैलाई फाइदा छैन ।’ जेठ मसान्तसम्म नेतृत्वसँग कुरा नमिले कांग्रेस विभाजन हुन सक्ने उनको आशय छ ।

कुरा मिलेन भने के हुन्छ ? जवाफमा उनले भनेका छन्, ‘‘पार्टीमा एउटा वैकल्पिक राजनीतिक धार विकास हुने सम्भावना देखिन्छ । वैकल्पिक धार भनेको राजनीतिमा के हुन्छ, आफैं अन्दाज गर्न सक्नु हुन्छ । जुन कुरा हामी चाहँदैनौं । त्यो परिस्थितिमा पार्टी नपुगोस् भन्ने हाम्रो चाहना हुन्छ । तर, पार्टीमा एकता नै भएन भने हुन्छ छ के त राजनीतिमा ? त्यही हुन्छ ।’

१४ औं महाधिवेशनमा देउवा प्यानलबाट केन्द्रीय सदस्यमा निर्वाचित एक केन्द्रीय सदस्यले जेठ मसान्तसम्म पार्टीमा मेलमिलाप नभए आफूहरू १५ औं महाधिवेशनको तयारीमा लाग्ने प्रतिक्रिया दिए ।

‘यही अवस्था रहिरहने हो, सहमति नहुने हो भने पुराना प्रतिनिधि छँदैछन्, १५ औंका लागि नवीकरण गरेका क्रियाशील सदस्य छँदैछन् । त्यहीँबाट अधिवेशन गर्छौं,’ उनले भने ।

ती नेताले सहमति नजुटे संस्थापनलाई चुनौती दिँदै छुट्टै महाधिवेशन गर्ने विकल्पसमेत खुला रहेको संकेत पनि गरे । उनले नेतृत्वले विवाद समाधानभन्दा समय लम्ब्याउने प्रयास गरिरहेको आरोप लगाउँदै जेठ मसान्तभित्र सहमति हुनेमा आफू विश्वस्त नरहेको बताए ।

‘अन्तिममा हुने त्यही त हो । होइन र ?,’ संस्थापनलाई चुनौती दिएर छुट्टै महाधिवेशन गर्नेसम्मको तयारीबारे अनलाइनखबरको जिज्ञासामा ती नेताले प्रतिप्रश्न गर्दै भने, ‘अलमल–अलमल गराउन खोजिरहेका छन् । केही होला जस्तो लाग्दैन मलाई ।’

खड्कानिकट नेतृ कान्तिका सेजुवालले पनि सभापति थापाले पार्टी एकताका लागि पहल नगरे आगामी असार महिनाबाट १५ औं महाधिवेशनको प्रक्रिया अघि बढ्ने बताएकी छन् ।

‘सभापति गगन थापाज्यूले नेपाली कांग्रेसलाई सम्पूर्णमा एकता गराउनु भएन भने १४ औं महाधिवेशनबाट निर्वाचित नेतृत्वले आफ्नो नेतृत्वमा हुँदा पाँच लाख ७५ हजार नवीकरण र तीन लाख क्रियाशील सदस्यहरूलाई १५औं महाधिवेशनका लागि वितरित क्रियाशील सदस्यबाट वडादेखि केन्द्रसम्म महाधिवेशन गर्ने प्रक्रिया असारदेखि अघि बढ्ने कुरामा ढुक्क हुनुहोस्,’ उनले फेसबुकमा लेखेकी छन् ।

डा. शेखर कोइराला र पूर्णबहादुर खड्का ।

यद्यपि, नेताद्वय पूर्णबहादुर खड्का र डा. शेखर कोइराला भने पार्टी विभाजनको पक्षमा नरहेको नेताहरू बताउँछन् । उनीहरू कांग्रेसभित्रै रहेर संघर्ष र सुधारको पक्षमा रहेको एक केन्द्रीय सदस्यको भनाइ छ । ती केन्द्रीय सदस्यका अनुसार पार्टी फुट्दा कुनै एक पक्षमात्र नभई समग्र कांग्रेस कमजोर हुन्छ ।

‘पार्टी विभाजन भए हामी पनि कमजोर हुन्छौं, गगन पक्ष पनि कमजोर हुन्छ । अन्ततः त्यसको घाटा कांग्रेसलाई नै पर्छ,’ उनले भने, ‘त्यसैले पार्टी फुटाउने होइन, पार्टीभित्रै बसेर संघर्ष गर्ने पक्षमा पूर्णबहादुर खड्का हुनुहुन्छ । शेखर कोइरालाको सोच पनि त्यही नै देखिन्छ ।’

यसैबीच नेता खड्काले दुई महिनादेखि पार्टीको सम्पूर्ण एकताको लागि इमान्दार प्रयत्न गर्दा पनि प्रगति नभएको बताएका छन् । उनले पछिल्लो समय पार्टीबारे चलाइएका हल्ला र विकसित घटनाक्रमबाट आफू चिन्तित भएको उल्लेख गरेका छन् ।

‘सभापति गगनकुमार थापाजीसँग मेरो कुनै पनि प्रकृतिको सम्पर्क–संवाद नभएको आज ३१ दिन भयो,’ खड्काले आइतबार फेसबुकमा लेखेका थिए, ‘दुई महिनादेखि पार्टीको सम्पूर्ण एकताको लागि इमान्दार प्रयत्न गर्दा पनि खासै कुनै प्रगति भएको छैन । अहिले आएर केही दिन यता पार्टीका बारेमा चलाइएका यथार्थभन्दा फरक हल्ला र विकसित घटनाक्रमबाट म चिन्तित भएको छु ।’

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?