Comments Add Comment

एसियाका बाख्रा विज्ञको सम्मेलन चितवनमा हुने

१३, असार, चितवन । चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयमा एसियाली क्षेत्रीय बाख्रा विज्ञ सम्मेलन हुने भएको छ ।

विश्वविद्यालय अन्र्तगत पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायको आयोजनामा आगामी कार्तिक ३ गतेदेखि ६ गतेसम्म विश्वविद्यालयको बहुउद्देश्यीय भवनमा सम्मेलन हुने संकाय डिन प्रा.डा. शारदा थपलियाले पत्रकार सम्मेलन गरेर जानकारी दिइन् ।

सम्मेलनमा १४ देशमा बाख्रा अनुसन्धान तथा विकासका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउन सफल वैज्ञानिक, अनुसन्धानकर्ताहरु सहभागी हुनेछन् । सम्मेलनमा नेपालमा बाख्रा विशेषज्ञ, पशु क्षेत्रमा काम गरिरहेका विज्ञ, उद्यमी र किसानहरुको सहभागिता रहने उनले बताइन्

सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, चीन, क्यूवा, अमेरीका, क्यानडा, इटाली, जापान, हंगेरी, चीन, इन्डोनेशिया, बंगलादेश, फ्रान्स र केन्या देशका बाख्रा विषेशज्ञ सहभागी हुनेछन् ।

चारदिनसम्म चल्ने सम्मेलनमा खाद्य तथा पोषणको स्रोत बाख्रा, बाख्रा उत्पादनका नीति, सामाजिक आर्थिक तथा मूल्य श्रृङ्खला र विकास, बाख्राको आहार, पोषण तथा वासस्थान व्यवस्थापन, आनुवंशिकी, प्रजनन् तथा जैविक प्रविधि व्यवस्थापन विषयमा कार्यपत्र पेश हुनेछ । त्यस्तै स्वास्थ्य व्यवस्थापन तथा रोग नियन्त्रण, बाख्राजन्य उत्पादनको प्रशोधन प्रविधिसम्बन्धी करीव ७ वटा विशेषज्ञ, २१ वटा आमन्त्रित, ३५ वटा मौखिक एवम् ५२ बढि पोष्टरहरु गरी जम्मा ११५ भन्दा बढी कार्यपत्रहरु प्रस्तुत गरिने सम्मेलनका सदस्य सचिव डा. निराजन भट्टराईले जानकारी दिए ।

सम्मेलनमा बाख्रापालन व्यवसायको विश्वव्यापी चुनौतीका रुपमा रहेको पीपीआर रोग र त्यसको नियन्त्रण जस्ता विभिन्न विषयमा समूहगत छलफल गरिने डा. भट्टराईको भनाइ छ ।

सम्मेलनमा अन्तर्राष्ट्रिय बाख्रा एसोसिएशनका अध्यक्ष डा. वेथ मिलर, आगामी बर्ष हंगेरीमा हुने अन्तर्राष्ट्रिय बाख्रा विज्ञ सम्मेलन २०२० को आयोजक समितिका अध्यक्ष डा. सान्डोर कुकोभिक्स, चीनको हेवई कृषि विश्वविद्यालय डीन प्रा.डा.यिङ्गजी झाङ, जापानको मिजो विश्वविद्यालयका प्रा.डा. योशिहाकी हायासी लगायतका विषेशज्ञ सहभागी हुनेछन् ।

विकासशील विश्वमा खाध्य तथा पोषण सुरक्षाका लागि बाख्रापालन भन्ने मूल नाराका साथ हुने सम्मेलनले चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा बैज्ञानिक बाख्रापालनको नमूना राष्ट्रिय अनुसन्धान तथा स्रोत केन्द्र बनाउने दीर्घकालीन उद्देश्य लिएको कार्यक्रम संयोजक प्रा.डा. शारदा थपलियाले जानकारी दिइन् ।

नेपालमा के छ बाख्राको अवस्था ?

पशु सेवा विभागको तथ्याङ्क अनुसार नेपालका चौपाया पशुहरुको कुल संख्यामध्ये बाख्राको संख्या सबैभन्दा धेरै करीव १ करोड १६ लाख रहेको अनुमान छ । विश्वमा करीव ३५१ प्रजातिका बाख्रामध्ये एशिया महादेशमा मात्रै १४६ प्रजातिका बाख्रा पाइन्छन् । नेपालमा ४ प्रजातिका रैथाने बाख्रा छन् ।

हिमाली भेगमा २ देखि ३ प्रतिशत च्याङ्ग्रा, उच्च पहाडी भेगमा सिनहाल १५ प्रतिशत, मध्यपहाडी क्षेत्रमा ५० प्रतिशत खरी र बाँकी तराई बाख्रा तराइ क्षेत्रमा पाइने गरिन्छ । नेपालमा पाइने बाख्राको ३५ प्रतिशत उन्नत जातका बाख्रा छन् ।

पछिल्लो समयमा नेपालमा सानन् जातका बाख्रा दुध र चीजका लागि प्रयोग गर्न पाल्न थालिएको छ । यस्तो बाख्राले दिनमा २.५ लिटरदेखि ३ लिटरसम्म दुध दिन्छ । नेपालमा बोर जातको बाख्रालाई व्यवसायिक रुपमा पाल्ने अभियान चलेको छ । यसबाट बढि फाइदा हुने भएकोले व्यवसायिक किसानहरु यसतर्फ आर्कषित हुन थालेका छन् ।

विश्वको कुल बाख्राको संख्याको करीव ९२.५ प्रतिशत एशिया र अफ्रिका महादेशमा पाइने बाख्रा विज्ञ डा. निराजन भट्टराईले जानकारी दिए । विश्वव्यापी बाख्रापालनको तथ्याङ्क हेर्दा संख्याको आधारमा नेपाल विश्वमा दशौं स्थानमा छ । पहिलो स्थानमा चीन र दोस्रोमा भारत पर्दछन् ।

व्यापार तथा निर्यात प्रर्वद्धन केन्द्रको २०७४/०७५ को तथ्याङ्क अनुसार नेपालमा गत बर्ष भारत, मलेसिया, इटाली, फ्रान्स, अष्ट्रेलिया, पोल्याण्ड र जर्मनी लगायतका देशबाट करीव ५ अर्ब बराबरको जीवित बाख्रा र मासु आयात भएको छ ।

जसमध्ये ३ अर्व २९ करोड वरावरको जीवित बाख्रा र १८ करोडको मासु र १ अर्ब ८३ करोड बरावरको माछा आएको देखिन्छ ।

‘नेपालमा व्यवसायिक बाख्रापालनको प्रचुर सम्भावना छ, तर परम्परागत पालन प्रणाली, बाख्रा विशेष दाना उपलब्ध नहुनु, उन्नत घाँस खेती नहुदा समस्या देखिन्छ’ बाख्रा विज्ञ डा. निराजन भट्टराईले भने ‘वैज्ञानिक र व्यवसायिक बाख्रापालन, नश्ल सुधार, मूल्य श्रृखला विकास, उत्पादन विविधिरण, र दिगो बजार व्यवस्थापन गर्न सके बाख्राको मासुमा हामी आत्मनिर्भर बन्न सक्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment