Comments Add Comment

तपाईंको गाँसमा भ्रष्टाचारको अन्न त परेको छैन ?

मानौं तपाईंलाई कसैले भोजका लागि आमन्त्रण गरेका छन् । तपाईं भोजमा सामेल हुनुहुन्छ । मिठोमसिनो खानुहुन्छ । मदिरापान गर्नुहुन्छ । रमाइलो गर्नुहुन्छ । तर, उनले के सन्दर्भमा भोज आयोजना गरेका हुन् ? किन उनले तपाईंहरुसँग खुसी साट्न चाहे ?

हुनसक्छ, आफ्नो पेशामा उनको स्तरोन्नती भयो । हुनसक्छ, आफ्नो व्यवसायमा उनले सोचेजस्तै मुनाफा आर्जन गर्‍यो । हुनसक्छ, उनले कुनै नयाँ अवसर प्राप्त गर्‍यो । हुनसक्छ, उनलाई मुड चल्यो ।

यी अवस्थामा रमाइलो गर्नु मन लाग्छ । साथीभाई, आफन्त निम्त्याएर मिठोमसिनो ख्वाउन मन लाग्छ । यद्यपी हामी कसैको निमन्त्रणा स्विकारेर पाहुना बन्नुअघि सोचौं कि, उनले कसैलाई डुबाएर, कसैलाई रुवाएर, कसैलाई लुटेर, कसैलाई दबाएर आयआर्जन गरेपछि पो भोजभत्तेर लगाउँदैछ कि ?

अहिले समाजमा भ्रष्ट बढेका छन् । धेरैले भ्रष्टचार गरेर सम्पति थुपारेका छन् । उनको भान्सामा आइपुग्ने खानेकुरा त्यही पैसाले खरिद गरिएको हुन्छ । अरुलाई रुवाएर, डुबाएर, चित्त दुखाएर आर्जन गरेको ति खानेकुरा आफैमा अपवित्र हुन्छ ।

त्यसैले चोरेर, ढाँटेर, छलेर, लुटेर कमाउने व्यक्तिको घरमा खाना खानु स्वस्थ्यकर मानिदैन । कस्तो व्यक्तिको घरमा खाना खान हुँदैन भनेर हाम्रो शास्त्रले प्रष्ट रुपमा बताइसकेको छ । शास्त्रले भन्छ, त्यस्ता व्यक्तिले आर्जन गरेको र त्यस्ता व्यक्तिको घरमा पाकेको खानेकुरा सेवन गर्दा आफ्नै शरीर पनि अपवित्र हुन्छ ।

शास्त्रमा लेखिएको छ, ‘चोर, अपराधी, भ्रष्टचारीको भान्सामा पाकेको खानेकुरा सेवन गर्नु हुँदैन । उनीहरुको भान्सामा पाकेको खानेकुरा खाँदा त्यसको नकारात्मक असर हाम्रो शरीरमा पनि पर्छ ।’

खाना मात्र होइन, खाना बनाउने मान्छेको मनोदसाले पनि खानामा प्रभाव पार्छ । प्रशन्न भएर, हार्दिकतापूर्वक, दत्तचित्तले पकाइएको खानेकुरा शरीरका लागि सुपाच्य र स्वस्थ्यकर हुन्छ । क्रोधको अवस्थामा, मनमा कुविचार राखेर, खराब मनासयले पकाएको खानेकुरा शुद्ध हुँदैन ।

आफ्नै हातको खाना सर्वोत्कृष्ट

हाम्रा पितापूर्खाले सिकाएका छन्, आफुले ग्रहण गर्ने भोजन संभव भएसम्म आफ्नै हातले पकाएको हुनुपर्छ । अझ आफैले उत्पादन गरेको अन्न, आफैले पकाएर खानुलाई राम्रो मानिन्छ ।

आफैले उत्पादन गरेको खानेकुरासँग हामी भावनात्मक रुपमै जोडिएका हुन्छौं । त्यो हाम्रो विशुद्ध श्रम, सीपको उत्पादन हुन्छ । त्यसमा हाम्रो पसिना र मेहनत मिसिएको हुन्छ । हुन त हामीलाई लाग्छ, अन्नसँग भवनात्मक सम्बन्ध भएर के हुन्छ ? अन्नपात भनेको निर्जीव कुरा हुन् ।

तर, त्यही अन्नपातले हामीलाई जीवित राख्छ । हाम्रो प्राण बचाउँछ । जब हामी प्रकृतिबाट कुनै अन्न ग्रहण गर्छौं, पृथ्वीको एक अंश हाम्रो शरीरमा प्रवेश गर्छ । प्रकृति र हाम्रो शरीर भिन्न होइनन् । कुनै न कुनै रुपमा जोडिएका छन् । जब हाम्रो मृत्यु हुनेछ, हाम्रो निर्जीव धर्तीमै मिल्छ । माटो हुन्छ ।

यसको अर्थ के भने प्रकृति र हाम्रो शरीर आपसमा जोडिएका छन् । प्रकृतिको हावा, प्रकृतिको अन्न, प्रकृतिको पानी हाम्रो शरीरले ग्रहण गर्छ ।

त्यसैले त भनिएको छ, यस्तो अन्न ग्रहण गर्नुपर्छ, जसमा विशुद्ध श्रम र पसिना मिसिएको होस् । हुन त अहिले हामी बजारमुखी छौं । खेतीपाती गर्ने फुर्सद छैन । खेतीपाती गर्ने जग्गाजमिन पनि छैन । आफैले उत्पादन गरेर खाने प्रचलन व्यापक रुपमा घटेको छ । अधिकांश मान्छे अरुकै अन्नपातमा निर्भर भएर बाँचेका छन् ।

हामी बजारमुखी छौं । बजारमा आइपुग्ने खानेकुराको शुद्धतामाथि ढुक्क हुन सकिदैन ।

त्यसैले संभव भएसम्म आफैले उत्पादन गरेको खानेकुरा सेवन गर्नु राम्रो हो । आफ्नो छाक टार्नका लागि धेरै जग्गाजमिनको आवश्यक पनि हुँदैन । आफ्नो घर वा आफु बसेको घरको कौसी, बार्दली, छत वा कुनै खाली ठाउँमा पनि सागपात उब्जाउ गर्न सकिन्छ । भलै यसले हाम्रो सम्पूर्ण खाद्यन्नको माग धान्न सक्दैन, तर केही मात्रामा भएपनि हामीले आफ्नै पसिना र श्रमको खानेकुरा त खान पाउँछौं ।

मानौं, आफैले उत्पादन गरेर खान संभव भएन । यद्यपी आफ्नै भान्सामा आफैले पकाएको खानेकुरा सेवन गरौं । बजारको खानेकुराले शरीरलाई रोगको भण्डार बनाइदिन्छ । त्यसैगरी जथाभावी खानेकुरा सेवन नगरौं । भ्रष्टचार गर्ने, छल-कपट गर्ने, लुट्नेको घरमा गएर खानपान नगरौं ।

शुद्ध कमाईले, हार्दिक मनले दिएको खानेकुरा सुपाच्य, स्वदिष्ट र स्वस्थ्यकर हुन्छ । भ्रष्टचारीले चौरासी ब्यान्जन पकाएपनि उक्त खानामा कतिको आँशु, पीडा मिसिएको हुन्छ । त्यस्तो खाना अस्वस्थ्यकर हुन्छ ।

अन्नदाताप्रति कृतज्ञ

हाम्रा पितापूर्खाले खाना खानुअघि थोरै खाना र पानी प्रकृतिको नाममा चढाउने गर्थे । खाइसकेपछि केही अंश खाना छाड्थे । वास्तवमा यसो गर्नु अर्थपूर्ण छ ।

हामी जुन माटो, हावापानीबाट अन्न ग्रहण गर्छौं, त्यही अन्नले हाम्रो प्राणलाई बचाइराख्छ । यसरी आफ्नो प्राण बचाउने प्रकृति, धर्तीप्रति हामी कृतज्ञ हुनुपर्छ । कृतज्ञ भावले खानेकुरा सेवन गर्दा त्यो सुपाच्य पनि हुन्छ । किनभने कृतज्ञ अवस्थामा हाम्रो मन प्रफुल्ल हुन्छ । यो भनेको तनावरहित अवस्था हो । तनावको अवस्थामा मुटुमा दबाव पैदाइरहेको हुन्छ । रक्तप्रवाहमा अवरोध आइरहेको हुन्छ । प्रफुल्ल अवस्थामा भने सबै कुरा ठिकठाक हुन्छ । यसैले खानेकुरा सेवन गरिरहँदा कृतज्ञ, प्रफुल्ल, शान्त हुनुपर्छ भनिएको हो ।

अन्त्यमा केही अंश खाना छाड्ने संस्कार पनि छ हाम्रो । यसरी छाड्नुको अर्थ चाहि प्रकृतिलाई सन्तुलित बनाइराख्ने चराचुरुंगी, जीवजन्तु, किराफट्यांग्रा आदिका लागि हो ।

अतः हामी त्यही अन्नपानी सेवन गरिरहँदा कृतज्ञ हुन्छौं, जसमा विशुद्ध श्रम, मेहनत र उर्जा मिसिएको छ । लोभ, पाप मिसिएको अन्नपानीमा हामी कृतज्ञ हुन सक्दैनौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment