Comments Add Comment

नेपालगञ्ज र भैरहवामा अड्किएको तरकारी काठमाडौं ल्याएर परीक्षण

किन भयो फलफुल र तरकारी आयातमा झमेला ?

Photo Credit : भैरहवा भन्सारमा रोकिएका ट्रक

९ असार, काठमाडौं । सरकारले क्वारेन्टाइन र जीवनाशक विषादी जाँचपासमा कडाई गरेपछि भन्सारमै थन्किएका तरकारी तथा फलफुलको काठमाडौंबाट विषादी परीक्षण गरिएको छ ।

आइतबार कार्यालय समय पछाडि र सोमबार आएका ६२ वटा नमूनाको जीवनाशक विषादी जाँचपास सम्पन्न भएको विषादी अन्वेषण द्रुत विश्लेषण इकाइ कालिमाटीले जनाएको छ ।

इकाइका प्रमुख राजेश्वर शर्माका अनुसार भन्सार कार्यालय भैरहवा र नेपालगञ्ज तथा त्यहाँको क्वारेन्टाइन केन्द्रले गरेको सिफारिसमा भन्सारमा अड्केको वस्तुको नमूना लिएर व्यवसायीका प्रतिनिधि काठमाडौं आएका थिए । उनीहरुले आँप, लिची, तरबुजा, गोलभेडालगायतका ६२ वस्तुको नमुना परीक्षण लागि ल्याएका थिए ।

परीक्षण गरिएका सबै तरकारी तथा फलफूलहरु खान योग्य रहेको ल्याब रिपोर्ट प्राप्त भएको शर्माले अनलाइनखबरलाई बताए । शर्माका अनुसार कार्यालय अन्तर्गतको बुटवल ल्याब बिग्रिएका कारण काठमाडौंमा परीक्षणका लागि ल्याउन परेको हो । कृषि विभागबाट बुटवलको ल्याब सञ्चालनका लागि पहल थालिसकेको शर्माले बताए ।

सरकारले परिमार्जन गरेको निकासी पैठारी आदेशको कार्यान्वयनमा उत्पन्न अन्योलले भारतबाट नेपाल भित्रिएका तरकारी तथा फलफूल भन्सार नाकामा रोक्न थालिएको हो । मुख्य भन्सार नाकामा शुक्रबारदेखि थालिएको कडाइका कारण आयात गरिएको तरकारीहरु कुहिन थालेको भन्दै व्यवसायीहरुले विरोध जनाएका छन् ।

आयात प्रतिस्थापन र नेपाली उत्पादन बढाउने उद्देश्यले सरकारले तरकारी तथा फलफुल आयातमा कडाइ गरेको हो । परिमार्जित निकासी–पैठारी आदेशअनुसार ताजा तरकारी तथा फलफुल आयात गरिँदा भन्सार बिन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य गर्नुपर्ने हुन्छ । व्यवसायीले खरिद गरेर नेपाल भित्र्याउन लागेका तरकारी बोकेका ट्रक तथा कन्टेनरहरु नयाँ मापदण्डमा समेटिन नसकेपछि भन्सार जाँचपास रोकिएको हो ।

भैरहवा भन्सार कार्यालय प्रमुख कमलकुमार भट्टराईका अनुसार क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण गर्ने प्रविधि कार्यालयसँग छैन । साथै, उनीहरु पनि उक्त परीक्षण पासको इजाजतबिनै भन्सार आइपुगेकाले जाँचपास गर्न कठिनाइ भएको छ । भैरहवा नाकामा आलु र प्याज बोकेका १२ वटा ट्रक रोकिएको भट्टराईले जानकारी दिए ।

पूर्वको काँकडभिट्टा नाकामा भने ताजा तरकारी तथा फलफुल बोकेका कुनै पनि सवारी नरोकिएको भन्सार कार्यालय प्रमुख टेकबहादुर अर्यालले जानकारी दिए । अर्यालका अनुसार पछिल्लो तीन महिनादेखि नाकामा कडाइ गरिएको छ ।

‘भन्सार जाँच पास हुने प्रक्रिया नपुगेका कुनै पनि ताजा तरकारी र फलफुल बोकेका सवारी यो नाकाबाट आएका छैनन्,’ अर्यालले भने ।

यता विराटनगर भन्सार कार्यालयमा भने अत्यन्तै न्यून संख्यामा जाँच पासका लागि तरकारी तथा फलफुल बोकेका सारी आएको भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार त्यस्ता सवारीसंग क्वारेन्टाईन र जीवनाशक विषादीको अवशेष परीक्षण रिपोर्ट नभएको र आफूहरुलाई त्यो गर्ने अधिकार नभएका कारण भन्सार जाँच पास रोक्नु परेको छ ।

सरकारी तयारी पुगेन

सरकारले ताजा तरकारी तथा फलफूल आयातमा कडाइ गरेपछि व्यवसायीको लगानी खेर जाने अवस्था बनेको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए । घिमिरेका अनुसार नेपाली कृषकको हितका लागि सरकारको नीति राम्रो भए पनि प्राविधिक तयारी नपुग्दा व्यवसायी मारमा परेका छन् ।

उनी भन्छन्, ‘सिजन अनुसारको तरकारी तथा फलफुल उत्पादनमा नेपाल आत्मनिर्भर नभएको अवस्थामा उताबाट आउने तरकारी पनि नेपाली व्यापारीले नै किनेर ल्याउने भएकाले सरकारले तत्काल गाँठो फुकाउन जरुरी छ ।’

कानुन कार्यान्वयनमा कडाइ

भन्सार विभागले भने क्वारेन्टाइन र जीवनाशक विषादी परिक्षणको प्रमाणपत्र नभएका ढुवानीका साधनको भन्सार पास नगरिने स्पष्ट पारेको छ ।

विभागका प्रवक्ता शिशिर घिमिरेले भने, ‘हामीले कानुन कार्यान्वयन गर्ने हो, त्यो कडाईसाथ गरिन्छ । क्वारेन्टाइन र जीवनाशक विषादी चाँचपासको व्यवस्था व्यवसायीले कसरी गर्छन्, त्यो उनीहरुको कुरा हो ।’

भन्सार कार्यालयहरुमा निकै ठूलो परिमाणमा तरकारी बोकेका धेरै सवारीहरु नआएको प्रवक्ता घिमिरेले स्पष्ट पारे ।

बजार भाउमा प्रभाव ?

अहिले तरकारीमा कागती, प्याज र आलु र फलफूलमा केरा, आँप, लिची, स्याउ मुख्य रुपमा भारतबाट आयात भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार समितिले जनाएको छ ।

समितिका अनुसार क्वारेन्टाइन र जीवनाशक विषादी चाँचपासमा कडाइ शुक्रबाबाट थालिए पनि बजार मूल्यमा खासै प्रभाव परेको छैन । मूल्य बढाएर कालोबजारी हुन सक्नतर्फ समिति सचेत रहेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment