Comments Add Comment

क्वारेन्टाइन कर्मचारीको गुनासो : प्रहरीदेखि पत्रकारसम्मले दु:ख दिए

१२ साउन, काठमाडौं । कृषि तथा पुशपंक्षी विकास मन्त्रालयले पहिलोपटक आफ्नो मन्त्रालय मातहतका तीनैवटा क्वारेन्टाइन अन्तर्गतका प्रतिनिधिसँग छलफल गर्‍यो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा भएको छलफलमा वनस्पति, पशु र खाद्य क्वारेन्टाइनका अधिकारीहरु सहभागी थिए ।

धक फुकाएर आफ्ना समस्या राख्न मन्त्री चक्रपाणि खनालको आग्रहपछि सीमा नाकादेखि काठमाडौंसम्मका क्वोन्टाइन अधिकारीहरुले भन्सारका हाकिमको दादागिरीदेखि सशस्त्र प्रहरीले दिएको दुःख र व्यापारीका धम्कीसम्मका गुनासाको पोको मन्त्रालयमा फुकाए ।

सशस्त्र प्रहरीले कब्जा गर्यो क्वारेन्टाइन कार्यालय

तातोपानी सीमा नाकामा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत स्थापित क्वारेन्टाइन कार्यालय सशस्त्र बलले कब्जा गरेको मन्त्रालयका एक सहसचिवले गुनासो गरे । उनका अनुसार उक्त कार्यालयमा मन्त्रालय अन्तर्गतका कर्मचारी र परीक्षण केन्द्रसहितको पूर्वाधारका लागि खाली गरिदिन कृषि तथा पशुपंक्षीले गृह मन्त्तालयलाई पत्र लेखे पनि कार्यान्वयन भएको छैन् ।

क्वारेन्टाइनका लागि ल्याब, कर्मचारी बस्न आवास लगायतका कुनै पनि पूर्वाधार नभएका कारण उक्त नाका भएर हुने आयतमा क्वारेन्टाइन प्रभावकारी हुन नसकेको ती सहसचिवले बताएका छन् ।

भन्सारका हाकिम, व्यवसायी र पत्रकारले दुखः दिए

वनस्पती, खाद्य र पशु क्वारेन्टाइन कार्यालय विरगन्ज, धनगढी र काँकडभिट्टाका अधिकारीहरुले आफूहरुलाई भन्सारका कर्मचारी, व्यवसायी र पत्रकारले अपमान गरेको र दुःख दिएको गुनासो मन्त्री खनालसमक्ष गरे ।

क्वारेन्टाइन अधिकारीहरुका अनुसार यी नाकामा क्वारेन्टाइन रोक्यो भने राम्रो नहुने भन्दै व्यवसायीहरु आउने गरेका छन् । यस्तै भन्सारका कर्मचारी र हाकिमले क्वारेन्टाइनले रोकेको ठूला परिमाणका वस्तुहरु थाहै नदिइ छुटाउने तथा लिलामी गर्ने गरेको पनि उनीहरुले बताए ।

वीरगन्ज र धनगढीको गड्डा चौकी नाकामा भन्सारका अधिकारी र व्यवसायीले सेटिङ गर्दा क्वारेन्टाइन फितलो बनेको त्यहाँका अधिकारीहरुको गुनासो थियो ।

वीरगन्ज क्वारेन्टाइन कार्यालयमा सञ्चारका लागि १४ हजार मात्रै बजेट भए पनि एक दर्जनभन्दा बढी पत्रकार आएर विज्ञापन माग्दै पाँच घण्टासम्म कार्यालयमा बस्ने गरेको त्यहाँका अधिकारीले बताए ।

यता क्वारेन्टाइन कार्यालय कांकडभिट्टामा भने व्यवसायीको क्वारेन्टाइन पास गर्न पत्रकार आउने गरेको त्यहाँका अधिकारीले बताए । पास नगरे बदनाम गरिदिने धम्की दिने गरेको भन्दै उनले यसबाट मुक्ति दिलाइ दिन मन्त्री खनाललाई आग्रह गरे । उक्त नाकामा क्वारेन्टाइन फेल भइ रोकिएका सामान पास गर्न भन्सारका कर्मचारीले चलखेल गर्ने गरेको त्यहाँका अधिकारीले बताए ।

कानूनतः सीमा नाकामा आईपुगेका फलफूल, तरकारी, खाद्य र पशुपंक्षी जन्य वस्तुको क्वारेन्टाइनपछि मात्र भन्सारको प्रक्रिया सुरु हुनु पर्ने भए पनि भन्सारका कर्मचारी तथा प्रमुखको पेलाइले मुख्य भन्सार नाकाहरुमा क्वारेन्टाइन पास नहुंदै भन्सार पास गर्ने गरिएको उनीहरुको गुनासो थियो ।

पूर्वाधार र कर्मचारी अभाव

देशैभरका क्वारेन्टाइन कार्यालयहरुमा जनशक्ति, पूर्वाधार र प्रविधिको अभाव भएको गुनासो कर्मचारीहरुले मन्त्री खनाल समक्ष राखेका थिए । क्वारेन्टाइनको काम जोखिमयुक्त हुने भएकाले कर्मचारीहरु आफ्नो दरबन्दीमा बस्नै नचाहेको गुनासो उनीहरुको थियो । एकीकृत भन्सार अन्तर्गत क्वारेन्टाइनको आवश्यकता र महत्व अन्य निकायले स्वीकार नगरेका कारण काम गर्न असहज भएको उनीहरुले बताए ।

एकल बिन्दु समन्वय थालिने

कृषि तथा पशुपंक्षी विकास मन्त्रि चक्रपाणि खनालले सीमित स्रोत र साधनका बाबजुत आफ्नो जिम्मेवारी राम्रोसंग निर्वाह गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।

क्वारेन्टाइन जाँच प्रभावकारी बनाउन मन्त्रालयले एकल बिन्दु समन्वय सेवा सुरु गर्ने भन्दै मन्त्री खनालले आफ्नो अधिकारले पाएको काम गर्न कसैसँग नझुक्न कर्मचारीलाई सुझाए ।

मन्त्रालयले आफ्नो मातहतको खाद्य, पशु तथा वनस्पती क्वारेन्टाइन इकाइलाई अनलाइनको माध्यमबाट एकीकृत गर्न लागेको मन्त्री खनालले जानकारी दिए । लामो खटाइ भए पनि सुविधा नभएको भन्ने कर्मचारीको गुनासोको सम्बोधन गर्न अर्थ मन्त्रालयलाई आग्रह गर्ने मन्त्री खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment