Comments Add Comment

यूनेस्कोको चासो काठमाडौंको भवन निर्माण संहितामा, टोली अनुगमनमा आउने

२३ असार, काठमाडौं । संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को)ले विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं उपत्यकाभित्रका सम्पदालाई एक वर्षसम्म ‘खतराको सूची’मा नराख्ने निर्णय गरेको छ ।

यूनेस्कोको चासो रहेका विषयमा गम्भीर हुन नेपाललाई एक वर्षको समय प्राप्त भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले बताए ।

सचिव सापकोटाले अजरबैजानको बाकुमा जारी वर्ल्ड हेरिटेज कमिटीको ४३ औं सेसनमा नेपालको प्रतिनिधित्व गरेका थिए । नेपालबारे छलफल सकिएपछि उनको नेतृत्वको सरकारी टोली सोमबार नेपाल फर्किएको छ ।

‘यूनेस्कोको मूख्य चासो उपत्यकाभित्रका महानगरपालिकाहरुले बनाएको भवन निर्माण संहितामा रहेको छ,’ उनले भने, ‘यसबाहेक पुनर्निर्माणमा आधुनिक निर्माण सामग्रीको प्रयोगका सम्बन्धमा पनि प्रश्न उठाइएको थियो ।’

सापकोटाका अनुसार नेपालका तर्फबाट विश्व सम्पदा क्षेत्रमा भवन निर्माण संहितालाई सम्पदामैत्री बनाउने र पुनर्निर्माणमा परम्परागत निर्माण सामग्रीलाई नै जोड दिने सम्बन्धमा भएका कामबारे सेसनलाई जानकारी गराइएको थियो । त्यसबाहेक अहिलेसम्म विश्व सम्पदा क्षेत्रमा रहेका २ सय ५० सम्पदाको पुनर्निर्माण सम्पन्न भएको र ४० निर्माणाधिन सम्पदाको पुनर्निर्माण सन् २०१९ भित्रै सम्पन्न हुने जानकारी नेपालले गराएको उनले बताए ।

यूनेस्कोको टोली ५/६ महिनापछि नेपाल आउने भएको छ । त्यसबेला अहिले कमिटीले दिएको सुझाव कार्यान्वयनसहित समग्र सम्पदाको अडिट गर्ने र उक्त टोलीले दिने प्रतिवेदनका आधारमा आगामी वर्षको सेसनले नेपालका सम्बन्धमा अन्तिम निर्णय गर्ने निर्णय बैठकले गरेको हो ।

कमिटीको ४३ औं सेसनमा काठमाडौं उपत्यकालाई विश्व सम्पदा सूचीमा ‘खतराको सूची’मा राख्ने प्रस्ताव एक एजेण्डाका रुपमा प्रस्तुत भएको थियो । काठमाडौं उपत्यकाका सम्पदाको सम्बन्धमा गत बिहीबार छलफल भएको हो । यूनेस्कोले लामो समयदेखि सम्पदा संरक्षणमा उचित ध्यान दिन नसकेको भन्दै काठमाडौं उपत्यकाभित्रका सम्पदालाई खतराको सूचीमा राख्ने चेतावनी नेपाललाई दिइरहेको थियो ।

काठमाडौं उपत्यकामा पशुपतिनाथ मन्दिरसहित बौद्धस्तुपा, स्वयम्भू, काठमाडौं, पाटन र भक्तपुर दरवार स्क्वायर तथा चाँगुनारायण मन्दिर विश्व सम्पदा सूचीमा सूचीकृत छन् । ३० जुनदेखि शुरु कमिटीको ४३औं सेसन १० जुलाइसम्म बाकुमा चल्दैछ ।

नेपालबारे भएको छलफलमा नेपाल पुनर्निर्माणको चरणमा रहेको र अहिले नै खतराको सूचीमा राख्दा विश्व समुदायबाट हुने सहयोग प्रभावित हुने भन्दै कतिपय देशले नेपालको पक्षमा बहस गरेका थिए ।

सरोकारवालासँग छलफल गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यूनेस्कोबाट प्राप्त सुझाव तथा चासोका सम्बन्धमा छिट्टै सरोकारवाला निकायसँग छलफल गर्ने भएको छ ।

‘यो हामीले मात्र गर्न सकिने विषय होइन, स्थानीयहरुको प्रत्यक्ष भूमिका हुन्छ,’ सापकोटाले भने, ‘अब सरोकारवालालाई छलफलमा बोलाएर यूनेस्कोको चासोबारे जानकारी दिन्छौं ।’ सोही छलफलपछि संयुक्त रुपमा कसरी काम गर्न सकिन्छ भन्ने सम्बन्धमा रणनीति बनाइने उनको भनाइ छ ।

काठमाडौं उपत्यकामा भूकम्पले भत्काएका सम्पदा पुनर्निर्माणको क्रममा छन् । त्यस पुनर्निर्माणका क्रममा निर्माण सामग्रीको विवाद अहिले पनि उठ्ने गर्छ । समग्र पुनर्निर्माण पनि सुस्त गतिमा छ । पशुपतिनाथ क्षेत्रमा सडक निर्माणदेखि अन्य पूर्वाधार निर्माण विवादित बन्ने गरेको छ ।

अहिले विश्वका १६७ मुलुकका १ हजार ९२ वटा धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदा विश्व सम्पदा सूचिमा सूचीकृत छन् । त्यसमध्ये ५४ वटा सम्पदा खतराको सूचीमा परिसकेका छन् । सन् २०१९ का लागि नेपालको काठमाडौं उपत्यकासहित बंगलादेश, बुल्गेरिया, अल्वानीया, मेक्सिको, इराकका ६ वटा सम्पदा खतराको सूचीमा राख्ने गरी प्रस्ताव गरिएका थिए ।

यस वर्ष ३६ वटा नयाँ सम्पदालाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्ने प्रस्तावबारे छलफल भइरहेको छ । त्यसमध्ये २९ सम्पदाले सूचीमा नयाँ प्रवेश पाइसकेका छन् । दुई वटा सम्पदा खतराको सूचीबाट बाहिर निस्कने गरी प्रस्ताव गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment