Comments Add Comment

संसदीय समितिले सरकारलाई भन्यो : वर्षा लाग्यो, सचेत हुनू

९ असार, काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले वर्षायाममा बाढी पहिरोबाट हुन सक्ने जनधनको क्षतिप्रति सजग हुन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

सोमबार बसेको समिति बैठकले बाढी, पहिरो, नदी कटान, हवाहुरी, चट्याङ, महामारीजस्ता विपदबाट जनधन र स्वास्थ्यमा हुने जोखिमको आंकलन र विश्लेषण गरी सजग हुन मन्त्रालयलाई सचेत गराएको हो ।

‘वर्षायामको समय आइसकेको सन्दर्भमा बिभिन्न प्रकोपहरुबाट हुन सक्ने विपदका सम्भावित घटनाहरुबाट मानवीय एवं भौतिक क्षति न्युन गर्न पूर्व तथा आपतकालीन प्रतिकार्यलाई व्यवस्थित र मजबुद बनाउन जरुरी छ’ समितिको निर्णय सुनाउँदै सभापति शशी श्रेष्ठले भनिन् ।

विपदपछि तत्काल उद्धार तथा राहतका लागि सुरक्षा निकाय, विपद व्यवस्थापनसँग सम्बद्ध संघीय, प्रादेशिक र स्थानीय समिति तथा निकायहरुको अधिकतम परिचालन गर्ने वातावरण बनाउन पनि समितिले निर्देशन दिएको छ । त्यसका लागि विपद व्यवस्थापनको पूर्वतयारी तथा प्रतिकार्य योजना बनाई कार्यान्वयन गर्नुपर्ने समितिको भनाइ छ ।

प्राधिकरण गठन गर्न निर्देशन

ऐन बनेको २० महिनासम्म पनि राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण गठन हुन सकेको छैन ।
२०७४ कात्तिक ५ गते राष्ट्रपतिबाट प्रमाणिकरण भएको विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा १० गृहमन्त्रालय अन्तर्गत एक राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण रहने उल्लेख छ ।

विपद् व्यवस्थापनसम्बन्धी क्रियाकलापको प्रभावकारी रुपमा सञ्चालन तथा व्यवस्थापन गर्न प्राधिकरणको परिकल्पना गरिए पनि गठन नभएपछि समितिले चासो देखाएको छ ।

सोमबार बिहान सिंहदरबारमा बसेको समितिको बैठकले ‘राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण’ यथाशीघ्र गठन गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।

वास्तविक हावाहुरी पीडित छुटेका छन् : समाजवादी पार्टी

समाजवादी पार्टीले बारा र पर्सामा केही वास्तविक हावाहुरी पीडित लाभग्राहीको सूचीमा छुटेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

२०७५ चैत १७ गते साँझ बारा र पर्सामा गएको हावाहुरीले १४ सय ५३ पीडितको घर पूर्ण रुपले क्षति गरेको तथ्याङ्क छ । सोही अनुसार हावाहुरी पीडितका लागि सरकारले नेपाली सेनामार्फत घर निर्माण गरिरहेको छ ।

तर, केही पूर्ण क्षति भएका घरधनीको नाम छुटेको उल्लेख गर्दै समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादवले यसतर्फ ध्यान दिन गृहमन्त्रालयलाई आग्रह गरे ।

‘हामी भनिरहेका छौं हावाहुरी प्रभावित क्षेत्रमा गएर पुनः निरीक्षण होस् भनेर । जो पीडित छन् ती छुट्न भएन’, यादवले समिति बैठकमा भने, गृहमन्त्रीज्यू, सचिवज्यू यहाँ हुनुहुन्छ । म यसबारे ध्यानाकर्षण गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment