Comments Add Comment

बार्सिलोनामा किन गएनन् डी लिग्ट ?

२ साउन, काठमाडौं । युवास्टार माथिस डी लिग्टलाई भित्र्याउन बार्सिलोनाले ठूलै दौडधुप गर्‍यो । अन्य क्लब पनि थिए उनको पछि । तर डच क्लब आयाक्सका कप्तान डी लिग्ट जोडिए, युभेन्टसमा ।

विशेषगरी बार्सिलोना उनलाई भित्र्याउन चाहन्थे । यसको लागि प्रक्रिया पनि अघि बढाएको थियो । तर, उनी ६७.५ मिलियन पाउण्डमा विश्व चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डो रहेको टिम युभेन्टसमा पुगे ।

दुई वटा घरेलु लिगको उपाधि र च्याम्पियन्स लिगको सेमिफाइनलसम्म आयाक्सलाई पुर्‍याएका युवास्टार खेलाडी डी लिट आफैं बार्सिलोना जान चाहन्थे तर किन गएनन् ?

१९ वर्षका युवा खेलाडीले सनसनीपूर्ण प्रदर्शन गर्दै आयाक्स क्लबलाई उपाधि दिलाएपछि उनी सबैको नजरमा परेका थिए ।

डि लिग्टले बार्सिलोनासँग किन सम्झौता गरेनन् ? यसका केही कारणहरु छन् । जसमध्ये एक हो, तलब । उनका एजेन्ट मिनो रइओलाले बार्सिलोनासँग सम्झौताको लागि प्रत्येक वर्ष डी लिग्टलाई १२ मिलियन युरो दिनुपर्ने प्रस्ताव राखेका थिए । तर बार्सिलोनाले यति ठूलो राशिमा भित्र्याउन मानेन ।

डी लिग्ट बार्सिलोनासँग जोडिन नसक्नुको अर्को कारण हो, क्लबमा पर्‍याप्त सेन्टर–ब्याक । बार्सिलोनामा अहिले जिरार्ड पिके, क्लेमेन्ट लिनग्लेट, स्यामुएल उमटिटी र जियान क्लेइर टोडिबो रहेका छन् ।

बार्सिलोना आएको भए डी लिग्टले यी खेलाडीसँग प्लेइङ इलाभेनमा पर्न प्रतिस्पर्धा गर्नु पथ्र्यो । यस्तो अवस्थामा उनले मौका कप पाउने थिए भने अनुभवी खेलाडीको छायामा उनी पर्न सक्थे ।

त्यस्तै, बार्सिलोना अझै स्ट्राइकर लाइनलाई बलियो बनाउन चाहिरहेको थियो । उसको नजरमा एन्टोनी ग्रिजम्यानदेखि नेयमारसम्म थियो । अन्ततः यसै साता ग्रिजम्यानलाई बार्सिलोनाले ठूलो रकममा भित्र्यायो । बार्सिलोनाको ठूलो खेलाडीमा नजर जादा डी लिग्टलाई भित्र्याउने प्रक्रिया भने अगाडि बढेन ।

डी लिग्ट बार्सिलोना नपुग्नुको अर्को कारण हो, युभेन्टसको दृढता । इटालियन सिरि ए विजेता युभेन्टसले उनलाई भित्र्याउन ठूलै दौडधुप गर्‍यो । जसमा क्लब सफल पनि भयो ।

अनुबन्धनका लागि इटालीको टुरिन पुगेका डी लिग्टले भनेका छन्, ‘म यहाँ आएर खुसी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment