Comments Add Comment

गर्मी रापमा कसरी शरीरलाई सीतल बनाउने ?

अहिले गर्मीको मौसम छ । यो मौसममा आफूलाई स्वस्थ र फिट राख्नका लागि हामीले धेरै कुरा गर्नै पर्दैन । केही सामान्य कुरामा ध्यान दिन सकियो भने गर्मीबाट सहजै पार पाउन सकिन्छ । गर्मीबाट बच्ने केही काइदा यस्ता छन् ।

– सफा तथा स्वच्छ पानी प्रशस्त मात्रामा पिउनुपर्छ ।

– दही, लस्सी, मोही, जुस, राइता तथा दहीमा काक्रो, केरा, खरबुजा आदि फलफूल राखेर खान सकिन्छ । यसले खाना स्वादिलो हुनुको साथै पानीको मात्रा पनि पुर्‍याएर शरीरमा शक्ति प्रदान गर्छ ।

– यो मौसममा नरिवलको पानी पनि पिउनु अत्यन्त लाभदायी हुन्छ । यसको सेवनले शरीरमा शीतलता प्रदान गर्नुका साथै महत्वपूर्ण खनिज पदार्थ पनि पाइन्छ ।

– आलुबखडा, आरु, भुँइकटर, आँप, नास्पाती, केरा खरबुजा र अन्य फलफूल खानुपर्छ ।

– मौसमी तथा हरिया सागसब्जी हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्नुपर्छ ।

– यो मौसममा फलफूल पनि खान सकिन्छ । फलफूलमा डाइटरी, फाइबर, भिटामिन ए, भिटामिन सी, एन्टि अक्सिडेन्ट तथा अन्य खनिज पदार्थ जस्तो म्याग्नेसियम, पोटासियम, फस्फोरस आदि पाइन्छ ।

– यति बेला एक मुठ्ठी ड्राई फुट्स ओखर, बदाम, काजु पनि खान सकिन्छ ।

– पुदिना तथा कागती पानी पिउनु पनि यो मौसममा लाभदायी हुन्छ ।

– गर्मी मौसममा पीरो तथा अमिला खानेकुरा जिब्रोका स्वाद तथा रिप|mेसका लागि खाने गरिन्छ । यस्ता खानेकुराले बाहिरी तापक्रम अनुसार शरीरको भित्रि तापक्रम पनि बढाइ शरीरमा तापक्रमको सन्तुलन गराउँछ ।

– अमिला खानेकुराहरु (कागती वा अन्य फलफूलहरू) र पीरो (हरिया खुर्सानी) ले हाम्रो शरीरका लागि आवश्यक अन्य पौष्टिक तत्वहरू पनि प्रदान गर्दछ ।

– ताजा खाद्य स्रोतबाट प्राप्त अमिलो वा पिरो खानेकुराले स्वस्थ मानिसको स्वास्थ्यमा कुनै असर गर्दैन तर विभिन्न रोगको समस्या छ भने पोषणविदसँग परामर्श गरेर मात्र खानु प्रभावकारी हुन्छ ।

– शरीरको तापक्रम ठीक राख्नका लागि पानी आवश्यक हुन्छ । यो मौसममा कति पानी पिउने भन्ने कुरा स्थानमा निर्भर रहन्छ । स्वस्थ मानिसले यो मौसममा २ देखि ३ लिटरसम्म पानी पिउनु पर्छ । बढी तापक्रम हुने र पसिना बढी आउने ठाउँमा भने ५ लिटरसम्म पिउनु उपयुक्त हुन्छ ।

– पानीको मात्रा कम गर्नु पर्ने बिरामीको लागि भने चिकित्सक तथा पोषणविद्को सल्लाह अनुुसार लिनु उपयुक्त हुन्छ ।

पसिना गन्हाउँछ ?

गर्मी मौसममा शरीरबाट पसिना निस्कनु सामान्य कुरा हो । जति धेरै पसिना आयो, त्यति नै उक्त व्यक्ति स्वस्थ हुन्छ भन्ने आम मान्यता समेत छ । शरीरबाट पसिना निस्कनु शरीरका लागि आवश्यक कुरा पनि मानिन्छ । शरीरमा भएको बिकार समेत पसिनाकै रुपमा शरीरबाट बाहिर निस्कन्छ । पसिनाले शरीरको तापक्रमलाई सन्तुलनमा समेत राख्छ । यद्यपि, आवश्यकता भन्दा बढि पसिना आएर शरीर तथा पहिरन नै दुर्गन्धित हुन सक्छ ।

अधिकांश व्यक्तिहरु पसिना गन्हाउने समस्याबाट पीडित छन् । पसिना गन्हाउने कारणले संगै बस्ने व्यक्तिले असहज महसुस गरिरहेको हुन्छ । आवश्यकताभन्दा बढि पसिना आउने समस्यालाई हाइपर हाइड्रोसिस भनिन्छ ।

वंशाणुगत कारण, धेरै गर्मी भएमा तथा व्यायाम गर्दा समेत पसिना आउँछ । यसबाहेक कुनै-कुनै रोगका कारण, कमजोर भएको बेला पनि शरीरमा पसिना आउँछ । यसबाहेक थाइराइड ग्रन्थी आवश्यकताभन्दा बढि सक्रिय भएको बेला पनि पसिना आउने गर्दछ ।

शरिरको बाहिरी भागमा भएको मृत छालाको पत्रलाई पसिनाले ओसिलो बनाउँछ ।  त्यहीँबाट दुर्गन्ध उत्पन्न हुन्छ । पसिना आउन नदिन शितलमा बस्नु पर्छ । नियमित नुहाउनु पर्छ । गर्मी मौसममा धेरै फलफूल सेवन गर्नु पर्छ । धेरै बेर भोकै नबस्ने, मसलादार खानेकुरा नखाने गर्नाले पसिना आउने समस्याबाट छुटकारा पाउन सकिन्छ । यसबाहेक गर्मी मौसममा बढि मात्रामा दही सेवन गर्नाले पनि धेरै पसिना आउने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment