Comments Add Comment

यसरी पुनर्निर्माण हुँदैछ रणबहादुरलाई सम्झाउने त्रिपुरा मन्दिर

स्वीकृत लागतभन्दा १० करोड कममा काम सकिने दावी

१५ साउन, काठमाडौं । नेपालका शाहबंशीय राजाहरुको पंतिमा रणबहादुर शाह त्यति चर्चित छैनन् । राजकाजको क्षमता नभएका उनले आफ्नो कार्यकालमा सम्झनायोग्य काम पनि केही गरेनन् । तर, त्रिपुरेश्वरमा एउटा मन्दिर छ, जसले रणबहादुरको सम्झना गराइरहन्छ ।

बि.सं. १८७७ मा तत्कालिन राजा रणबहादुरको भाइ शेरबहादुर शाहबाट हत्या भएको थियो । हत्यापछि १८७९ सालमा उनका ५ श्रीमतीमध्येकी कान्छी ललितत्रिपुरा सुन्दरी साहले श्रीमानको सम्झनामा यो मन्दिर बनाउन लगाएकी थिइन् । एक शताब्दी पुरानो यहि मन्दिरको नामबाटै यो ठाउँको त्रिपुरेश्वर नामाकरण भएको हो ।

त्रिपुरा सुन्दरी मन्दिरलाई २०७२ सालमा गएको भूकम्पले ध्वस्त बनायो । मन्दिरको संरचना र वरिपरि रहेका साना मठहरुसहित चौघेरामा रहेको सत्तलसमेत भत्किएका थिए । अहिले यो मन्दिरको पुरातात्विक पुननिर्माण तीव्र गतिमा भइरहेको छ ।

गुठी संस्थानले संरक्षण गरिरहेको यो मन्दिर पुनर्निमाण काठमाडौं विश्वविद्यालयले गरेको हो । पुनर्निर्माणको संयोजन विश्विद्यालयका सहायक प्रध्यापक डा. लोचन रिजालले गरिरहेका छन् । अहिले सय जनाभन्दा बढी श्रमिक यहाँ खटिएका छन् । बिहान ७ बजेदेखि साँझसम्म काम भइरहेको छ ।

पुनः निर्माणका संयोजक डा. रिजाललका अनुसार १ सय जनाभन्दा बढी कामदारहरुलाई साप्ताहिक ज्यालादारीमा खटाइएको छ । विश्वविद्यालयकै केहि कर्मचारीहरुले स्वयम्सेवा समेत गरिरहेका छन् । मन्दिरमा तिन तहका छाना छन् । सबैभन्दा माथिल्लो छानामा पित्तलको प्रयोग हुनेछ भने बिचको र पहिलो छानामा झिंगटी प्रयोग हुनेछ ।

अहिले शिरमा लगाउने पित्तलको गजुर करिब-करिब तयार भइसकेको र केही दिनमै ठड्याइने रिजालले बताए । गजुर राखेलगत्तै छाना हाल्ने काम शुरु हुनेछ । मन्दिरको तल्लो भाग निर्माण पनि अन्तिम चरणमा छ । छेउमा रहेका सत्तलको निर्माणमा भने केहि समय लाग्ने बताइएको छ ।

वरीपरी विभिन्न देवी देवताहरुको साना साना मन्दिरहरु छन् । तिनको समेत पुनर्निर्माण गर्नु पर्ने भएकाले केहि समय लाग्ने देखिएको छ । रिजालका अनुसार मन्दिर निर्माणका लागि संस्थान र विश्व विद्यालयबिच २०७३ मा सम्झौता भएको थियो ।

सम्झौता अनुसार निर्माण सक्नु पर्ने अवधि अझै २ वर्ष भन्दा धेरै समय बाँकी छ । तर एक वर्षभित्रैमा मूख्य मन्दिरको निर्माण सम्पन्न हुने रिजालले दावी गरेका छन् ।

जानकारहरुका अनुसार वि. सं. १८७४ सालमा शिलान्यास भइ एक बर्षपछि निर्माण कार्य सम्पन्न भएको मन्दिरमा १८७७ मा चौघेरा बनाइएको थियो भने १८७९ मा सुनको छानो राखिएको थियो । मन्दिरको उत्तरतर्फ मुल प्रवेशद्वार थियो । शिवपाञ्चायनका रुपमा मन्दिर निर्माण गरिएको मानिन्छ । मन्दिरमा प्रवेश द्वार एउटा र सहायक द्वार २ वटा देखिन्छन् । सामान्यतया यस प्रकारको द्वार कम पाइन्छन् ।

कीर्तिमुख भैरव, अष्ट भैरव, सिंहका मूर्तिहरुमा भएको कलाकारिता मन्दिरको आकर्षण हो । अहिले पनि यस मन्दिरको पुनर्निमाणमा सिमेन्टको प्रयोग गरिएको छैन ।

यस मन्दिरमा महाशिवरात्री, हरितालिका तीजमा महादेवको पूजा, कार्तिक शुल्क पूर्णिमाका दिन महास्नान पूजा, चैत्र शुक्ल चतुर्दशीका दिन कामदेवको पूजा गरिन्छ । मंसिरदेखि अर्थात् चिसो मौसममा मुर्तिलाई तातोपानीले नुहाइदिने चलन रहेको मन्दिरका पुजारी बताउँछन् ।

७८१ रोपनी जग्गामा फैलिएको यो मन्दिर १९९० सालको भूकम्पले पनि क्षतिग्रस्त बनेको थियो । त्यसपछि पुरानै ढाँचामा पुननिर्माण भएको यो मन्दिरले फेरि पनि पुरानै स्वरुप पाउने विश्वविद्यालयले बताएको छ ।

वडा कार्यालयको गुनासो

यो मन्दिर त्रिपुरेश्वर अर्थात काठमाडौं महानगरपालिकाको वडा नम्बर ११ मा पर्छ । यस वडामा नेपाली कांग्रेसका स्थानीय नेता हिरालाल तण्डुकार अध्यक्ष छन् । वडा कार्यालयको झ्यालबाटै निर्माणाधीन मन्दिर देख्न सकिन्छ । वडा कार्यालयबाट पैदल ५ मिनेट परको मन्दिर पुनर्निमाणबारे वडा अध्यक्ष तण्डुकारलाई भने खासै खोजखबर छैन ।

‘गुठी संस्थान र केयूबीच समझदारी भएर निर्माण भइरहेको मात्र थाहा छ,’ वडाध्यक्ष भन्छन्, ‘एकपटक त म रिसाइदिएँ पनि, अहिले थोरै भए पनि केयूको प्राध्यापक सम्पर्कमा हुनुहुन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओली स्वयम्ले केही समयअघि मन्दिर क्षेत्रको अवलोकन गरेका थिए । प्रधानमन्त्री अवलोकनमा आउँदा निर्माणको बारेमा आफूलाई धेरै जानकारी नभएपछि केयूका सहप्रध्यापक रिजालसँग आफूले रिस पोखेको वडाध्यक्ष तण्डुकारले बताए ।

‘म निर्वाचित हुनुभन्दा पहिले नै निर्माण शुरु भएकाले पनि होला मलाई केही जानकारी छैन’ उनले भने, ‘मैले भोलि डा. रिजाललाई बोलाएको छु, पुनः निर्माणको अवस्थाबारेमा जानकारी लिने योजना छ ।’

स्वीकृत लागतभन्दा कममा सकिने 

पुनः निर्मााणका संयोजक रिजालका अनुसार त्रिपुरा सुन्दरी महादेव मन्दिर निर्माणका लागि पुरातत्व विभागले २९ करोड रुपैयाँ लागत स्वीकृत गरेको थियो । विभागले स्वीकृत गरेको लागत रकमभन्दा करिब १० करोड लागत रकममै काम सम्पन्न हुने रिजाल बताउँछन् ।

उनले भने, ‘हामीले एकदमै पारदर्शीता कायम गरेका छौं, २० करोड रुपैयाँभन्दा कममै सक्ने योजना छ । तर, यसको मतलब कामको गुणस्तरमा सम्झौता हुँदैन ।’

मन्दिरमा सिमेन्टको प्रयोग नगरिने र काठहरु पनि बुट्टेदार बनाइने उनले बताए । मन्दिर परिसरमै लोकबाजा संग्रहालय समेत छ । रिजालका अनुसार मन्दिर निर्माणका लागि बाजा बजाएर नै १९ लाख रुपैयाँ संकलन गरिएको थियो ।

मन्दिर निर्माणका लागि थाइल्याण्ड सरकारबारबाट १७ करोड रुपैयाँ अनुदान आएको छ । २ करोड रुपैयाँ भने काठमाडौं विश्वविद्यालयले लगानी गरेको छ । थाई सरकारको १७ करोड, विश्वविद्यालयको २ करोड र चन्दाबाट उठेको १९ लाख रुपैयाँले मन्दिरले पुरानो रुप पाउँदैछ ।

थाई सरकारबाट प्राप्त भएको १७ करोड रुपैयाँ भने सिधै गुठी संस्थान वा विश्वविद्यालयलाई नआउने रिजालले बताए । नेपाल सरकारसँग सम्झौता भएर सहयोग गरेकाले सरकार मार्फत नै उक्त रकम खर्च हुने उनले जानकारी दिए ।

दर्शनार्थीहरुको आवागमन जारी

निर्माणधीन अवस्थामै रहेको यस मन्दिरमा अहिले पनि दर्शनार्थीहरु आउने गरेका छन् । भूकम्पअघि घुइचो लाग्ने गरेको भए पनि भूकम्पपछि खण्डहर जस्तै बनेको मन्दिरमा थोरै संख्यामा दर्शनार्थीहरु आउने गरेको मन्दिरका पुँजारी विश्वनाथ भट्टले बताए ।

भट्टका अनुसार बिहानै दर्शन गर्न र दिउँसो घुम्न समेत सर्वसाधारणहरु आउने गरेको छन् । भट्टको ३ पुस्ता अघिदेखि नै मन्दिरको पुजारीको जिम्मा पाएका थिए । मन्दिरका मूल पुजारी भने गिरीधारी भट्ट हुन् । गिरीधारी विश्वनाथका दाजु हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment