Comments Add Comment

नेकपा सांसदको प्रश्न– ‘झोलामा राखिएको पेस्तोलबाट कसरी फायरिङ भयो ?’

Photo Credit : रोशन सापकोटा/रासस । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक ।

९ असार, काठमाडौं । विप्लव समूहलाई प्रतिबन्ध लगाउन आवश्यक थियो या थिएन ? यसबारेमा सोमबार संसदीय समितिमा चर्काचर्की बहस भयो ।

सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा विप्लव समूहका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको निधनबारेको छलफलका क्रममा सो समूहमाथि लगाइएको प्रतिबन्धकै विषयमा समेत सांसदहरुले प्रश्न उठाए ।

‘झोलामा राखिएको पेस्तोलबाट कसरी फायरिङ भयो ?’

पूर्वमाओवादी नेतासमेत रहेकी नेकपा सांसद यसोदा सुवेदी गुरुङले गृहमन्त्रीको जवाफमा सन्तुष्ट हुन नसकिने बताइन् ।

‘झोलामा पेस्तोल भेटिएको भनिएको छ, झोलामा राखिएको पेस्तोलबाट दोहोरो फायरिङ हुन्छ कि हुन्न ?’ सांसद गुरुङले प्रश्न गरिन् ।

उनले कुमार पौडेल स्थानीय स्तरमा लोकप्रिय व्यक्तिका रुपमा रहेको समेत उल्लेख गरिन् । तर, सांसद सुवेदीलाई जवाफ दिँदै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कुमार पौडेलको विगत खराब रहेको फेहरिस्थ सुनाउँदै उनी सज्जन हुन् कि के हुन, आफैं परिभाषित गर्न भने ।

नेकपाकी सांसद रेखा शर्माले सरकारले द्वन्द्वरुपी प्रवृति रोक्न चाहिरहेको छ कि प्रोत्साहन भन्दै प्रश्न गरिन् । कांग्रेसकी सांसद डिला संगौलाले गृहमन्त्रीलाई विगतको जनयुद्ध किन बिर्सिएको ? भन्दै प्रश्न गरिन् । देशलाई द्वन्द्वमा जान दिन नहुने र त्यसका लागि सरकारले संयमता अपनाउनुपर्ने उनको भनाइ थियो ।

नेकपाका सांसदहरु महेश्वरजंग गहतराज, तीर्था गौतम लक्ष्मी चौधरी, समाजवादी पार्टीका सांसद रामशहाय प्रसाद यादव लगायतले विप्लव समुहलाई मूलधारमा ल्याउने गरी वार्ताको पहल गर्नुपर्ने सरकारलाई सुझाएका छन् ।

मीना पाण्डेको प्रश्नः पेशेवर हत्याराले हत्या गरेको त होइन ?

नेपाली कांग्रेसकी सांसद मीना पाण्डेले कुमार पौडेलको हत्या कतै पेशेवर हत्याराले गरेको त होइन ? भन्ने प्रश्न गरिन् ।

‘या त पेशेवर मान्छेबाट मराइएर प्रहरीलाई केही पैसा दिएर .. यो आशंका पनि एउटा छ । तर, अपुष्ट कुरा कसरी भन्ने ? गृहमन्त्रालयले यसको छानबिन गरोस्’ सांसद पाण्डे भनिन्, ‘लासको प्रकृति हेर्दा एउटा सामान्य मन भएको प्रहरीले त्यसरी मार्न सक्दैन । बर्बर यातना दिएर मारिएको कुरा लास आफैँ बोल्छ ।’

हात तीन ठाउँमा भाँचिएको, नाकमा धारिलो हतियारले हानेको, जिउभरि कुटेको लासमा देखिएको उल्लेख गर्दै पाण्डेले भनिन्, ‘मैले पाएको सूचनाअनुसार अचेत अवस्थामा पीठमा एउटा गोली, कञ्चटमा र पाखुरामा गरेर तीनवटा गोली हानिएको छ ।’

छायाँ गृहमन्त्रीको प्रश्नः कुन बाटो रोजिँदैछ ?

प्रमुख विपक्षी नेपाली कांग्रेसको छायाँ सरकारका गृहमन्त्री दिलेन्द्रप्रसाद बडूले गृहमन्त्री रामबहादुर थापालाई प्रश्न गरे, ‘विप्लव समूहलाई मूलधारमा ल्याउन कुन बाटो रोजिँदैछ ?’

गृहमन्त्री थापाले यसअघि संसदमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदा विप्लव समूहको हेडक्वार्टरसहित चारवटा कम्पनी बनिसकेको उल्लेख गरेका थिए । यही विषय कोट्याउँदै छायाँ गृहमन्त्री बडूले प्रश्न गरे, ‘यो अवस्थामा सरकार विप्लव समूहलाई मूलधारमा ल्याउन कुन बोटा रोज्दैछ ?’

वार्ता र संवादबाट विप्लव समूहलाई मूलधारमा ल्याउन सरकारले पर्याप्त पहल नगरेको बडूले आरोप लगाए । जवाफमा गृहमन्त्री थापाले राज्यले विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याउन प्रयास गरिरहेको, तर विप्लव समूहले त्यो नचाहिरहेको बताए ।

‘हामी प्रयासरत छौं, वार्ताको प्रयास भइरहेको छ’ गृहमन्त्री थापाले भने, ‘तर विप्लव समूहले त्यो चाहिरहेको छैन ।’

छलफलमा कतिपय सांसदहरुले विप्लव समूहलाई समाप्तै पार्ने सरकारको योजना हो ? भन्दै प्रश्न गरेका थिए । जवाफमा गृहमन्त्री थापाले सरकारको त्यस्तो कुनै निर्देशन नरहेको बताए ।

पूर्वगृहमन्त्रीको प्रश्न– प्रतिबन्ध लगाउनु ठीक थियो ?

सोमबारको छलफलमा पूर्वगृहमन्त्री एवं सत्तारुढ नेकपाका सांसद जनार्दन शर्माले बहालवाला गृहमन्त्री रामबहादुर थापालाई प्रश्न गर्दै भन्छन्, ‘मेरो बिचारमा थिएन भन्ने हो ।’ हतियार बोकेपछि पक्राउ गर्ने अधिकार संविधानले नै दिएको उल्लेख गर्दै सांसद शर्मा भन्छन्, ‘खैर त्यो (प्रतिबन्ध) लाग्यो ।’ शर्माले यसै घटनालाई जोडेर सरकार संविधान अनुसार अगाडि नबढेको आरोप लगाए ।

यो पनि पढ्नुहोस्

कुमार पौडेल मुठभेडमै मारिएका हुन् : गृहमन्त्री थापा

माननीयज्यू ! कुमार पौडेलको विगत हेरौं : आइजीपी खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment