Comments Add Comment

किन साँघुरिए साझाका नयाँ बस ?

१७ असार, काठमाडौं । सोमबार काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाको सेयर स्वामित्वमा खरिद भएका २० बसहरु साझा यातायातलाई हस्तान्तरण गरियो । हस्तान्तरण गरेको भनिए पनि यो बसको सबै खरिद प्रक्रिया साझा यातायातले नै पूरा गरेको थियो ।

साझाले नै काठमाडौं ल्याइएका यी बसहरुले सोमबारबाटै सेवा थालेका छन् । त्यसको औपचारिकता दिन मात्रै सोमबार कार्यक्रम गरेर बसको सेवा उद्घाटन गरिएको थियो ।

तर, बस सडकमा गुड्न थाल्ने बित्तिकै सर्वसधारणले प्रश्न गरेका छन्, ‘नयाँ बस पहिलेभन्दा सानो किन ?’

काठमाडौंमा ठूला बसको युग सुरु गरेको साझा यातायात अब ‘माइक्रो बस’ को युग सकाउनुपर्ने लबिङमा छ । यसैबेला साझाले पहिलेभन्दा सानो बस ल्याएको छ ।

साझा याताययातका कार्यकारी निर्देशक भुषण तुलाधर भन्छन्, ‘हो, यसपटक हामीले पहिलेभन्दा सानो बस ल्याएका छौं ।’

यसअघिका साझाका बसहरु करिब १२ मिटर लामा थिए । तर, यसपटक करिब १० मिटर लामो मात्रै बस आएका छन्, बसको चाैडाई पनि साँघुरिएको छ ।

रोचक पक्ष के भने बसमा सिट संख्या घटेको छैन । ४० वटै सिट छन् । अपांगमैत्री चेयर राख्ने स्थान पनि छ ।

तर, बसमा बीच भागको खाली स्थान र सिटबीचको दूरी घटेको छ । यसले पहिलेको बसहरुमा जत्तिको सुविधानजनक यात्रा गर्न नसकिने गुनासो यात्रुहरुको छ ।

किन घटाइयो आकार ?

साझाका बसहरु निकै लोकप्रिय छन् । ठूलो आकारको हुने भएकाले यसमा उभिएरै यात्रा गर्न पनि त्यति सकस हुँदैन । नयाँमा भने पहिलेका लटका बसमा जस्तो सजिलोसँग यात्रा गर्न नसकिने देखिन्छ ।

काठमाडौंका सडकहरुमा साझाले ठूला बस ल्याएपछि धेरै निजी कम्पनीले पनि त्यसलाई पछ्याएका छन् । उनीहरु पनि साझाकै जत्रो बस ल्याउने होडबाजीमा लागेका छन् । यस्तो अवस्थामा साझालाई किन आफैंले बसको आकार घटाएर ल्याउनुपर्ने अवस्था आयो होला भन्ने जिज्ञाशा उठ्छ ।

साझा भने शहरी क्षेत्रको सडकको अवस्था हेरेर बसको आकार केही घटाइएको तर्क गर्छ । ‘लामो हुँदा कतिपय रुटका बसलाई मोडहरुमा अप्ठोरो भयो, त्यसैले सिटको संख्या नघटाई बसको आकार घटाएर स्पेसिफिकेसन तयार गरेका थियौं,’ कार्यकारी निर्देशक तुलाधर भन्छन्, ‘त्यसै अनुासर पहिलो भन्दा केही छरिता खालका बस आएका छन्, यसले भित्री शहरी सडकमा गुड्न पनि अप्ठेरो पर्दैन ।’

क्षमता पनि कम 

साझाका अधिकारीहरु यो पटकको साझा बसको इन्जिनको क्षमता पनि पहिलेभन्दा कम रहेको बताउँछन् । उनीहरुका अनुसार यसअघि ६ सिलिन्डरको इन्जिन भएका बसहरु ल्याइँदै थियो । यसपटक साझाले ४ सिलिन्डर इन्जिनियुक्त बस ल्याएको छ । तर, शहरी सडकमा यस्ता बसले राम्रो पर्फमेन्स गर्ने दावी साझाको छ ।

‘४ सिलिन्डर भएका बसले ६ सिलिन्डरको सबभन्दा कम तेल खपत गर्छ,’ ती अधिकारीले भने, ‘त्यसैले हाम्रो सञ्चालन खर्च घटाउन पनि पहिलेभन्दा कम क्षमताको बस ल्याएका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment