Comments Add Comment

हनी ट्र्यापिङ : ४० लाख असुल्न खोज्ने चार जना पक्राउ

७ साउन, झापा । युवतीलाई प्रयोग गरेर ब्यापारीसँग ४० लाख रुपैयाँ मागेको आरोपमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हनी ट्रयापिका लागि प्रयोग भएकी ऋतु फियाक लिम्बु र योजनाकार सुजन शंकरसमेत छन् ।

यसरी फसे जालमा

झापाको बिर्तामोडमा सीसा पसल चलाउँदै आएका रामप्रसाद (नाम परिवर्तन) लाई २८ असारमा जया खान नामक युवतीको फोन आएको थियो । सामाजिक सञ्जाल इमोमा आएको फोन रिसिभ गरेर उनीहरुबीच कुराकानी भयो ।

छोटो चिनजानमै नजिकिएका उनीहरुबीच भिडियो कल पनि भयो । पहिलो फोन आएको चार दिनपछि उनीहरुले भेट्ने सल्लाह गरे । भद्रपुर रोडमा रहेको कुमारी बैंक नजिकै भेटघाट तय भयो । रामप्रसादले १ साउनमा युवतीलाई भेटे ।

भेटपछि जयाले राति १० बजेतिर साथीको कोठामा जाउँ भन्दै रामप्रसादलाई लगेकी थिइन् । कोठामा पुगेर रामप्रसादले कपडा खोल्दै गर्दा २÷३ जना व्यक्ति कोठाभित्र प्रवेश गरे । उनीहरुले नग्न भिडियो र तस्वीर लिए ।

त्यसपछि सुरु भयो मोलमोलाई । ५० लाख रुपैयाँबाट सुरु भएको बार्गेनिङ ४० लाखमा टुंगियो । ‘सामाजिक सञ्जालमा हालेर भाइरल बनाइदिने भन्दै धम्की दिएको पाइएको छ’, झापाका प्रहरी प्रमुख एसपी दिनेशराज मैनालीले भने ।

५ गतेभित्र रकम बुझाउने सर्तमा उनी छुटे ।

युवतीसहित ४ पक्राउ

युवती भेट्न पुग्दा ४० लाख गुमाएका व्यवसायी इलाका प्रहरी कार्यालय, अनारमनी पुगे । अनुसन्धानका क्रममा व्यवसायीलाई ‘हनी ट्रयपिङ’मा पारिएको खुल्यो ।

उनीलाई कोठासम्म पुर्‍याउने युवती जया नभएर ऋतु फियाक लिम्बु भएको पाइएको छ । उनलाई सन्जु क्षेत्री भनिने सुजन शंकरले मोबाइल नम्बर दिएर फोन गर्न लगाएका थिए ।

‘सुजनले नै युवतीलाई घटना भएको कोठाको चाबी दिएको देखिएको छ’, बिर्तामोडका डीएसपी मोहनकुमार थापाले अनलाइनखबरसँग भने, ‘घटना भएको कोठा भाडामा लिएका प्रकाश दास पनि घटनामा संलग्न देखिएका छन् ।’

कोठामा अरु कुनै पनि सरसामान नदेखिएकाले व्यवसायी फसाउने योजनाअनुसार भाडामा लिएको हुनसक्ने आशंका गरिएको छ ।

डीएसपी थापाका अनुसार पक्राउ परेका बिर्तामोडका मेराज खान, इलाम घर भइ बिर्तामोड बस्ने २० वर्षीया युवती ऋतु, भारतीय नागरिक सुजन शंकर र कोठा भाडामा लिने दासविरुद्ध शरीर बन्धक बनाई अपराधिक आर्थिक लाभ उद्योग गरेको कसूरमा मुद्दा चलाइनेछ । उनीमाथि लागूऔषध मुद्दासमेत चलाउने प्रहरीले बताएको छ ।

घटनाका योजनाकार शंकर महिलालाई वेश्यावृत्तिमा लगाएको आरोपमा फरार रहेका अभियुक्त हुन् । उनीविरुद्ध जिल्ला अदालत, झापाले १० वर्ष कैद सजायको फैसला सुनाएको थियो । उनीसहित अन्य अभियुक्तको साथबाट बा १५ च ७३३९ नम्बरको कार, लागूऔषध र एउटा नक्कली पेस्तोल बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment