Comments Add Comment

मानव जातीको भविष्य समाजवादमा मात्रै छ : प्रचण्ड

९ साउन, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मानव जातीको भविष्य समाजवादमा मात्रै भएको बताएका छन् । केही मान्छेहरु मात्रै धनी हुने र बहुसंख्यक गरिब हुने राजनीतिक प्रणालीले मानव जातीको कल्याण गर्नै नसक्ने उनको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको छैठौं स्मृति दिवसको अवसरमा बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रचण्डले सो धारणा राखेका हुन् ।

उनले भने, ‘अहिले पनि संसारमा धनी र गरिबीचको खाडल झन् फराकिलो भएको छ । गरिबीको दुष्चक्रमा अरबौं मानिसहरुले अहिले पनि पिल्सिएकै छन् । यो परिस्थितिमा मानव जातीको भविष्य समाजवादमा मात्रै छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले नेपालमा समाजवादको नयाँ मोडेल विकास गरेर विश्वलाई देखाउनुपर्ने अवसर र चुनौती दुवै रहेको बताए । ‘ठूलो अवसर पनि छ, चुनौती पनि हो । योभन्दा अझ ठूलो उचाइमा जानु छ । नेपालबाट समाजवादको नयाँ मोडल विश्वलाई दिनुपर्दछ । समाजवादको नयाँ धारा, नयाँ सिस्टम हामीले दुनियाँलाई दिन सक्नुपर्छ,’ उनले भने ।

यस्तो अवसर विरलै आउने भन्दै प्रचण्डले त्यसका लागि पार्टी एकता सुदृढ र सरकारको काम प्रभावकारी बनाउनुपर्ने बताए । उनले भने, ‘सामाजिक न्यायसहितको समृद्धिको नयाँ मोडेल नेपालबाट दिन सक्नुपर्दछ । त्यो अवसर हामीलाई छ । यो अवसर पार्टी एकतालाई सुदृढ बनाएर, सरकारको कामलाई प्रभावकारी बनाएर, गुणात्मक ढंगले जनताको मन जितेर मात्रै पूरा गर्न सकिन्छ ।’

प्रचण्डले अब भदौ महिनाबाट पार्टीका नीति र सरकारका कार्यक्रमबारे जनतालाई जानकारी दिन देशव्यापी अभियान चलाउने पनि बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment