Comments Add Comment

महानिर्देशकले अनुगमनको कुरा गर्दा मासु व्यवसायी बुरुक्क !

दशैंमा मासुको आयात खुल्ला गर्ने विभागको संकेत

१० साउन, काठमाडौं । मासुको उपभोक्ता मूल्य आकाशिएको चौतर्फी गुनासोपछि बाणिज्य तथा उपभोक्ता संरक्षण विभागले माछा तथा मासु व्यवसायीलाई बोलाएर शुक्रबार छलफल गर्‍यो । छलफलका क्रममा विभागका महानिर्देशक र मासु व्यवसायीको प्रस्तुति रोचक थियो ।

विभागका महानिर्देशक योगेन्द्र गौचनले काठमाडौं उपत्यकासहित देशैभरको मासुको खपत विवरण व्यवसायीसँग मागे । उनले माछा मासु बिक्री वितरण गर्ने पसलहरु अनुगमन थाल्ने चेतावनी दिए ।

महानिर्देशक गौचनको भनाई सकिने बित्तिकै नेपाल माछा मासु व्यवसायी संघका सचिव श्रीराम खड्गी जंगिए । उनले घुर्कि लगाउँदै भने, ‘ह्या… बरु देशबाट मासु नै हटाऔं । न रहे बाँस न बजे बाँसुरी !’

राज्यको निरिहताले मासुको मूल्य बढेको भन्दै खड्गीले बजारमा उत्पादन र मागबारे सरकारी निकायबाट अध्ययन नै नभएको गुनासो गरे ।

नेपाल माछा मासु व्यवसायी संघले सरकारकै कारण बजारमा मासुको भाउ बढेको आरोप लगाएको छ । बर्डफ्लू संक्रमणको भ्रम चिर्न असफल हुनु तथा देशको उत्पादन कति छ भन्ने अध्ययनबिना खसी आयतमा रोक लगाएपछि मासुको मुल्य बढेको व्यवसायीको जिकिर छ ।

नेपाल माछा-मासु व्यवसायी संघका अध्यक्ष रमेश खड्गीले सरकारले बेलैमा भारतीय खसिबोका आयात नखोले दुई महिनापछि देशमा मासु किन्नै नपाईने चेतावनी दिए ।

‘सर्वेक्षणका नाममा किसानको गोठमा भएका ब्याउने बाख्रादेखि साना पाठासम्मको गणना गरेर खसी बोका उत्पादनमा नेपाल आत्मनिर्भर छ भनियो, र आयात रोकियो,’ उनले भने ।

तराईबाट आएका सिमित खसीले मासुको माग पूर्ति नहुने व्यवसायीको भनाइ थियो । झिनो नाफा खाएर मासु बेच्ने व्यापारीलाई सरकारले कालो बजारीको गरेको आरोप लगाउने गरेको दुखेसो उनीहरुले पोखे ।

नेपालमा मासुको खपत दैनिक खपत कति हुन्छ भन्ने विवरण सरकारसँग छैन । माछा तथा मासु व्यवसायी संघका अनुसार काठमाडौं उपत्यकामा चाडबाडबाहेकका दिनमा दैनिक औसत १२ सयभन्दा धेरै खसी काट्नुपर्छ ।

यस्तै दैनिक ६ देखि ८ सय राँगा, भैंसी र करिब ४५ हजार किलो माछा, ५ देखि ६ सयवटा बंगुर, तीनदेखि साढे तीन लाख किलो कुखुराको मासु काठमाडौंमा आवश्यक छ । मूख्य चाडपर्वको सिजनमा खपतदर दोब्बरले वृद्धि हुने व्यवसायीहरु बताउँछन् ।

खसीबाख्रा पालन गर्ने कृषकहरु घट्दै गएकालेस्वदेशी उत्पादन ज्यादै कम भएको उनीहरुको दाबी छ । विदेशबाट खसी राँगा आयात गर्न व्यवसायीलाई नदिने हो भने सरकार आफैले ल्याएर मूल्य तोकेर बिक्री गरिनु पर्ने व्यवसायीहरुले माग गरे ।

दशैंमा आयात खोल्ने संकेत

व्यवसायीहरुको गुनासोपछि वाणिज्य विभागले दशैंका लागि मात्रै भारतीय खसी बोका आयात खोल्न सक्ने संकेत गरेको छ । अभावलाई कारण देखाएर उपभोक्ताको ढाड सेक्ने काम हुन नदिन निश्चित समयका लागि क्वारेन्टाईन खुकुलो बनाउन अन्तरमन्त्रालय समन्वय गर्ने महानिर्देशक गौचनले बताए । अभावकै बेला कमाउने हो भन्दै व्यवसायीले पनि मनलाग्दी गर्न थाले तीन लाखसम्म जरिवाना गराउने चेतावनी उनले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment