Comments Add Comment

विषादी परीक्षणको प्रावधानले तरकारी र फलफूल आयात रोकियो

८ असार, बुटवल । सरकारले विषादी परीक्षण गरेर मात्र आयात गर्न पाइने कानून बनाएपछि भारतबाट हुँदै आएको तरकारी र फलफूलको आयात ठप्प भएको छ ।

रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल भित्रिने फलफूल र तरकारी तीन दिनदेखि भित्रिन सकेको छैन ।

आलु र प्याज बोकेका ट्रकहरु तीन दिनदेखि नाकामै रोकिएका छन् भने छिटो बिग्रन सक्ने तरकारीका ट्रकहरु भारततिरै फिर्ता भएका भैरहवा भन्सार कार्यालयले जनाएको छ । नयाँ व्यवस्था अनुसार तरकारी तथा फलफूल आयातकर्ताले विषादीरहित छ भन्ने व्यहोराको प्रमाण लिएपछि मात्रै भन्सारले सम्बन्धित ठाउँमा लैजाने अनुमति दिन्छ ।

तर विषाधी परीक्षणको सट्टा आयात नै रोकिएको छ । सरकारले जीवनाशक विषादीको अवशेष परीक्षण गरेर मात्र आयात गर्न पाइने कानून बनाई असार ३ गते राजपत्रमा प्रकाशित गरेपछि यसअघि विना परीक्षण आउने गरेको तरकारी र फलफूलको आयात प्रभावित भएको हो ।

बेलहिया नाकाबाट दैनिक सरदर ५० ट्रक तरकारी र फलफूल आयात हुने गरेको छ । भारतीय सञ्चार माध्यमले भने बेलहियाबाट दैनिक सरदर ३० ट्रक फलफूल र ७० ट्रक सानो–ठूलो ट्रकमा तरकारी नेपाल आयात हुने गरेको उल्लेख गरेका छन् ।

विषादी परीक्षण गर्ने प्रयोगशाला बेलहिया नाकामा छैन । बुटवलमा भएको विषादी अवशेष द्रुत परीक्षण इकाई (प्रयोगशाला) ८ महिनादेखि बन्द छ ।

भैरहवा भन्सार, क्वारेन्टाइन चेकपोष्ट र क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसँग विषादी जाँच गर्ने पेस्टीसाइड एनलाइसिस प्रोमोटोग्राफी मेसिन छैन । ‘भैरहवाबाट काठमाडौंको कालीमाटीमा लगेर विषादी परीक्षण गरेर ल्याउन ३/४ दिन लाग्छ’ सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कूलप्रसाद न्यौपानेले भने ‘आयात घटाउने र स्वच्छ वस्तु आयात गर्ने सरकारको नीति सैद्धान्तिक रुपमा राम्रो हो तर विना तयारी हचुवाको भरमा भयो ।’

काठमाडौं पुगेर परीक्षण गर्न सम्भव नहुने भन्दै अध्यक्ष न्यौपानेले विषादी परीक्षण ल्याब क्वारेन्टाइन कार्यालय भैरहवामै स्थापना गरी सेवा सञ्चालन गर्नुपर्ने माग गरे ।

बेलहिया नाकाबाट बुटवल कृषि उपज थोक बजार केन्द्रमा मात्रै दैनिक दुई करोड रुपैयाँको तरकारी र फलफूल आयात हुन्छ । लुम्बिनी तरकारी तथा फलफूल थोक व्यवसायी संघका अध्यक्ष केशव कुँवर सरकारको निर्णय राम्रो भए पनि हतारमा गरिएको टिप्पणी गर्छन् । ‘बुटवलमा भएको विषादी परीक्षण ल्याब ८ महिनादेखि बन्द छ, अब कहाँ गएर परीक्षण गर्ने ?’ उनले प्रश्न गरे ।

सरकारले कृषक र व्यवसायीलाई जानकारी नै नदिई हचुवाको भरमा निर्णय गर्दा तरकारी र फलफूल व्यवसायीको करोडौं रुपैयाँ जोखिममा परेको अध्यक्ष कुँवरले गुनासो गरे । ‘चाडपर्व आउने बेलामा विना पूर्वाधार गरिएको निर्णयले आयात ठप्प हुन गई बजारमा अभाव सिर्जना हुन्छ र अन्ततः मूल्य बृद्धि भई मारमा सर्वसाधारण पर्छन् ।’

अहिले तरकारी र फलफूल नेपाली उत्पादनले ३० प्रतिशत माग पनि धान्न नसक्ने तरकारी व्यवसायी मेघराज पौडेल बताउँछन् ।
नयाँ कानूनी व्यवस्था कार्यान्वयन गर्न शुक्रबार पत्र आएकोे भैरहवा भन्सार कार्यालयका प्रमुख कमल भट्टराईले बताए ।

‘हामीलाई पत्र प्राप्त भएपछि आयात रोकेका छौं’ उनले भने ‘विषादी जाँच गर्ने प्रयोगशाला यहाँ नहुँदा के गर्ने भन्ने अन्यौल छ, यसबारे माथिल्लो निकायमा आग्रह गरेका छौं ।’

जिल्लामा क्वारेन्टाइनबाहेक क्षेत्रीय खाद्य प्रविधिले समेत विषादी जाँच गर्छ । तर यहाँ पनि तरकारी र फलफूलको जाँच गर्ने मेसिन र जनशक्ति छैनन् ।

क्वारेन्टाइन कार्यालय बेलहियाका प्रमुख विष्णुप्रसाद काफ्लेले आफूहरूसँग जाँच गर्ने यन्त्र नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment