Comments Add Comment

सम्पत्ति विवाद नमिलाई त्रिविले रामपुरमा इन्जिनियरिङ अध्यापन गराउँदै

२५ असार, चितवन । चितवनको रामपुरमा रहेको कृषि तथा वनविज्ञाान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका बीचमा सम्पत्तिको स्वामित्व हस्तान्तरण विवाद कायमै रहेका बेला त्रिविले रामपुरमा इन्जिनियरिङ क्याम्पस सञ्चालन गर्ने तयारी गरेको छ ।

त्रिवि अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थालने रामपुरमा चितवन इन्जिनियरिङ क्याम्पसको नाममा विद्यार्थी भर्ना गर्न भन्दै प्रवेश परीक्षा आब्हान गरेको छ ।

आगामी साउन २० गते प्रवेश परीक्षा लिने भन्दै त्रिविले विद्यार्थी भर्नाको सूचना निकालेपछि विवाद झनै बढ्ने देखिएको छ ।

त्रिविलाई कलेज खोल्न भन्दैं विश्वविद्यालय अनुदान आयोगले १ करोड रकम दिने भएको छ । त्रिविले रामपुरमा यस वर्ष बिई कम्प्युटर र बिई सिभिलतर्फ ४८/४८ सिट गरी ९६ सिटका लागि भर्ना आब्हान गरेको हो ।

पछि इन्जिनियरिङ्ग विधाका १६ वटा कार्यक्रम र शिक्षक र विद्यार्थीहरुलाई आवासीय रुपमा नै राखेर पढाउने भावी योजना त्रिविको छ ।
साउनदेखि कक्षा सुरु गर्न हाल रामपुरको कर्बड हललाई प्रशासकीय भवन बनाएर काम अगाडि बढाउने तयारी छ ।

त्रिविले एकलौटी ढंगबाट भरतपुर महानगरसँगको सहकार्यमा रामपुरमा इन्जिनियरिङ क्याम्पस सञ्चालन गर्ने तयारी गरेपछि कृषि तथा वनविज्ञान विश्वविद्यालयले आपत्ति जनाएको छ ।

कृषि तथा वनविज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. ईश्वरीप्रसाद ढकालले त्रिविले मन्त्रिपरिषद्को निर्णय र भएको सहमतिको उल्लघन गरेको टिप्पणी गरे ।

सम्पत्ति हस्तान्तरण सम्बन्धी विवाद समाधानका लागि त्रिविले कुनै पहल नगरी हठात रुपमा कलेज सञ्चालन गर्न खोजेको भन्दै उनले असहमति जाहेर गरे ।

कृषि तथा वनविज्ञान विश्वविद्यालयले हेटौंडामा बनाउन लागेको वन संकायको भवन निर्माणको काम त्रिविले हालै रोक्ने प्रयास गरेको थियो ।

प्रदेश ३ का मूख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेको भवन निर्माणको काम रोक्न त्रिविले दवाव दिएको कृषि तथा वनविज्ञान विश्वविद्यालयले जनाएको छ ।

तर, मुख्यमन्त्री र हेटौडा उपमहानगरपालिका कार्यालयको सहजीकरणमा भवन निर्माणको काम अघि बढेको कृषि तथा वनविज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. ईश्वरीप्रसाद ढकालले जानकारी दिए ।

२०६७ सालमा कृषि तथा वनविज्ञान विश्वविद्यालय स्थापना भएसँगै सुरु भएको विवाद अझैं पनि समाधान भएको छैन ।

सम्पत्ति हस्तान्तरण सम्बन्धी विवाद तत्कालीन प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेला मन्त्री परिषद् निर्णयबाट टुंगो लगाए पनि व्यवहारिक रुपमा अझै मिलेको छैन ।

राष्ट्रिय योजना आयोगका तत्कालीन सदस्य गीताभक्त जोशीको संयोजकत्वमा विवाद समाधान गर्न गठित समितिको प्रतिवेदन र सुझावका आधारमा विवाद समाधानको बाटो मन्त्रीपरिषद् निकाले पनि अहिलेसम्म व्यवहारिक रुपमा त्यो लागू भएको छैन ।

रामपुरमा रहेको ३३५ विगाहा जमीन मध्ये ४० विगाहा जमीन त्रिविलाई इन्जिनियरिङ कार्यक्रम सञ्चालन गर्न दिने बाँकी एएफयूले राख्ने र हेटौडामा रहेको १५७ विगाहा जमीन मध्ये ६० विगाहा एएफयूलाई दिने र बाँकी ९७ विगाहा त्रिविले राख्ने सहमति भएको थियो ।

रामपुरको ३३५ विगाहा मध्ये २० विगाहा ६ कठ्ठा जग्गा धुर्मस सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि दिइएको छ ।

जग्गा दिने विषयमा दुवै विश्वविद्यालयका उपकुलपतिहरुले सहमति गरेका छन् । रंगशाला बनाउन दिने जग्गामा त्रिविले पाउने ४० विगाहाबाट कति दिने र कृषि तथा वनविज्ञान विश्वविद्यालयले पाउने जग्गाबाट कति दिने भन्ने विषय अझैं टुंगो लागेको छैन ।

हेटौंडामा दुबै विश्वविद्यालय वन कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । दुवै विश्वविद्यालयलाई थप भौतिक संरचना निर्माण गर्न १५/१५ करोड दिने र एएफयूलाई त्रिविबाट समायोजन भएर आएका कर्मचारी र प्राध्यापकको दायित्व लिनका लागि वाषिर्क १० करोड रकम दिने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।

हेटौंडाबाट कृषि तथा वनविज्ञान विश्वविद्यालय गठन सम्बन्धी संसदबाट पास भएको ऐनमा त्रिविले सञ्चालन गर्दै आएको रामपुरको कार्यक्रमसहित सबैं लिगलिगापात र हेटौंडाको सबै संरचनासहितको दायित्व एएफयूले लिने उल्लेख छ । त्रिविले अनावश्यक बखेडा झिकेर दुःख दिएको आरोप एएफयुले लगाएको छ ।

त्रिविले उपकुलपति प्रा.डा. तीर्थ खनियाँको गाउँ नजिक पूर्वी चितवनको खैरहनी नगरपालिकामा कृषि कार्यक्रम बिएससी एजी सञ्चालन गरिरहेको छ । रामपुरमा अहिले त्रिविका कुनै पनि कार्यक्रम सञ्चालनमा छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment