+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

कोपनहेगनबाट कांग्रेसको कोसेली : के भन्छन् विश्वप्रकाश ?

‘खर्च कति भयो भन्दा पनि परिणाम के आयो भन्ने कोणबाट हेरिदिनुपर्‍यो’

बसन्त रानाभाट बसन्त रानाभाट
२०७६ असार १० गते १७:४७

१० असार, बार्सिलोना । डेनमार्कमा नेपाली कांग्रेसले आयोजना गरेको विश्वस्तरीय प्रशिक्षण भेला सकेर प्रायः नेताहरु नेपाल प्रस्थान गरिसकेका छन् ।

कोपनहेगन विमानस्थलबाट फर्कंदै गर्दा हामीले कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई सोध्यौं– डेनमार्क प्रशिक्षण भेलामा के कस्ता गतिविधि भए ?

जवाफमा शर्माले मूलतः यसमा तीनवटा विषयमा छलफल भएको बताए । पहिलो, विश्वव्यापी रुपमा फैलिएको नेपाली डायस्पोराले नेपालको समृद्विमा के भूमिका खेल्न सक्छ, डायस्पोराका चुनौती के छन् र त्यसमा सहकार्य कसरी हुन सक्छ भन्नेबारे छलफल भयो ।

त्यसैगरी ग्लोबल वार्मिङको प्रभाव र त्यसमा नेपालजस्तो अल्पविकसित राष्ट्रको भूमिका के हुन सक्छ भन्नेबारे छलफल भएको शर्माले संश्लेषण गरे । तेस्रो चाहिँ यहाँको ‘साइन्टिफिक प्यानल’बाट युरोपेली समाजवादको अनुभव, स्वास्थ्यमा डेनिस अनुभव, कृषिमा उनीहरुले कुन ढंगले प्रगति गरेका छन् भन्नेबारे आफूहरुले सिकेको उनले बताए ।

प्रवक्ता शर्माले अनलाइनखबरसँग भने, ‘हामी यहाँ सुनाउन मात्र आएनौं, बरु धेरै कुरा सुनेर, समग्रमा सिकेर फर्किंदै छौं ।’

प्रस्तुत छ, कांग्रेस प्रवक्ता शर्मासँग अनलाइनखबरका युरोप संयोजक वसन्त रानाभाटले गरेको कुराकानीको सम्पादित अंश :

तपाईले युरोपेली समाजवादको कुरो गर्नुभयो । स्क्याडिनेभियन क्षेत्रमा भएको समाजवादको मोडेलबारे कार्यक्रममा डेनमार्कका पूर्वसांसद तथा विज्ञहरुले सम्वोधन गरेको भन्ने पनि सुनियो । कांग्रेसले के सिक्न जरुरी रहेछ ?

उहाँहरुले समाजवादको आजको यात्रा तय गर्दैगर्दा निजी क्षेत्र र राज्यवीचको समन्वयको विषय, सहकारी र राज्यको समन्वयवीचको विषय, व्यक्तिको सम्प्रभुता र राज्यको प्रधानभूमिकाको विषय, यी सन्दर्भहरुमा समाजवादमा पुग्दैगर्दा उहाँहरुले स्वास्थ्य, शिक्षामा कसरी प्रगति गर्नुभयो ? भन्ने कुरा हाम्रा सन्दर्भमा निकै महत्वपूर्ण छन् ।

किनभने, हामीले एकातर्फ राज्यको दायित्व शिक्षा र स्वास्थ्य भन्छौं नै । सँगैमा पञ्चायती व्यवस्था जाँदैगर्दा केवल १२ अर्ब रुपैयाँ छाडेर गएको पञ्चायतको ढुकुटीको बलमा हामीले तत्कालै राज्यको संग्लग्रतामा मेडिकल कलेजहरु भन्दा उपस्वास्थ्य चौकी खोल्न सक्थ्यौं । त्यसैले नेपाली कांग्रेसले गाउँमा उपस्वास्थ्य चौकी पुर्‍याउने कुरालाई समाजवादको जिम्मेवारी अन्तर्गत सम्पादन गर्‍यो । तर, निजी क्षेत्रलाई के गर्‍यो भन्दाखेरि तिमी चाउचाउ कति उत्पादन गर्छौ ? कति स्टिल उत्पादन गर्छौ ? रक्सी कति उत्पादन गर्छौ ? तिमी मेडिकल कलेजमा आउ भनेर प्रोत्साहित पनि गर्‍यो । अहिले नेपालमा यही विषय एकखालको द्वन्दको विषय भएको छ ।

त्यसकारण हामीले समाजवादमा पुग्दै गर्दाखेरि शिक्षा र स्वास्थ्य समग्ररुपमा नागरिकको राज्यको जिम्मेवारी त हुनुपर्छ । तर, निजीक्षेत्रलाई पनि त्यसलाई सँगसँगै गाँसेर कसरी व्यवस्थापन गरेर जाने भन्ने विषय हाम्रो सन्दर्भमा उहाँहरुले विगतमा गरेको अनुभव उपयुक्त थियो ।

यस्तै कृषिको सन्दर्भमा, चाहे इजरायलको अनुभव होस् वा डेनमार्कको । उत्पादनको शैली र प्रविधिबारे हामीले सिक्न जरुरी छ । डेनमार्कले आफूले उपभोक्ताका लागि आवश्यकता भन्दा तीन गुणा बढी उत्पादन गरेर बाहिर पठाउन पनि सक्छ । त्योखालको प्रविधि के हो त ? भन्नेबारेमा साइन्टिफिक प्यानलमार्फत सिक्ने, सुन्ने र बुझ्ने अवसर पायौ ।

विदेशमा रहेका नेपाली विज्ञहरुको अनुभव ‘साइन्टिफिक प्यानल’ मार्फत सुनेको त बताउनुभयो । तर, अब उनीहरुलाई नेपालसँग जोड्न तपाईको पार्टीले कस्तो भूमिका खेल्छ त ?

वास्तवमा तपाईले यो महत्वपूर्ण विषय उठाउनुभयो । विश्वस्तरीय प्रशिक्षण अन्तरक्रिया हुँदै गर्दा हामीले दिएको मूलनारा ‘नेपालका लागि एक बनांै विश्वभरिका नेपाली’ भन्ने थियो । म आफूले यही विषयवस्तुमा कार्यपत्र नै प्रस्तुत गरेको थिएँ । नेपालको समृद्विमा डास्पोराको भूमिका के हुन सक्छ ? चुनौती के हुन् भन्ने विषयमा कार्यपत्र केन्द्रित थियो ।

त्यसमा गाँस्दै गर्दा ब्रेन ड्रेन हिजो भयो अब ब्रेन गेनको कुरा पनि हामीले उठाएका छौं । त्यो भनेको भौतिकरुपमा नै सबै फर्कनुपर्छ भन्ने पनि होइन । तर, नेपालका लागि बाँच्नुपर्छ भन्ने मनोविज्ञानको विषय हो ।

संसारको वल्लो छेउमा रहेर पनि नेपालको सन्दर्भमा बौद्धिक लगानी गर्न सक्छौं । नेपालमा पुँजीगत लगानी मात्रैभन्दा डायस्पोराको अपमान हुन्छ । डायस्पोरासँग पैसा छ, बैंक नै हो भन्ने ढंगले राज्यले सोच्नुहुँदैन । डायस्पोरासँग सीप पनि छ, ज्ञान पनि छ र बौद्विकता छ । विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका वैज्ञानिकहरु, डाक्टरहरु, नीति निर्माताहरु हुनुहुन्छ । उहाँहरुसँग नेपालको समृद्विका लागि कुशल मष्तिष्क छ भन्ने राज्यले सोच्नुपर्छ ।

देशले निम्तो कार्ड पठाउला, अनि मात्रै मेरो बौद्विक लगानी गरौंला भनेर यहाँहरुले पनि सोच्नुहुँदैन । संसारको वल्लो कुनामा रहेर पनि नेपालमा बौद्धिक तथा भौतिक लगानी गर्नुपर्छ भन्ने कोणबाट हामीले यो विषयवस्तुलाई विश्वव्यापी छलफल गरेका हौं । एउटा प्रतिपक्षी दलले सम्भवतः प्रतिपक्षमा रहेर पनि संसारभरका नेपालीहरुलाई गाँसांै भन्ने मनोविज्ञान लिएर जाने विषय अति नै महत्वपूर्ण छ भन्ने लाग्छ ।

डायस्पोराको बौद्विकतालाई जोड्न अहिलेको सरकारले खेलेको भूमिकाबारे चाहिँ तपाई के टिप्पणी गर्नुहुन्छ ?

यसमा म बिल्कुलै सन्तुष्ट छैन । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले अघिल्लो महिनामात्र बेलायतमा बोल्दै गर्दा उहाँले के भन्नु भयो भने, अब सबै नेपाल फर्कनुहोस् । आदर्शको दृष्टिकोणले त सुन्दा मजै आउला । तर, व्यवहारको दृष्टिकोणले फर्कौं भन्दै गर्दा सरकारले पहिले नेपालभित्रै रहेकाहरुलाई व्यवस्थापन गर्न सक्नुपर्छ ।

नेपालबाट बाहिरिनु ‘पुस फ्याक्टर’ हो । र, बाहिर भएकालाई तान्नु ‘पुल फ्याक्टर’ हो । नेपालको अधिकार, नेपालको हिंसा, नेपालको बेरोजगारी यी नघटाउँदासम्म बाहिर जानेक्रम नै रोकिँदैन । बाहिरिने क्रम रोकिए पो बाहिर रहेका नेपालीहरुलाई आऊ भन्दा पनि सहज हुन्छ । अहिले नै ५० लाखको संख्यामा रहेका नेपालीहरु नेपाल आए भने के गर्लान् ?

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम जस्ता कार्यक्रमहरु ल्याइरहेको छ त ?

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कहीँ एउटा गाई धपाउन चार जना प्रयोग भएका छन् । कोही बेल्चा हातमा बोकेर मकै गोड्ने काममा प्रयोग भएका छन् । नाला सफा गर्ने काममा प्रयोग भएका छन् । बाहिर रहेको ठूलो संख्या नेपाल फर्कियो भने के काममा प्रयोग हुन्छ ? त्यसैमा प्रयोग हुन्छ ।

यसो भन्दै गर्दा बाहिर भएका जनशक्ति नेपाल फर्कन आकर्षित हुँदैनन् । त्यसैले हाम्रो अपिल के हो भने नेपालभित्र मेचीदेखि महाकालीको सीमानामा फैलिएको एउटा नेपाल छ । जोसँग भूगोल पनि छ, भावना पनि छ । नेपालदेखि बाहिर अर्को नेपाल छ ।

त्यो भनेको जोसँग भूगोल छैन, तर भावनाको नेपाल छ । यी दुईवटै नेपाललाई गाँस्नु, दुरी घटाउनु र सँगसँगै लिएर जाने सामार्थ्य वा शासकीय योग्यता नेपालको समृद्विको प्रधान आधार हो । यो विषयमा लाग्नुपर्थ्यो तर सरकार त्यो दिशामा गएको छैन ।

त्यसो भन्दै गर्दा कांग्रेस पनि त विगतमा थुप्रैपटक सरकारमा थियो नि ? उसले चाहिँ किन गर्न सकेन यी काम ?

हो कांग्रेस सरकारमा रहेको कालखण्डमा मुलुकमा हिंसा थियो होला, अस्थिरता थियो होला । मुलुकमा शान्ति स्थापना गर्नु थियो । संविधान निर्माणमा जुट्नुपर्‍यो । चुनाव गर्नु थियो होला । अब त त्यो च्याप्टर सक्कियो । अहिले त अर्कै राजनीतिक परिस्थितिमा आएका छौं । अब त बाहिर र भित्रको नेपाललाई सँगसँगै गाँसेर समृद्विको दिशामा अगाडि बढ्नु सक्नुपर्छ । कम्तिमा त्यो संकेत त दिन सक्नुपर्‍यो नि ।

फेरि, डेनमार्क प्रशिक्षण भेलाकै कुरा गरौं । पार्टीमा कम्युनिस्टलाई समेत भित्र्याउनुपर्ने बेलामा हामीलाई नै बाहिर बनाइयो भन्ने केही प्रतिनिधिहरुको असन्तुष्टि सुनियो नि ?

साथीहरुको फरक मतलाई म सम्मान गर्छु । तर, कसैलाई तिमी सभापति हौ आऊ, तिमी सभापति होइनौ नआऊ, भनेका छैनौं । प्रष्ट के भनेका थियौं भने कांग्रेसको १३ औं महाधिवेशनमा सहभागी सबै प्रतिनिधिहरुका लागि भनेर पत्राचार गरेका थियौं । कुनै ठाउँमा जनसम्पर्क समितिहरुको विवाद थियो होला, त्यो आफ्नै ठाउँमा छ । तर, केही व्यवहारिक कारणले आउनुभएन होला, कसैको केही गुनासो रह्यो होला । तर, प्रशिक्षण भेलामा ठूलो संख्यामा साथीहरुको उपस्थिति रह्यो, यो आफैंमा महत्वपूर्ण छ ।

एनआरएनले पनि नेपाल बाहिर यति धेरै देशहरुको उपस्थितिमा अहिलेसम्म सम्मेलन गरेको छैन । अन्य राजनीतिक दलहरुले पनि यस्ता गतिविधि गरेका छैनन् । तर, हामी यसमा सफल भएका छौं । हामीले पार्टीका विषयहरु मात्रै पनि उठाएनौं । ग्वोबल वार्मिङ्गको विषयमा गम्भीर ढंगले छलफलहरु भए ।

नेपालको समृद्विका लागि डायस्पोराको भूमिका बारे बहस भए । के त्यो कांग्रेसका लागि मात्र हो र ? एउटा प्रतिपक्षमा रहेको दलले यो भूमिकाको खोजी गर्दैछ भने यस्तो विषयमा छलफल हुँदा कसैले मैले निम्तो पाइनँ भन्ने कुरा बिल्कुल होइन । सबैलाई निम्ता गरिएको थियो, त्यसैले धेरै साथीहरुले सहभागिता जनाउनुभयो ।

तर, खाडी मुलुकहरुबाट त युरोपको डेनमार्क जस्तो महंगो देशमा प्रतिनिधिहरु आउन सकेनन् नि ? भिसा प्रक्रिया लगायतका विषयले पनि सहभागी बन्नबाट वञ्चित भए । यस्तो कार्यक्रम नेपालमा नै गर्नुभएको भए सबै समेटिने थिए कि ?

निश्चय नै तपाईंले सही भन्नुभयो । हो, खाडी मुलुकका साथीहरुले आउने कुराको सन्दर्भमा भिसा लगायतका प्रक्रियामा समस्या देखियो । त्यसकारण पनि सहभागी बन्न सक्नुभएन । यसलाई हामीले समीक्षा गरेका छौं ।

तर, के भने नेपालमा पनि गर्न सकिन्थ्यो वा खाडी मुलुकमा गर्न सकिन्थ्यो या युरोप अमेरिका गर्न सकिन्थ्यो । त्यहाँ किन भएन ? यहाँ किन भयो भन्नेखालको कोणबाट हेर्ने हो भने हामी कहिल्यै पनि अग्रगतितर्फ जान सक्तैनौं । हामीले डेनमार्क किन रोज्यौ त ? केवल भूगोलको कुरा मात्र थिएन, भावनाको कुरा पनि थियो ।

नेपाली कांग्रेसले परिकल्पना गरेको लोकतान्त्रिक समाजवादको एउटा ज्वलन्त उदाहरण स्क्याडिनेभियन मुलुकहरु हुन् । जसमध्ये डेनमार्क मानव विकासको सकारात्मक दृष्टिले पनि अग्रपंक्तिमा छ । नेपाली कांग्रेसले बोकेको विचार, सिद्वान्त, दृष्टिकोण आर्दशहरुको सन्दर्भमा डेनमार्क उपयुक्त मुलुक हुन्छ भन्ने हामीले सोच्यौं । त्यसमा पनि डेनमार्कका अध्यक्ष वीरेन्द्रसिंह कार्की लगायतका साथीहरुले अग्रसरता देखाउनुभयो ।

के सुरुवात भयो भन्ने कोणबाट हेर्ने हो भने कार्यक्रम निकै महत्वपूर्ण रह्यो । लामो यात्रा पहिलो पाइलाबाट सुरुवात भएको छ । कार्यक्रम निकै उपलब्धिमूलक छ । ऐतिहासिक रह्यो ।

र अन्त्यमा, एक दर्जन केन्द्रीय नेताहरुसहित २ सयबढी प्रतिनिधिहरु कोपहेगनको रिचमण्ड होटलमा ३÷४ दिनसम्म बस्नुभयो । ठुलै खर्च भएको सजिलै अनुमान गर्न सकिन्छ । यसको स्रोत चाहिँ के हो ?

नेपाली कांग्रेस पार्टीले कार्यक्रम आयोजना गर्दैगर्दा सहभागी हुने साथीहरुलाई आ–आफ्नो खर्चमा आउन सुचित गरेको थियो । नेपाली कांग्रेस केन्द्रीय कार्यालयको, केन्द्रीय समितिको, नेपाल सरकारको, कुनै पनि संस्थाको, अन्तराष्ट्रिय डोनर एजेन्सी कसैको पनि रकम यसमा प्रयोग भएको छैन ।

र, अर्को कुरा खर्च कति भयो भन्ने कोणबाट भन्दा पनि परिणाम के प्राप्त भयो, छलफल के भयो ? भन्ने कोणबाट हेरिदिनुपर्‍यो । व्यक्तिगत खर्चमा साथीहरु आउनुभयो, व्यक्तिगत खर्चमै फर्कनुभयो । उहाँहरु सबै सम्मानयोग्य हुनुहुन्छ, जसले यत्तिको चासो राख्नुभयो । पार्टीले निम्त्याउँदै गर्दा आफ्नै खर्चमा उभिएर आउने क्षमता राख्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?