Comments Add Comment

उदयपुरको लिम्चुङबुङ र ताप्ली संकटग्रस्ट, हेलिकोप्टरबाट खाद्यान्न पुर्‍याइने

८ साउन, विराटनगर । प्रदेश १ सरकारले डेढ साता अघिको बाढी पहिरोले क्षतिग्रस्त बनेको उदयपुरको लिम्चुङबुङ र ताप्ली गाउँपालिकामा हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गर्ने भएको छ ।

लिम्चुङबुङ र ताप्लीमा खाद्यान्न संकट भएपछि प्रदेश सरकारले तत्कालका लागि हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गरी स्थानीयलाई राहात वितरण गर्ने लागेको हो ।

पहिरोका कारण ग्रामीण सडक क्षतिग्रस्त भएपछि व्यापारीले समेत खाद्यान्न ढुवानी गर्न नसकेपछि केही दिनयता त्यस ठाउँमा खाद्यान्न अभाव भएको छ ।

स्थानीय तहको आग्रहमा एक साताका लागि लिम्चुङबुङ र ताप्ली गाउँ पालिकामा हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गर्न लागिएको प्रदेश सरकारका प्रवक्ता एव आन्तरिण्क मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिए ।

‘लिम्चुङबुङ र ताप्ली गाउँ पालिकामा खाध्यन्न अभाव भएको छ,’ मन्त्री कार्कीले भने, ‘स्थानीय तहको आग्रहमा प्र्देश सरकारले चामल, दाल, नुन र तेलसहितको खाध्यन्न राहात ढुवानी गरी वितरण गर्नेछ । भोलिबाट हेलिकोप्टरमार्फत आवश्य खाद्यान्न ढुवानी गरी राहात वितरण गरिर्नेछ ।’

मन्त्री कार्कीले प्रदेश सरकारको आग्रहमा संघीय सरकारले ढुवानीका लागि हेलिकोप्टर उपलब्ध गराउन सहमति दिएपछि खाद्यान्न ढुवानीको बन्दोबस्ती गरिएको जानकारी दिए ।

मन्त्री कार्कीका अनुसार दुई गाँउपालिकामा दिनको १० हजार किलो चालम त्यसैगरी दाल, नुन र तेल एक साताकालागि हेलिकोप्टरमार्फत ढुवानी गरिने छ ।

संघीय सरकारले ढुवानीको व्यवस्थाका लागि हेलिकोप्टरको व्यवस्थागर्ने र आवश्य खाद्यान्न प्रदेश सरकारले खरिद गरी उपलब्ध गराउनेछ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयमा बुधबार मन्त्री कार्कीको अध्यक्षतामा बसेको प्रदेशको विपत्त व्यवस्थापन कार्यकारी समितिको बैठकले आवश्य खाद्यान्नका लागि खाध्य संस्थानको सबै खाद्यान्न खरिद गर्ने र अपुग खाद्यान्न बाहिरबाट खरिद गर्ने पनि निर्णय गरेको छ ।

प्रदेश सरकारले बिहीवार उदयपुरको सदरमुकाम गाइघाटबाट हेलिकोप्टरबाट खरिद गरेको खाद्यान्न लिम्चुङबुङ र ताप्ली गाउँ पालिकामा पठाएर राहात वितरणको काम थाल्ने छ ।

सोही बैठकको निर्णय अनुसार लिम्चुङबुङ र ताप्ली गाउँपालिका जोडने सडकको पहिरो हटाउन संघीय सरकार र प्रदेश सरकार अन्तर्गतका सडक विभिागका डिभिजनलाई दिइएको छ भने आवश्य सहयोगका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सहयोग लिने बताइएको छ ।

संकटग्रस्त घोषणा

लिम्चुङबुङ गाउँ कार्यपालिकाको गएको असार ३१ गते बसेको बैठकले प्राकृतिक विपत्ति आइपरेकाले संकटग्रस्त घोषणा गरिएको थियो । गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले गाउँपालिकामा खाद्यान्न अभावसँगै क्षतविक्षत सडकले अस्तव्यस्त जनजीवन सिर्जना भएपछि संकटग्रस्त गापा घोषणा गरेको बताए ।

‘गाइघाट कटारीसँग जोड्ने सडक क्षतविक्षत भएको र गएको बैशाख जेठमा लामो खडेरीले मकै उत्पादन शुन्य भएपछि खाद्यान्न अभाव भयो,’ उनले भने, ‘लिम्चुङबुङको मुख्य खाद्यान्न बाली भनेको मकै खेती हो । त्यो पनि खडेरीले सखाप भयो । पहिरोले ढुवानी गर्ने सडक अवरुद्ध छ ।’ उनले गाउँपालिकालाई बजारसम्म जोड्ने मुख्य दुई सडक पहिराले क्षतविक्षत भएपछि खाद्यान्न अभाव भएको बताए ।

लिम्चुङबुङलाई गाइघाट बजारसँग जोड्ने गाइघाट हुँदै मुकुर्ची लिम्चुङबुङ हलेसी सडकको चार दर्जन स्थानमा पहिरो गएको र कटारी बजारबाट लिम्बुङबुङ जोडिने कटारी, बेतेनी, ताप्ली लिम्चुङबुङ सडकमा दर्जनौं पहिरो गएको छ । गाउँपालिकाकै डोजर लगायतका मेशिन पनि छन ।

खडेरीले मकै सखाप भएपछि खाद्यान्नको अभाव झेल्दै आएको लिम्चुङबुङले ढुवानी गरेको खाद्यान्नको भरमा थियो । ढुवानी गर्ने सडक समेत क्षतविक्षत भएपछि खाद्यान्न लगायतको समस्या आइपरेको हो ।

लिम्चुङबुङका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईले पहिरोका कारण सडक क्षतिग्रस्त भएकाले विरामीलाई ठूला अस्पताल पुर्‍याउन पनि सकस भएको बताए ।पहिरोले खानेपानीका योजना क्षतविक्षत भएका छन् । गाउँपालिकामा अत्यावश्यक औषधि, विभिन्न उपभोग्य वस्तु अभाव भएको छ ।

यसैगरी ताप्ली गाउँपालिकामा समेत खाद्यान्नको संकट सुरु भएको गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापाले जानकारी दिए । ताप्ली गाउँपालिकालाई कटारी बजारसँग जोड्ने मुख्य सडक कटारी बेतीन रुपाटार सडक मर्मत गर्न पर्ने अबस्था रहेको छ ।

ताप्ली गाउँपालिकालाई जोडने मुख्य सडक नै क्षतविक्षत भएपछि खाद्यान्नको ठूलो समस्या परेको छ । ताप्लीमा पनि गएको वैशाख जेठको खडेरीले खाद्यान्न संकट परेको छ । ‘ताप्लीको पनि मुख्य खाद्यान्न बाली भनेको मकै नै हो, ‘ताप्ली गाउँपालिकाका अध्यक्ष थापाले भने, ‘खाद्यान्नको लागि प्रदेश र संघीय सरकारलाई सहयोग गर्न आग्रह गरेका छौं ।’

खडेरीको मारमा परेको उच्च पहाडी क्षेत्रमा पर्ने उदयपुरगढी, रौतामाई लिम्चुङबुङ र ताप्ली गाउँपालिकामा बाढी पहिरोले थप पीडा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment