Comments Add Comment

प्रधानमन्त्रीको सिंगापुर भ्रमण : उपचारसँगै आराम

निजी चिकित्सक भन्छन्- बिरामी हो, सिकिस्त होइन

१४ साउन, काठमाडौं । शनिबार बाँसबारीस्थित गंगालाल अस्पतालमा बनेको ओपीडी भवन उद्घाटन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बुद्धि बंगारा खुस्किएको सुनाउँदै भनेका थिए, म अस्थायी बिरामी हो, नक्कलीचाहिँ होइन ।’

त्यसको दुई दिनपछि नै प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जाने खबर आयो । यो खबरले प्रधानमन्त्री अस्थायी नभई गम्भीर बिरामी त परेका होइनन् भन्ने चासो धेरैलाई बढाएको छ ।

प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंहका अनुसार पछिल्लो दुई वर्षयता विज्ञ डाक्टरहरुले प्रधानमन्त्री ओलीको ‘रिपोर्ट कार्ड’ हेरेका छैनन् । गत वर्ष दशैंको टीका लगाइदिने क्रममा संक्रमण भएपछि प्रधानमन्त्री ओली १२ कात्तिकमा मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएर पाँच दिन बसे ।

त्यसयता बेलाबेला फलोअपका लागि अस्पताल पुग्ने गरेका प्रधानमन्त्रीलाई निजी चिकित्सक दिव्या सिंहले नियमित चेकजाँच गर्दै आएकी छिन् । अलि जटिल समस्या देखिँदा डा. सन्तकुमार दास पनि बालुवाटार पुग्ने गरेका छन् ।

अहिले विशेषज्ञ डाक्टरको राय लिन प्रधानमन्त्री ओली सिंगापुर जान लागेको डा. सिंहले बताइन् । उनले अनलाइनखबरसँग भनिन्, ‘कहिले काहीँ सामान्य अवस्थामा भएको बिरामीलाई पनि उपचार गरिरहेको भन्दा फरक टिमलाई देखाउनुपर्ने हुन्छ । अहिले त्यसैका लागि जान लाग्नुभएको हो ।’

यसरी फरक टिमलाई देखाउँदा उपचारमा भएका कमी कमजोरी र सबल पक्ष थाहा पाउने उनले सुनाइन् ।

डाक्टर सिंहकाअनुसार प्रधानमन्त्री ओलीलाई कामको धपेडी धेरै छ । उनीले बिहान उठेदेखि राति अबेरसम्म बैठक, भेटघाट र कार्यक्रमहरुमा व्यस्त हुन्छन् । आराम गर्नुपर्ने बेलामा पनि प्रधानमन्त्रीको दौडधुप कम नभएकाले आराम गर्नकै लागि आफूले विदेश जान सल्लाह दिएको निजी चिकित्सक सिंहले बताइन् ।

प्रधानमन्त्री ओली राति २ बजेसम्म पनि काम गर्ने गरेको बताउँदै उनले भनिन्, ‘यसरी काम गर्दा सामान्य मानिस त बिरामी पर्छ, उहाँ त झन मिर्गौला प्रत्यारोपण गरेको बिरामी । यहाँको उत्पात धपेडीबाट केही दिनका लागि आराम दिन मैले नै स्वास्थ्य जाँचका लागि विदेश जाने सल्लाह दिएकी हुँ ।’

डा. सिंहका अनुसार ओलीले बैंकक रोजेका थिए । तर, मिर्गौलाको चेकअपका लागि बैंकक भन्दा सिंगापुर राम्रो रहेको सुझाव दिएपछि ओली सिंगापुर जान सहमत भएका हुन् । डा. सिंह भन्छिन्, ‘त्यहाँ पुरानै डाक्टरसँग चेकअप गराउने योजना छ । अस्पताल भने अहिले तय भइसकेको छैन ।’

के-के चेकअप हुने छ सिंगापुरमा ?

सिंगापुरमा प्रधानमन्त्री ओलीको होलबडी चेकअप हुनेछ । त्यस्तै नेपालमा गरिएको उपचार र अहिले खाइरहेको औषधिबारे विशेषज्ञ डाक्टरको राय लिइनेछ ।

‘यहाँको उपचार, औषधिबारे राय लिनुका साथै अब के गर्नुपर्छ भन्ने जान्न सिंगापुर लैजान लागिएको हो’, डाक्टर सिंहले भनिन्, ‘यसले प्रधानमन्त्रीलाई केही दिन आराम पनि दिन्छ र विशेषज्ञको रायले स्वास्थ्य अवस्थाबारे सजग पनि भइन्छ ।’

संक्रमणको डर सधैं

प्रधानमन्त्री ओलीको झण्डै १२ वर्ष पहिले भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसयता उनले निरन्तर औषधि खाइरहेका छन् ।

ओली मात्र होइन, प्रत्यारोपण गरेका सबैले जीवनभर औषधि खानुपर्छ । मानिसको उमेर र स्वास्थ्य अवस्था अनुसार औषधिको मात्रा भने फरक हुने चिकित्सकहरु बताउँछन् ।

चिकित्सकहरुका अनुसार मिर्गौला प्रत्यारोपण गरेका बिरामीमा इन्फेक्शन -संक्रमण) को डर सधैं रहन्छ । ज्यादा धपेडी र कामको प्रेसर भएमा रोग प्रतिरोधात्मक क्षमता कम हुने र अरु रोगले च्याप्न सक्छ ।

प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गरेको १० वर्ष नाघिसकेकाले पनि संक्रमणको जोखिम उच्च रहेको डा. सिंह बताउँछिन् ।

रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदै गएकाले पनि ओलीलाई आराम जरुरत रहेको उनको तर्क छ । सिंह भन्छिन्, ‘योबेला उहाँलाई धेरै भन्दा धेरै आरामको जरुरत छ तर, दैनिक कार्यक्रममा हिँड्ने, भेट्ने र राति पनि अबेरसम्म काम गर्ने भएकाले गाह्रो हुने खतरा छ ।’

बिरामी हो, सिकिस्त होइन

चिकित्सकका अनुसार गत वर्ष प्रधानमन्त्री ओलीको छातीमा संक्रमण भएको थियो । हालै मात्र घाँटी खसखसाउने समस्या भएपछि शिक्षण अस्पतालका चेस्ट फिजिसियन डा. सन्तकुमार दासले बालुवाटारमा पुगेर चेकजाँच गरेका थिए ।

डा. दासले अनलाइनखबरसँग भने, ‘छातीमा इन्फेक्सन भयो कि भनेर मलाई बालुवाटार बोलाइएको थियो । तर, जाँच गर्दा त्यस्तो केही समस्या देखिएन । हल्का ‘रुटिन डिजिज’ थियो । त्योबाहेक अरु केही समस्या थिएन ।’

प्रधानमन्त्री ओलीलाई सन् २०१३ मा भने ‘मेनिन्जाइटिस’ भएको थियो । त्यसबेला शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गर्न पुगेयता सिंह ओलीको निजी चिकित्सक छिन् । त्यहीबेला बैंकक लगेर महिना दिन भन्दा लामो उपचार गराइएको थियो । त्यतिबेला कडा खालको ‘मेनिन्जाइटिस’ सँगै निरन्तर लामो समयसम्म टाउको दुख्ने समस्या थियो । स्वास्थ्यमा हेलचेक्र्याइँ र चिकित्सकको सल्लाहविना औषधि खाएकाले उनी बिरामी परेका थिए ।

तर, त्यसयता ओली स्वास्थ्यप्रति सचेत रहेको डा. सिंहको अनुभव छ । उनी भन्छिन्, ‘उहाँ अहिले स्वास्थ्यप्रति सचेत हुनुहुन्छ । समयमै औषधि र खाना खानुहुन्छ । तर, कामको धपेडीले अलिअलि गलाएको छ ।’

डा. दिव्याकाअनुसार उमेर बढ्दै गएपछि सामान्यतः मानिस थकित हुन्छ । कतिपयले सुगर, प्रेसर लगायतका औषधि खानुपर्छ । रोग प्रतिरोधात्मक क्षमता घट्ने भएकाले सामान्य कुराहरुमा ध्यान दिनुपर्छ । उनी भन्छिन्, ‘उहाँ त्यो हिसाबले बिरामी हो तर, औषधिकै भरमा बाँचेको होइन । केही गर्न नसक्ने सिकिस्त पनि होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment