Comments Add Comment

योगेश भट्टराई भन्छन्- बल्ल ब्याटिङ गर्न आएको छु, हानौंला न छक्का चौका

१६ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईलाई मन्त्री बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको चुनावी बाचा नै थियो । तर यो बाचा पूरा गर्न ओलीलाई १७ महिना लाग्यो ।

१५ साउनमा भट्टराई संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री नियुक्त भए । नेकपाकै कतिपय नेता सरकार अलोकप्रिय भएको बेला मन्त्री भएका भट्टराई भुंग्रोमा परेको मान्छन् । उनीहरुमध्ये एक हुन् सांसद रामकुमारी झाँक्री ।

पार्टी नेता भट्टराईलाई मन्त्री भएकोमा बधाई दिँदै उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘सरकार अलोकपि्रयताको भुंग्रोमा छ । दाइ त्यही भुंग्रोमा पर्नुभयो अहिले । मेरो आमा भन्नुहुन्थ्यो, जुन भुंग्रोमा परे पनि निस्कनुपर्छ । हो योगेश भट्टराई भुंग्रोबाट निस्कनुपर्छ, हार्दिक बधाई अनि शुभकामना ।’

नवनियुक्त पर्यटनमन्त्री भट्टराईले पनि आफूसामू थुप्रै चुनौती रहेको स्वीकार गरेका छन् । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा रहेको सहिद स्तम्भमा माल्यार्पण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने आफ्नो पहिलो चुनौती भएको बताए ।

निर्माणाधीन पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न गर्ने, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण थाल्ने, पर्यटकीय गन्तव्यहरुको विकास गरी विदेशीहरुलाई नेपाल आउन प्रेरित गर्नु चुनौतीपूर्ण रहेको बताए ।

उनले मन्त्रालयमा आवश्यक परामर्श गरेर कार्ययोजना सार्वजनिक गर्ने सुनाए । परिणाम देखिन कति समय लाग्ला भन्ने सञ्चारकर्मीहरुको प्रश्नको जवाफमा उनले भने, ‘बल्ल त काम थाल्दैछु । बल्ल त ब्याटिङ गर्न आएको छु, हानौंला न छक्का चौका । एकएक रन लिएर अलमलिएर नबस्ने । छक्का चौका हान्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment