Comments Add Comment

दुई महिनापछि सुरु भयो चितवनमा क्रिकेट रंगशाला निर्माण

७, साउन, चितवन । जेठ १५ गतेदेखि रोकिएको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम झण्डै दुई महिनापछि मंगलबार सुरु भएको छ ।

धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मसले विहान सिमसिमे पानीमा बेल्चा, गल र रड बोकेर रंगशाला निर्माणको काम सुरु गरे । मजदुरहरू काममा खटिएका छन् भने फाउण्डेसनको साइट कार्यालय पनि खुलेको छ ।

मंगलबार साँझ थप कामदारहरु साइटमा आइपुग्ने धुर्मुसले जानकारी दिए । निर्माणस्थलको सुरक्षाका लागि प्रहरी नायव निरीक्षकको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ ।

भरतपुर महानगरपालिका १५ रामपुरमा निर्माण थालिएको रंगशालाको तीनतर्फ जस्तापाताले घेरेर बार लगाइएको छ । पश्चिमतर्फ बाटोसम्बन्धी विवाद हुँदा जस्तापाताले घेरिएको छैन ।

मैदानका लागि रोपिएको दुवोको संरक्षण र हेरचाहका लागि नेपालकै वरिष्ठ क्यूरेट कोमलबहादुर पाण्डे चितवन आउँदैछन् । वर्षायाममा अरु काम हुन नसक्ने हुनाले झाडी हटाउने, कर्मचारी तथा मजदुर आवासको भवन बनाउने, त्यसको रंगरोगन गर्नेलगायतका काम गर्ने धुर्मुसले बताए ।

जेठ १५ गते स्थानीयको एउटा समूहले रंगशाला निर्माणस्थलको बारमा डोजर चलाएपछि फाउण्डेशनले काम गर्ने वातावरण नभएको भन्दै काम स्थगित गरेको थियो । जिल्लास्तरमा गठित रंगशाला निर्माण सहयोग समितिले वातावरण सहज भएको भन्दै काममा फर्किन फाउन्डेसनलाई अपिल गरेको थियो ।

दशैंअघि डीपीआर, तिहारपछि निर्माण

गत माघ १६ गते रंगशाला निर्माणका लागि चितवन आएको धुर्मस सुन्तली फाउण्डेसनले भदौभित्रै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुने र रंगशाला शिलान्यास गर्ने बताएको थियो । तर निर्माणमा अवरोध भएपछि डीपीआर निर्माणको काम एक महिना पछि धकेलिएको छ ।

फाउन्डेसनका अध्यक्ष धुर्मुसले दशैं अगाडि नै डीपीआर तयार हुने बताए । ‘दशैं अगाडि नै रंगशालाको डीपीआर आइसक्छ तिहारपछि काम धमाधम अघि बढ्छ’ उनले भने ।

डीपीआर निर्माणको काम नेपाल र भारतका दुई कम्पनीले संयुक्त रुपमा गरिरहेका छन् । नेपालमा क्रिएटिभ र भारतमा हफिस नामका कन्सल्टेन्सीले संयुक्त रुपमा काम गरिरहेका हुन् ।

वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को काम भने अन्तिम चरणमा पुगेको धुर्मुसले बताए । रकम संकलन भएमा दुई बर्षभित्रै रंगशाला निर्माण सक्ने प्रतिवद्धता भने यथावत रहेको धुर्मुस बताउँछन् ।

रकम संकलनमा तिब्रता

फाउन्डेसन र जिल्ला स्तरीय निर्माण सहयोग समितिले सहयोग घोषणा गरिएको रकम संकलनलाई तिब्रता दिने भएको छ । साउन ५ गते बसेको बैठकले बोलेको रकम उठाउने र थप रकम उठाउने अभियान नै सञ्चालन गर्ने निर्णय गरेको छ ।

झण्डै तीन अर्ब लाग्ने रंगशाला निर्माणका लागि सर्वसाधारणबाट ६ करोड रुपैयाँको प्रतिवद्धता आएको छ । रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले ६ करोड ४५ लाख र प्रदेश नं तीन सरकारले ५ करोड रुपैयाँ दिने निर्णय गरिसकेका छन् । ‘६ करोड जति बोलेको रकम छ, तर रकम हात परेको छैन’ फाउण्डेशनका अध्यक्ष कट्टेलले भने, ‘बोलेको रकम नपाउँदा डीपीआरको कामसमेत प्रभावित बनेको छ ।’

विदेशमा कार्यक्रम गरी ल्याएको एक करोड ३० लाख रुपैयाँबाट रंगशालाको हालसम्मको काम गरिएको उनको भनाइ छ ।

रंगशाला निर्माणका लागि चितवनका ७ वटै स्थानीय तहमा समेत सहयोग संकलन समिति गठन गरिने भएको छ । रंगशालाकै लागि जिल्लास्तरमा लेखा, प्राविधिक, निर्माण व्यवस्थापन, खेलकुद समिति बनिसकेको धुर्मुसले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment