Comments Add Comment

पोखरामा यसरी मनाइँदै छ रोपाइँ महोत्सव

१५ असार, पोखरा । आज असार १५ अर्थात धान दिवस, पोखरामा रोपाइँ महोत्सवका रुपमा मनाइँदै छ । रोपाइँ महोत्सवमा रमाउन सयौं स्थानीय तथा देशी-विदेशी पर्यटक पोखरामा छन् ।

यसपटक पनि पोखरा-१७ महतगौंडामा रोपाइँ महोत्सव भइरहेको छ । असारे १५ मा हल गोरु दौडाउने, हिलो छ्यापाछ्याप गर्दै रमाउने, हिलोमै माछा समाउने, दही चिउरा खानेको भीड महतगौंडामा लागिरहेको छ । पोखरा पर्यटन परिषदले बर्सेनि असार १५ लाई पोखराका विभिन्न फाँटमा रोपाइँ महोत्सवका रुपमा मनाउँदै आएको छ ।

महतगौंडा विरुवाफाँटमा किसान ऋषिराम भण्डारीको करिब ४ सय रोपनी खेतमा हिलोमा रमाउनकै लागि देशीविदेशी पर्यटन जम्मा भएका छन् । हिलोमा रमाउन ठूलो संख्यामा पर्यटकहरु पुग्ने गरेका छन् । यसपटक पनि ५ सयभन्दा बढी पर्यटक हिलोमा रमाउने आयोजक पर्यटन परिषदको भनाइ छ ।

अमेरिकाको रोट्रेडम युनिभर्सिटीबाट प्रत्येक साल यही मौका पारेर पाहुनाहरु आउने गरेका छन् । जापान, सिंगापुर, चीन, जर्मन, इटाली, फ्रान्सलगायतका देशका पर्यटक पनि हिलोमा रमाउन आइपुगेका छन् । हिलोमा रमाउन र यहाँको परम्परागत खेती प्रणालीको अनुभव लिन पनि विदेशी पर्यटन आउने गरेका छन् ।

धान रोपाइँ नदेखेका र हिलोमा नखेलेकाहरु त्यसमा रमाउँदैनन् मात्र, अभ्यास पनि गर्छन् । आजभन्दा १६ वर्षअघि जतिबेला पोखरामा त्यति ठूलो संख्यामा पर्यटक आउँदैनथे । त्यसमा पनि असारदेखि भदौसम्मको महिनालाई पर्यटकीय अपसिजन मान्ने गरिएको छ । ‘पोखरा सबै मौसमका लागि’ नाम दिएर रोपाइँ महोत्सवको परिकल्पना गरिएको थियो ।

हल गोरुको दौड, असारे गीत तथा रोपाइँ प्रतियोगिता, महिला, पुरुषको हिलो दौड, विदेशी पर्यटक र पत्रकारको अर्को दौड प्रतियोगिता, हिलोमै हुने रस्साकस्सी रोपाइँ महोत्सवका विशेषता हुन् । असारे गीत, दही चिउरा र विभिन्न खानाका परिकार र सांस्कृतिक कार्यक्रमले महोत्सवलाई रोनक थप्ने आयोजक पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए ।

महोत्सवलाई सफल बनाउन अध्यक्ष पोखरेलकै संयोजकत्वमा १९ सदस्यीय मुल आयोजक समिति र १८ वटा उपसमिति गठन गरिएको सचिव डिल्लीप्रसाद गौतमले जानकारी दिए । महोत्सवमा रमाउने पाहुनाका लागि आचारसंहितासमेत बनाइएको छ । जसले उच्छृंखल गतिविधि हुन नदिने आयोजकको दाबी छ ।

गोरु दौड प्रतियोगितामा प्रथम हुनेले ५ हजार र द्वितीय, तृतीय र सान्त्वनाले क्रमश ३ हजार, २ हजार र १ हजार रुपैयाँ प्राप्त गर्ने छन् । असारे गीत तथा रोपाइँ प्रतियोगितामा पनि त्यति नै राशीको पुरस्कार राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment