
१५ साउन, काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले आफू रवीन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा आएको बताएका छन् ।
बुधबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री भट्टराईले परिस्थितिले आफू अधिकारीको कुर्चीमा बस्न आइपुगेको भन्दै सबै अग्रजसँग राय सल्लाह लिएर अगाडि बढ्ने बताए ।
‘परिस्थितिले उहाँ बस्नुभएको कुर्सीमा म बसेको छु, उहाँले नै राम्रोसँग सम्हाल्न सक्नुहुन्थ्यो, उहाँकै आवश्यकता थियो, तर प्रकृतिलाई जित्न सकेनौं. उहाँको उत्ताराधिकारीका रुम्पमा आएको छु, यसो भन्दा मलाइ गर्व छ ‘ उनले भने ।
रवीन्द्र अधिकारीले पर्यटन मन्त्रालयलाई उचाइमा पुर्याएको उनले बताए । सबै मन्त्रीहरु आफ्नो अग्रज भन्दै उनले सबैसँग राय सल्लाह लिएर अगाडि बढ्ने बताए ।
योजनाविनै आएँ
आफू निश्चित योजनाविनै आएको भन्दै मन्त्रालयका सचिवदेखि पियनसम्म सबैको सल्लाह लिएर काम गर्ने बताए । ‘ नियोजित योजनाबिना आएँ, मन्त्रालयका पियनदेखि सचिवसम्म सबै साथी हौं, एउटै टिममा छौं, टिमलाई गति दिन्छु, तपाईंले काम लगाउनु म सिक्न आएको हो’ उनले भने ।
केही दिनमा प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गर्ने भन्दै मन्त्री भट्टराईले आफूले गर्न सक्ने कुरामात्रै प्रतिवद्धता गर्ने बताए ।
अहिले पर्यटन मन्त्रालयमा धेरै चुनौती रहेको भन्दै उनले नेपाल भ्रमण वर्षलाई सफल पार्न सम्पूर्ण तागत र शक्तिका साथ अगाडि बढ्ने बताए । पोखरा विमानस्थल र गौतमवुद्ध विमानस्थल सकेसम्म छिटो सक्ने र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा सहमति जुटाउने पनि मन्त्री भट्टराईले बताए ।
मन्त्री हुने कुरा १ बजेमात्रै थाहा पाएँ
पर्यटनमन्त्री भट्टराईले आफूले मन्त्री हुने कुरा बुधबार दिउँसो १ बजेमात्रै थाहा पाएको बताए । ‘प्रधानमन्त्रीले आज १ बजे कार्यालयमा बोलाएर प्रस्ताव गर्नुभयो । सबै वरिष्ठ नेतासङ्ग रायमा जिम्मेवारी दिनुभएको छ’ उनले भने ।
प्रतिक्रिया 4