
३० असार, काठमाडौं । विश्वकप क्रिकेटको फाइनल भिडन्त यति रोमाञ्चक रह्यो कि इंग्ल्याण्ड र न्युजिल्याण्ड मध्ये कसले बाजी मार्छ अनुमानै गर्न गाह्रो रह्यो । कुनै बेला न्युजिल्याण्ड जित नजिक रह्यो त कुनै बेला इंग्ल्याण्ड । अन्ततः बाउन्ड्री गनेर घरेलु टोली इंग्ल्याण्डले उपाधि उचाल्यो ।
इंग्ल्याण्डमा रोमाञ्चक खेल भइरहँदा वीरगञ्जमा करोडौंको सट्टेबाजी भएको भेटिएको छ । अनलाइनमार्फत भएको सट्टेबाजीमा एउटै व्यक्तिले ३ लाख रुपैयाँसम्म बाजी थापेका थिए ।
जिल्ला प्रहरी कार्यालय, पर्साले पक्राउ गर्न सफल आशिषकुमार वर्णवाल र निरज तिवारीको समूहले मात्रै डेढ करोडको सट्टेबाजी गराएको प्रमाण भेटिएको छ । पर्सा प्रहरी प्रमुख सोमेन्द्रसिंह राठौर भन्छन्, ‘उनीहरुको साथबाट बरामद मोबाइलमा त्यति कारोबार भएको भेटिएको हो । अरु डिलिट गरिसकेका रहेछन् ।’
सट्टेबाजी गर्नेहरु पक्राउ परेको थाहा पाउनासाथ विदेशी एजेन्टले एकाउन्टमा कारोबार शून्य बनाउने गर्छन् । त्यसैले पुरानो कारोबारको विवरण भेटिँदैन ।
प्रहरीकाअनुसार वीरगञ्जबाट पक्राउ परेका वर्णवाल र तिवारीले फुटबल, क्रिकेटसहित अन्य खेलमा बाजी लगाउँदै आएका थिए । ‘हामीले बरामद गरेको रेकर्ड आइतबार भएको फाइनल खेलको मात्र हो’, प्रहरी उपरीक्षक (एसपी) राठौरले अनलाइनखबरसँग भने, ‘त्यसमा २७ जना सहभागी भएको देखिएको छ ।’
राठौरका अनुसार सट्टेबाजीमा संलग्न सबै वीरगञ्जकै हुन् । प्रहरीसमक्ष बयानका क्रममा उनीहरुले भर्खरै सट्टेबाजी सुरु गरेको दाबी गरेपनि अघिल्ला खेलमा समेत यो टोली सक्रिय रहेको बताइन्छ । सट्टेबाजमा संलग्नले स्काइप आईडीमार्फत बाजी राखेकाले खेलमा कोको संलग्न थिए भन्ने खुलेको छैन ।
कसरी हुन्छ बेटिङ ?
प्रहरीकाअनुसार अन्तर्राष्ट्रिय खेलहरुमा बेटिङ गर्ने विभिन्न गिरोह नेपालमा सक्रिय छन् । नेपालमा सट्टेबाजी भित्र्याउने श्रेय अमृत अग्रवालउर्फ नागराजलाई जान्छ । उनी उच्च अदालत, पाटनको फैसलाले पुर्पक्षका लागि थुनामा छन् ।
उनैबाट सिको गर्दै विभिन्न समूहले सट्टेबाजीको धन्दालाई निरन्तरता दिइरहेका छन् । वीरगञ्जबाट समातिएका वर्णवालको पनि काठमाडौंका केही सट्टेबाजसँग कनेक्सन देखिएको अनुसन्धान अधिकृत स्रोत बताउँछ ।
उनले भारतमा रहेका एक एजेन्टसँग मिलेर सट्टेबाजी खेलाउने गरेका थिए । सट्टेबाजी खेलाउने गिरोहका नाइकेले लण्डन, यूएई लगायतका देशबाट सञ्चालिन विभिन्न सट्टेबाजी खेलाउने वेबसाइटको एकाउन्ट बनाउँछन् । वर्णवालले चाहिँ ‘स्काइ इन प्ले’ नामक वेवसाइटमार्फत बेटिङ गराउने गरेको देखिन्छ । भारतका एजेन्टले उनलाई त्यसको सब–एकाउन्ट बनाइदिएको भेटिएको छ ।
भारतीय एजेन्टले एकाउन्ट बनाइदिएपछि दुई जनाले विभिन्न खेलमा बेटिङका लागि व्यक्ति खोजेर सट्टेबाजीको धन्दा चलाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अनुसन्धान अधिकृतका अनुसार बीबीएस अध्ययनरत तिवारीलाई वर्णवालले रकम उठाउने सहयोगीको रुपमा प्रयोग गरेका थिए । ‘सम्बन्धित व्यक्तिलाई रकम पुर्याइदिने र संकलन गर्ने काम तिवारीलाई दिइएको थियो’, प्रहरी स्रोत भन्छ ।
जुत्ता–चप्पलको ब्यापार गर्ने वर्णवालले सट्टेबाजीको आर्थिक कारोबार भने हुण्डीबाट गर्ने गरेका थिए । ‘एकाउन्ट बनेपछि ५ हजारदेखि १० हजारसम्म वा एजेन्टको अनुकुलता अनुसार सानासाना रकम भारतमा रिपोर्ट बिनै बाजी खेलाइन्छ’, एक सुरक्षा अधिकृत भन्छन्, ‘रकम लाखमा हुँदा वा त्योभन्दा बढी हुँदा नेपालको मुख्य एजेन्ट वा भारततिरका एजेन्टलाई त्यो रकम पठाउने गरिन्छ ।’
सानो रकममा हारे पनि जिते पनि आफैं कारोबार गर्ने सर्त हुने गरेको पाइएको छ । अन्य एजेन्टलाई रकम पठाएवापत उनीहरुले निश्चित प्रतिशत कमिसन पाउँछन् ।
के हुन्छ कारबाही ?
कानुन अभावमा करोडौंको सट्टेबाजीमा संलग्न पनि थोरै धरौटीमा छुट्ने गरेका थिए । प्रहरीले जुवा ऐन अन्तरगत मुद्दा चलाउँदा पूर्वराष्ट्रिय फुटबल खेलाडी अञ्जन केसी लगायतको समूह दुई सय रुपैयाँ जरिवाना तिरेर छुटेको थियो ।
तर, १ भदौ २०७५ देखि जारी मुलुकी अपराध संहिताको सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूरले सट्टेबाजीलाई पनि समेटेको छ । जसअनुसार पहिलो पटक सट्टेबाजी खेल्ने/खेलाउनेलाई तीन महिनासम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ ।
दोस्रो पटक खेल्ने/खेलाउनलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसुरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ ।
प्रतिक्रिया 4