Comments Add Comment

आयुर्वेदको भण्डारमा बसेर हामी अस्पताल धाइरहेका छौं

तपाईं कुनै बनजंगलमा गएर एक मुठी झारपात उखेल्नुहोस्, तपाईंको पञ्जामा आउने अधिकांश झारपातमा औषधीय गुण छ । एक मुठी झारपातमा दर्जनथरी जडीबुटी पाइनेछ ।

पहाडको कुनै पाखोमा खोजनुहोस्, तपाईंकै आँखा वरीपरी जटामसी, चिराइतो, पाँचऔले, बनमूला, लालगेडी, चुथ्रो, ऐंसेलु, मजिटो देख्नुहुनेछ । यी सबै औषधिय गुणले भरिपूर्ण वनस्पति हुन् । हिमाली भेगमा पाइने यार्चागुम्बादेखि तराई भेगमा पाइने बर्रोसम्मको उच्च औषधिय मूल्य छ ।

हिमालयको स्वच्छ हावा वहने हाम्रो वायुमण्डलमा अनेकथरी बनस्पति छन्, जसमा केही न केही औषधिय गुण हुन्छ ।

४५ डिग्री तापमानको भूगोलदेखि सून्य तापमानसम्मको भूगोलमा कति-कति जडिबुटी छन् । हाम्रा पूर्खाहरुले यिनै जडिबुटीको उपयोगबाट आफुलाई निरोगी र बलियो बनाए । उनीहरुले यी बनस्पतिको पहिचान गरे, त्यसको अभ्यास गरे र कुन अवस्थामा कस्तो वनस्पति प्रयोग गर्ने भन्ने विधी पहिल्याए ।

पेट दुख्दा उनीहरु अस्पताल धाउँदैनथे, हात काट्दा औषधी खोज्दैनथे । हुन त त्यसबेला अस्पताल, औषधी सुलभ थिएन । यद्यपी अस्पताल नभएका कारणले मात्र होइन, हाम्रा पूर्खासँग जडिबुटीबारे उच्च चेत एवं ज्ञान थियो । त्यसैको आधारमा उनीहरुले जडिबुटीको अधिकतम प्रयोग गरे ।

दलबहादुर जिसी

तर, आज हामीले पूर्खाको ज्ञान र सीपलाई लत्याइयौं । आफ्नै घर-आँगनको वनस्पति पहिचान गर्न जानेनौं । त्यसको उपयोग गर्ने विधीबारे उत्सुकता जगाएनौं । कसरी निरोगी र खुसी जीवन विताउने भन्दा पनि रोग लागिसकेपछि उपचार गर्नुपर्छ भन्ने धारणा विकास भयो । हामी अस्पतालमुखी भयौं, उपचारमुखी भयौं, औषधीमुखी भयौं ।

अस्पताल, औषधी र उपचार बिना बाँच्नै नसक्ने भयौं । शरीरलाई कसरी निरोगी राख्ने भन्ने कुरामा लागेनौं । त्यही कारण आज गल्ली गल्लीमा अस्पताल खुलेका छन् । अस्पतालमा खचाखच रोगी भरिएका छन् । मान्छेले दालभात भन्दा बढी औषधी खान थालेका छन् ।

जहाँ पाइला पाइलामा औषधिय महत्वका वनस्पति छन्, त्यहाँ बासिन्दा उपचार खोज्दै देश-विदेशका अस्पताल चाहरिरहेका छन् । हामी जडिबुटीको भण्डारमा बसेर ऐयाअत्था भनिरहेका छौं ।

जबकी रोग लागेर होइन, निरोगी जीवन बाँच्नका लागि हामीसँग पर्याप्त स्रोत साधन छन् । तन्दुरुस्त र खुसी जीवन बाँच्नका लागि हामीसँग अनेक पद्धती छन् । तर, हामीले ति स्रोत साधनको उपयोग गरेनौं, ति पद्धतीलाई अंगालेनौं । आज हामी रोगी भयौं । हामीलाई उच्च रक्तचाप भयो, मधुमेह भयो, मोटोपन भयो, थाइराइड भयो, पक्षघात भयो, डिप्रेसन भयो । हामी रोगै रोगले थलिएर बाँचिरहेका छौं ।

हिजोको दिनमा सर्ने रोगले मान्छेहरु मर्थे । झाडापखला, हैंजाले मान्छेलाई मृत्युको मुखमा पुर्‍याउँथ्यो । आज त्यस्तो समस्या छैन । बरु नसर्ने रोगले हामीलाई थला पारेको छ । हामी बाँच्न त बाँचिरहेका छौं, तर रोगी जीवन बाँचिरहेका छौं ।

हामीले चाहेजस्तो खानेकुरा खान सकेका छैनौं । चाहेजस्तो जीवन बाँच्न सकेका छैनौं । मुख बार्नुपर्ने अवस्था छ । हाम्रो मेनुबाट थुप्रै खानेकुरा कटौती हुँदै गएको छ । हामी औषधीको भरमा मात्र प्राण धानिरहेका छौं । यी सबैको कारक भनेको हाम्रो खराब जीवनशैली र सुविधाभोगी शरीर हो ।

हामी व्यायाम गर्दैनौं, योग गर्दैनौं । मस्त खान्छौं, मस्त बस्छौं । ऐशआरम गर्छौं । यसरी कहिलेसम्म शरीरले धान्छ ?

रोगले शरीरलाई कब्जा गर्दै जान्छ । तब, हामी उपचारको खोजीमा भौतारिन्छौं । रोग लागिसकेपछि उपचार खोज्नुभन्दा रोग लाग्न नदिनु नै राम्रो हो । तर, रोग नलाग्दासम्म हामी विन्दास बाँचिरहेका हुन्छौं । मासु, रक्सी, चुरोट खाइरहेका हुन्छौं ।

रोग लागेपछि अस्पताल धाउँछौं, औषधी खान्छौं । अस्पताल र औषधीले पनि काम नगरेपछि बल्ल आयुर्वेदको शरणमा पुग्र्छौं । जब रोग अन्तिम चरणमा पुग्छ, तब हाम्रो हामीलाई आयुर्वेदको होश खुल्छ ।

हुनुपर्ने चाहि के हो भने, रोग लाग्नुअघि नै हामी आयुर्वेदको शरणमा पुग्नुपर्ने हो । हाम्रा जडिबुटीको पहिचान गर्नुपर्ने हो । उपयोग गर्नुपर्ने हो । योग, व्यायाम, ध्यान गर्नुपर्ने हो । यसरी निरोगी र खुसी जीवन बाँच्नुपर्छ ।

(लेखक धन्वान्तरी आयुर्वेदिक अध्ययन संस्थान एन्ड हस्पिटल बानेश्वर (थापागाउँका )का प्रवन्ध निर्देशक हुन्)  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment