Comments Add Comment

‘राष्ट्रिय चलचित्र पुरस्कार–२०७५’मा विपिन र स्वस्तिमा उत्कृष्ट नायक–नायिका

वि.सं २०७५ सालको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा निर्देशक तुलसी घिमिरेलाई नगद ३ लाख ५१ हजार र सम्मानपत्र सहित ‘चलचित्र दीर्घ साधना सम्मान’बाट सम्मानित गरिएको छ । राष्ट्रपति भवन शित्तल निवासमा आयोजित कार्यक्रममा २०७५ सालमा रिलिज भएका चलचित्रहरु मध्ये विभिन्न ११ विधामा ‘राष्ट्रिय चलचित्र पुरस्कार’ प्रदान गरिएको थियो ।

जसमा, उत्कृष्ट चलचित्रको पुरस्कार ‘गोपी’ले जित्न सफल भयो । यस्तै, ‘उत्कृष्ट निर्देशक’तर्फ ‘बुलबुल’बाट बिनोद पौडेलले पुरस्कार प्राप्त गर्दा ‘उत्कृष्ट अभिनेता’को पुरस्कार विपिन कार्कीले चलचित्र ‘प्रसाद’बाट प्राप्त गरे । विपिनले सोही कार्यक्रममा ‘राष्ट्रिय चलचित्र पुरस्कार–२०७३’का लागि ‘उत्कृष्ट अभिनेता’को पुरस्कार पनि प्राप्त गरेका थिए ।

यस्तै, ‘उत्कृष्ट अभिनेत्री’तर्फ स्वस्तिमा खड्काले चलचित्र ‘बुलबुल’बाट पुरस्कार प्राप्त गरिन् । उत्कृष्ट सम्पादनको विधामा चलचित्र ‘साँइली’का लागि निमेष श्रेष्ठले पुरस्कार प्राप्त गर्दा उत्कृष्ट छायांकनतर्फ भने ‘समर लभ’बाट संजय लामाले राष्ट्रिय चलचित्र पुरस्कार जितेका छन् ।

उत्कृष्ट लेखन विधामा कथातर्फ दिपेन्द्र लामा चलचित्र ‘गोपी’बाट पुरस्कार जित्दा यही चलचित्रबाट पटकथा तथा संवाद विधामा सामिप्यराज तिमिल्सिनाले पुरस्कार जिते । उनीहरुलाई कार्यक्रमकी प्रमुख अतिथी राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कार प्रदान गरेकी थिइन् ।

यस्तै, जुरी प्रोत्साहन सम्मानबाट चलचित्र ‘भोर’बाट कलाकार पूजा कर्णलाई पुरस्कार प्रदान गरियो । ‘चलचित्रको व्यापार, विस्तार तथा प्रवद्र्धन सम्मान’ गतबर्षको सर्वाधिक कमाई गर्ने चलचित्र ‘छक्का पन्जा ३’को निर्माण ब्यानर आमा सरस्वती मुभिजलाई प्रदान गरियो । उत्कृष्ट चलचित्र(आदिवासी, जनजाति, विभिन्न मातृभाषी)को पुरस्कार रिजे नासाँले प्राप्त गरेको छ ।

विजेता चलचित्रकर्मीलाई नगद २१ हजार र ट्रफी प्रदान गरिएको छ । कार्यक्रममा चलचित्रको विभिन्न कालखण्डका उत्कृष्ट गीतहरुमा आधारित रहेर नृत्य प्रस्तुत समेत गरिएको थियो । कार्यक्रममा बोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले चलचित्र क्षेत्रले देशको कला, संकृतीको विकास र विस्तारका लागि काम गर्नुपर्ने बताइन् । यस्तै, उनले सरकारले मनाउन लागेको ‘भिजिट नेपाल–२०२०’लाई सफल बनाउन चलचित्रकर्मीलाई आग्रह पनि गरिन् ।

कार्यक्रमममा विशिष्ट अतिथी संचार, सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइले अर्को बर्ष शित्तल निवास भन्दा बाहिर भव्य रुपमा अवार्ड आयोजना गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment