Comments Add Comment

नियात्रा : सगरमाथा सुम्सुम्याउँदा

सन् २०१५ अप्रिलको पहिलो हप्ता । गर्वले शीर ठड्याएँ मैले त्यो बिहान । खुसीको सीमै रहेन । सगरमाथाझैँ अटल भएर उभिइरहेँ म निकैबेर ।

पहाड आफैँमा सुन्दर हुन्छ, अवलोकनकनका निम्ति । तर त्यसैले जीवनलाई कठिन बनाइदिएको हुन्छ । पहाडसँग सङ्घर्र्ष गर्ने जीवनको दैनन्दिनी थियो त्यो । आफ्नो गरिबीको पहाडलाई मुठार्न सुदूरपूर्वदेखि नाम्चेको पहाड चढ्दै थिए उनीहरू, आफैँप्रति निर्मम भएर । आफ्नो ज्यानलाई धितो राखेर फगत् सन्तानका मुहारमा खुसी जगाउने उनीहरूको प्रयास थियो त्यो ।

पछाडि फर्केर हेर्दा देखिन्छ, दूधकोशीमा भोटेकोशी झरेको ठाउँ । निदाइरहेझैँ भान हुन्छ लार्चे दोभानमा दुबै नदी । दुई दिनअघि तरेको झोलुङ्गे पुलमा जोप्क्योेहरू पिठ्युँमा भारी बोकेर लाइन लाग्दै थिए ।

मैलै साजेनलाई त्यही दृश्य देखाएँ ।

उनले भने, “वी डिड अ ग्रेट जब ।”

त्यो गहिराइ देख्दा लाग्थ्यो– ‘त्यति ठूलो उकालो कसरी उक्लिएछौँ !’

थामसेर्कु र आमादब्लम नजिकिँदै आए । ल्होत्से र नुप्से परै देखिन्थ्यो । त्यसैको पछाडि उभिएर चियाउँदैै थियो हामीलाई सगरमाथाले ।

नजरभरि पाखैपाखा, भीरैभीर । आँखाहरू नथाकी डुलिरहे ओल्लो डाँडा र पल्लो डाँडा । फूलका राता, सेता र गुलाबी रङ, बस्तीहरूका छानाका हरिया र नीला रङ । घुम्तीहरूसँगसँगै रमाइला बस्तीहरू पार हुँदै गए । याङ्जीमा र सानासा देखियो । परको थुम्कामा टुपुक्क उभिएको थियो तेङ्बोचेगुम्बा । हिमाली सौन्दर्यमा कुनै कमी थिएन । यथेष्ट थिए सबै प्राकृतिक छटाहरू, रमितायुक्त अनुभूतिका लागि ।

फुङ्की टेङ्गामा खाना खाएर ज्यानलाई ठाउँठाउँमा आराम दिँदै पट्यारलाग्दो उकालो चढेपछि करिब तीनबजेतिरे पुग्यौँ तेङ्बोचे ।

“३,८७० मिटरको उचाइमा पनि यति फराकिलो थली !”आश्चर्य माने स्याजेनले ।

थलीको एक छेउमा उभिएको छ, दावा छोलिङ अर्थात् तेङ्बोचे गुम्बा । खुम्बु क्षेत्रकै सबैभन्दा ठूलो गुम्बा । सिङ्गो खुम्बुकै गहना । यो नहुँदो हो त तेङ्बोचे यति सुन्दर कहाँ देखिन्थ्यो र ! थलीको अर्को छेउले देखाइदिन्छ लोत्से, नुप्से र सगरमाथाका आकृति । बाटोबाट देखेको भन्दा स्पष्ट देखिन्थे, ती सबै । आमादब्लम त झनै नजिक । निकै मोहक थियो तेङ्बोचले देखाइदिएका तमाम दृश्यहरू ।

मैले उनीहरूलाई भनेँ– ‘सीमित समय भएकाहरू यहाँसम्म मात्र भएपनि आउँछन्, सगरमाथा हेर्न ।’

हामीले गुम्बा लजको पेटीमा निकैबेर बितायौँ, यिनै दृश्यहरू हेरेर ।

तेङ्बोचको गुम्बा लजमा गेस्टहरूलाई कोठाको साँचो दिएपछि होटलवालाले लाललाई भने, “तपाईंचाहिँ पोर्टर हाउस जानुस् है ।”

०००

सूर्योदयोसँगै तेङ्बोचे गुम्बाबाट लावा बाजामा ‘ॐ मणि पद्ये हूँ’ मिश्रित शब्दोच्चारण भइरहेको सुनिथ्योे । आनन्द, चैतन्य र सत्यको सूचक । तन र मनलाई सुख र शान्ति दिने एउटा अलौकिक उपाय । कति गहिरो अर्थ राख्छ, यो मन्त्रले । यो दिव्य ध्वनिमा डुबिरहेँ म ।

सबैजना तयार भइसकेपछि मैले एकाग्रतालाई तोडेँ । झन्डै एघार किलोमिटर हिँड्नु थियो, दिङ्बोचे पुग्न ।

मैले भनेँ– ‘आज कम्तिमा पनि छ घन्टा हिँड्नुपर्छ ।’

पिठ्यँुमा सगरमाथा आरोहीका बन्दोबस्तीका भारी बोकेर घाँडो बजाउँदै जोप्क्योका हुल अगाडि लागिसकेका थिए । हिमालको पोसिलो पानी खाएकोले होला जोप्क्योहरू यति बलिया भएका । यति धेरै वजन बोकेर पनि भेट्नै सकिन्न, यिनलाई । यस्तै बल आपूmमा पनि भए पो ।

गुराँसे जङ्गलको ओरालो लाग्ने बित्तिकै खाइलाग्दा एक जोडी हिमालयन थार देखिए । तिनीहरू सायद हरिया घाँस खोज्दै थिए होलान् । हिउँले कठ्याङ्ग्रिएका बुट्यानहरूमात्र देखिन्थे वरिपरि । एकछिन सोचमग्न भएँ– बिचरा ! के खान्छन् होला तिनले । प्रकृतिले जीवन दिएपछि सङ्घर्ष गरेर बाँच्न पनि सिकाइदिँदो रहेछ ।

छन त यहाँ हाब्रे, कस्तुरी, मृग, बनेल र स्याल पनि छन् परन्तु अहिलेसम्म तिनीहरूसँग जम्काभेट भएको छैन ।

राजेन्द्रमान डंगोल

केहीबेरमै पुग्यौँ दिबोचे । पर्यटकहरूको अर्को एउटा सुन्दर बिसाैंनी। अलिकति दृश्यको कमी भएर मात्र हो, नत्र बस्नका लागि तेङ्बोचेमा भन्दा राम्रा होटलहरू छन् यहाँ । अलिकति महङ्गो मात्र हो ! पैँतीस सयसम्म पर्छ कोठाको । महङ्गो नहोस् पनि किन यति विकट ठाउँमा ! ‘इलेक्ट्रिक क्विल्ट’समेत उपलब्ध गराइदिन्छन् । सुविधा दिए अनुसारको भाडा त लिनै पर्‍यो नि लगानी गर्नेले !

इम्जा खोला तरेर दिङ्बोचे नपुगुन्जेल त्यसैको सेरोफेरो भएर हिँड्नुपर्छ । खोलाको नजिक पुग्ने बित्तिकै आमादब्लम हिमाल आँखामा ठोक्किन आउँछ । आमादब्लम हेर्दै, पाइला उठाउँदै । यो पो हो त पदयात्राको मजा ! पेन्ट गरेको थाङ्कालाई थपक्क राखेजस्तै गरी चट्टानी पहरामा गुरु रिम्पुचेको सुन्दर चित्र बनाइएको छ र लेखिएको छ, उही बुद्धिस्ट मन्त्र । कस्तो जाँगर ! शेर्पाहरूको आफ्नो धर्मप्रतिको आस्थालाई सम्मान गर्नैपर्छ । देख्ने बित्तिकै ‘ॐ मणि पद्ये हूँ’ नगुन्गुनाइ रहन सक्दिनँ म ।

बढ्दो उचाइ र घट्दो अक्सिजनको मात्रा । पाङ्बोचे पुगेपछि ट्री लाइन सकिने भएकोले पदयात्रीहरूलाई लेक लाग्न सुरु हुन्छ । अघिल्लो पटक आउँदा आफैँलाई टाउको दुखेको याद आयो । फेरि नुनिलोे पानी निस्केको निस्क्यै छ, शरीरबाट । पसिनाका सेता घेराहरूले कपडामा बुट्टा हानिसकेको थियो । सुरुदेखि नै डायोमक्स सेवन गरेकोले होला केही भएको छैन सिङ्गापुरेहरूलाई । यथार्थमा नाम्चेमा जन्मिएर सगरमाथाको टुप्पोमा पुग्नेले हासिल गरेको उचाइ बराबर समद्र सतहबाट आएको मान्छेले पनि दिङ्बोचे आइपुग्दा उही उचाइ हासिल गरिसकेका हुन्छन् ।

दिनको १२ बजेपछि हावाले अँचेट्न थाल्छ नराम्ररी । कहिले पछाडिबाट त कहिले अगाडिबाट । एक पटक विद्यार्थीहरूको समुह लिएर पदयात्रा गर्न आएका ट्रिनिटी कलेज, हार्टफर्टका प्रोफेसर माइकल लेच्जलाई इबीसीबाट फर्केर फेरिचे आइपुग्दा निर्ममतापूर्वक लडाएदेखि नै मैले चिनेको हुँ यहाँको हावालाई । मैले मनमनै भनिरहेको थिएँ– ‘साले हावा ! सक्छस् भने अझै देखा शक्ति ! तेरो तुजुकलाई जाँच्दै छु, म पनि ।’

हावा नचले हुन्थ्यो भनेर पनि के भन्नु ! हावा नचल्ने हो भने यहाँ लागेको घाम सहन पो कहाँ नै सकिन्छ र ! फेरि घाम पनि नलाग्ने, हावा पनि नचल्ने हो भने हिमाल पनि देख्न पाइन्न नि । सह्यो कि रह्यो भन्छन् । सहनु नै रहेछ उपाय । मौनतामा डुब्दै थिएँ म ।

दुई घन्टा हिँडेपछि अन्ततः देखापर्‍यो, दिङ्बोचे । आहा, क्या सुन्दर बस्ती ! चारैतिर हिमालहरूले घेरिएको छुट्टै संसारझैँ । माथि ५,००० मिटरको नाङ्कास्याङ डाँडा, त्योभन्दा मुनि स्वेत स्तुप । यस्तो लाग्छ– शिरमा नाङ्कास्याङको शिरफूल र नाकमा सेतो स्तुपको नाकफुली सजाएर टुसुक्क बसेको छ दिङ्बोचे ।

नाङ्कास्याङ पहाडलाई देखाउँदै मैले भनेँ– ‘उचाइसँग घुलमिल हुन पदयात्रीहरू त्यहाँसम्म पुग्छन् । तर हामीसँग जगेडा दिन नभएकोले त्यहाँ जान सक्दैनौँ ।’

डिलमा बसेर छुकुङ भ्यालीसम्म नजर फिँजाए पछिमात्र दिङ्बोचे ओल्र्यौँ, हामी ।

०००

अर्को दिन बिहान धर्तीले रङ फेरिसकेछ । खैरा पहाडका थुम्काहरू पूरै सेता थिए । हिउँ फुस्फुसाइरहेको थियो । होटलको आँगनमा छानाबाट खसेको हिउँले पहाड बनिसकेको थियो । बाहिर निस्केर चारैतिर आँखा डुलाएँ । अघिल्लो दिन देखिएका गोरेटा, खाल्डाखुल्डी र बुट्यानहरू पूरै सम्मिएका थिए । मनमा लागिरहेको थियो– ‘आज बेसरी रमाउने भए सिङ्गापुरेहरू ।’

ब्रेकफास्ट गरून्जेल पनि फिसफिसे हिउँ पर्ने क्रम टुटेन । मौसमको भर हुँदैन भनेको यही हो । कतै आज दिङ्बोचेमै बस्नुपर्ने त होइन ! सुर्ता बढ्दैै थियो, मेरो मनमा ।

मैले होटलवालासँग सोधेँ, “हिउँ त बाक्लै पर्‍यो । हामी आज लोबुचे जान त सक्छौँ ?”
“लामै समयपछि हिउँ परेको छ । जमिन तातो भएको बेलामा हिउँ पर्दा भिरालो ठाउँमा सोहोरिएर आउन सक्छ । आज यतै बसेर भोलिमात्र गए हुन्छ ।” उनले सल्लाह दिए ।

उनको कुरा गलत थिएन । तर दिङ्बोचेमा दुईरात बस्दा इबीसी गएर समयमै काठमाडौँ फर्कन सक्ने अवस्था थिएन ।

लाल भन्दै थिए– ‘होटलवालाले त यहीँ बस भनिहाल्छ नि ! उसको ब्यापारी नीति हो । एकछिन हेरौँ न ! भर्खर त आठ बजेको छ ।’

समय नघर्किसकेकोले ‘पर्ख र हेर’मा थिएँ, म पनि ।

बिस्तारै बिस्तारै घामको किरणले बादल छेडेर हिउँले लिपिएको धर्ती चुम्न आइपुग्यो । पदयात्रीहरू उँभो लाग्न थाले । होटलमा बसेका अरू पनि निस्कन थालेपछि हामी पनि निस्क्यौँ । हिउँबाट परावर्तन भएर आउने घामका किरणबाट बच्न गालामा मज्जाले निभिया क्रिम दल्यौँ, सनग्लास लगायौँ र बिदा लियौँ दिङ्बोचेसँग ।

पदयात्रीहरूको लर्कन लाग्यो उकालोमा । लालले अगाडि बढेर छुट्टै मार्ग कोर्दै गए । हामी उनकै पाइला पछ्याउँदै गयौँ । हिउँमा टेक्न पाउँनु सिङ्गापुरेहरूका लागि नयाँ अनुभव थियो । बिछट्टै खुसी थिए उनीहरू ।

४ हजार ६ सय मिटरको उचाइमा पुगेपछि लोबुचे देखियो । पुमोरीले शीरमात्र देखाएको थियो ।

अलि ढिलो हुने भएरमात्र हो, नत्र हिउँमा हिँड्नुको मज्जा नै बेग्लै । घामको रापले माथि जानुको साटो तलतल सर्ने भएकोले दुई घण्टामा पुगिने थुक्ला तीन घन्टा लाग्यो । हिउँले भिजेर जुत्ता भारी भइसकेको थियो । उस्तैै थियो, सबैको हालत ।

अरू बेला लन्चका लागि लोबुचे नै पुग्ने गरिन्थ्यो तर यो पटक सकिने छाँट देखिएन ।

“लेट्स ह्याभ लन्च हियर !” मैले प्रस्ताव राखेँ ।

भोको पेटले बाँसुरी बजाउन सुरु गरिसकेको रहेछ । उनीहरूले स्वीकार गरे ।

थुक्लाको होटलमा खाना खानेहरूको भीड थियो । सजिलोका लागि सबैले एउटै खाना अर्डर गरे दाल–भात ।

‘उठ् जोगी फड्कार छाला, जहाँ जाला भातै खाला’ भनेझैँ दाल–भात खाएर ढुङ्ग्यान बगरको क्रमिक उकालोमा कदम उठायौँ ।

थुक्लाबाट लोबुचे साढे तीन किलोमिटरमात्र हो । उचाइले गर्दा पाइला सार्न कठिन भएपछि टाढा लाग्दोरहेछ । अघि थुक्लापारिबाट हेर्दा तेर्पे उकालोजस्तो देखिएको बाटो पनि ठाडै उकालोजस्तो लाग्दै थियो । चीन र जापानजस्ता देशको हातमा नेपाल परेको भए ! इबीसीमा उहिल्यै रेल आइसक्थ्यो होला । हामी ट्रेकिङको साटो टुर चलाइरहेका हुन्थ्यौँ । कल्पनाको बैशाखी टेकेर उकालिँदै थिएँ म ।

ठाउँठाउँमा भएका बिसौनी पनि हिउँभित्रै दबिएका थिए । उभिएरै थकाइ मार्‍याैं हामीले ।

यतिखेर हामी खुम्बु हिमनदीको क्षेत्रमा प्रवेश गरिसकेका थियौँ । छेउछाउका थुम्काथुकीहरूमा बुद्धिस्ट झन्डाहरू फर्फराइरहेका थिए । सगरमाथा आरोहणमा ज्यान गुमाएकाहरूका शिलालेखहरू पनि भेटिन्छन् यहाँ । थुप्रैथुपै्र आरोहीहरू यसरी नै बाँचिरहेका छन्, सम्झना भएर ।

धन्न हिँडेकै छन्, सिङ्गापुरेहरू । खुसीको कुरा, अहिलेसम्म टाउकोसम्म दुखेको छैन उनीहरूलाई ।

मैले उनीहरूलाई सोधेँ, “हाउ आर यू फिलिङ ?”

पदयात्रा सुरु गरेदेखि नै डायोमक्स सेवन गरेकाले सजिलो भएको हुनुपर्छ, भन्ने मेरो ठम्याँइ थियो ।

सबैबाट एउटै जवाफ आयो, ‘गुड !’

गन्तव्य त्यति धेरै पर नभएकाले मैले उनीहरूलाई प्रत्येक पाइलामा रोकिएर हिँड्न भनेँ ।

जोप्क्योका हुललाई साइड दिँदै निरन्तरता दियाँै । विकट ठाउँमा हिँड्नु जोप्क्योहरूको बाध्यता र हाम्रो रहर ।

हिमालहरूको विशाल सञ्जालभित्र पुगिसकेका थियौँ हामी । हिजोअस्ति टाढाबाट देखिएका सबै नजिकिँदै थिए र मुस्कान फ्याँकिरहेका थिए– लोबुचे वेस्ट र इस्ट, लिङ्ट्रेन, खुम्बोचे, फोकाल्दे, ल्होत्से (८,४१३ मि.) र ल्होत्सेसार (८,५१६ मि.) स्यार्जे, नुप्से, पुमोरीको टुप्पो, चोलाच्छेले । यतै हिमाल, उतै हिमाल । नाङ्गा र उजाड पहाडहरूले पनि भेष बदलिसकेका थिए, अघिल्लो रात परेको हिउँको मजेत्रो ओढेर । कतिलाई मात्र हेर्नु । वास्तवमा पागल भइसकेको थिएँ हिमाल हेरेरै ।

०००

लोबुचेमा भरियाहरू डाइनिङमा बसेको होटलवालाहरूलाई मन पर्दैन । एउटा गाइडसँग भरिया पनि सँगै बसेछ । होटलवाला गाइडसँग आक्रामक भएर चिच्याउँदै थिए र भन्दै थिए, “तुलाई थाहा भाएर पनि यसो गार्ने ? तुइले हेपिरा’को छा । के ठान्छस् । तिमी पनि जा । गेस्टलाई पनि लैजा ।”

विचरा गाइड विनम्रताका साथ भन्दै थिए, ‘मेरो पोर्टर एकछिन बसेको मात्र हो । ऊ खान र सुत्न सेल्टरमै जान्छ ।’

तैपनि होटलवालाको तातेको पारो सेलाएको थिएन । भुत्भुताउँदै थिए उनी ।

मलाई नमज्जा लाग्यो । देख्नेहरू सबै अमुक थिए । गाइड पाहुना नभए पनिे होटलका लागि पाहुना ल्याइदिने मान्छे त हो नि । नेपाली संस्कारमा पाहुनाजस्तो मान्छेलाई यसरी हपारेको सुहाउँदैनथ्यो । सायद शेर्पाहरूको आफ्नै संस्कार विपरित थियो, उनको त्यो हर्कत ।

हुन त होटलको पनि आफ्नै समस्याहरू होलान् । यही कुरा शिष्ट भएर भन्दा के बिग्रन्थ्यो र ? यतिका मान्छेहरूका सामु ती गाइडको अपमान गर्नैपर्ने ? कसैले त्यो गाइडको पक्षमा बोल्न सकेनन् ।

०००

स्लिपिङब्यागभित्र लाइनर हालेर टोपी र मोजा नफुकालिकनै सुत्दा पनि बिहान उठ्दा मलाई खुम्बु कोल्डले छोइसकेको रहेछ । लोबुचेमा हिउँ पगालेको पानी पिएको नतिजा यस्तै हुन्छ भन्ने पहिल्यै थाहा थियो । लाग्यो– ‘बरू रू. दुइ सय पचास तिरेर भए पनि बोत्तलकै पानी पिउनुपर्ने रहेछ । त्यतिखेर बुद्धि आएन त, के गर्नु ! थकथकाइरहेँ म ।’

सात बज्दा तीनैजना डाइनिङहलमा हाजिर भए, ब्रेकफास्टका लागि ।

मैले उनीहरूको अनुहार पढेँ । अल्टिच्युडले एकरत्ति कसैलाई छोएको थिएन । तर स्याजेन र लिलाई भने मलाईजस्तै खुम्बु कोल्डले छोइसकेको रहेछ । मैले उनीहरूलाई अदुवा–पानी पिउन सल्लाह दिएँ ।

गोरकसेपका लागि उत्साहको पाइला उठ्यो हाम्रो । ग्लासियर पाथमा पुगेपछि आँखामा छाउन थाल्यो हिजोसम्म टाउकोमात्र देखाएको सुन्दर पुमोरीको सग्लो रूप र कालापत्थरसमेतको महालङ्गुर हिमशृङ्खला । कस्तो भव्यता हिमालहरूको ! पाइला नरोकिरहनै सकिनँ । पढेँ मैले तमाम छटाहरूलाई । निकै प्रतिविम्बक छ पुमोरी, बिर्सनै नसकिने ।

तल हिमनदी घस्रिरहेछ, बडेमानका चट्टान बोकेर । हामी त्यसैमाथि हिँडिरहेका थियौँ । कति ढिलो हिँड्छ हिमनदी । खोलाजस्तै बग्ने भए त हाम्रो यात्रा कहाँको सम्भव हुनु र ! प्रकृतिले दिएको ठूलै अवसर हो यो । मनोलाप गर्दै थिएँ म ।

थुम्कामा बस्दैगर्दा देखिएको कालापत्थर र बेस क्याम्पको दृश्य पनि कम सुन्दर थिएन । इबीसीलाई जुम गरेर स्याजेनले देखाए मलाई । राता, नीलो, हरिया र पहेँला टेन्टहरूले भरिएको इबीसी एउटा पृथक गाउँजस्तै लाग्थ्यो । सगरमाथा आरोहणका सिलसिलामा बस्नका लागि हिमनदीमाथि खडा गरिएका आधारशिविर थिए ती ।

स्याजेनले सोधे, “हिमालहरूको नामकरण कसरी गरियो ?”

उनको प्रश्न असाध्यै राम्रो थियो । बिनाअर्थ कुनै पनि हिमालको नाम छैन । आफूलाई एभरेस्टबाहेक अरू हिमालको नामकरणका बारेमा जानकारी छैन ।

“कसरी राखियो हिमालहरूको नाम भन्नुस् त दाइ !” स्याजेनको प्रश्न मैले लाललाई टाँसो लगाइ दिएँ ।
“विभिन्न अर्थमा हिमालहरूको नाम राखिएका छन् । शेर्पा भाषामा ‘नुप्से’ भनेको पश्चिम र ‘लोत्सेसार’ भनेको पूर्व रे । लोत्सेभन्दा पूर्वपट्टि परेकोले सजिलोको लागि त्यसो भनिएको हो । कुनैको नाम त्यसको आकृतिअनुसार राखिएको छ । जस्तै– ‘काङ्तेगा’ । झलक्क हेर्दा ‘काङ्तेगा’ काठी कसेर ठिक्क पारेको घोडाजस्तै लाग्ने भएकोले त्यसो भनिएको रे । त्यस्तै ‘आमादब्लम’लाई नानी बोकिरहेकी आमाजस्तै देखिने भएकोले आमादब्लमभनिएको रे ।शेर्पा भाषामा ‘दब्लम’को अर्थ ‘हार’ पनि हो । आमाले लगाएको हार पनि भनिन्छ आमादब्लमलाई । अन्नपूर्णमा हिउँचुलीलाई साउथ अन्नपूर्णको सानी बहिनी भनेझैँ यहाँ पुमोरीलाई सगरमाथाको सानी छोरी भनिन्छ । शेर्पा भाषामा ‘पुमो’को अर्थ सानी छोरी र ‘रि’को अर्थ हिमाल हो । पुमोरीलाई शक्तिशाली पर्वत मान्छन् शेर्पाहरू ।” उनले भने ।

‘गोरकसेप’ भनेको काग मरेको ठाउँ हो । त्यहाँ पुग्नै लाग्दा ‘गोरकसेप’को प्रसङ्ग निकाल्दै लालले भने, “यहाँ ठुला कदका कागहरू ‘गोरक’, ‘गोरक’ गरेर कराउँछन् । शेर्पा भाषामा ‘सेप’ भनेको मर्नु हो । यो ठाउँमा कसैले काग मरेको देखेछन् रे । त्यसपछि यस ठाउँलाई ‘गोरकसेप’ भनिन थाल्यो रे ।” मैले यही कुरा उनीहरूलाई पनि बताएँ ।

छिनछिनमा भुत्ते सुस्केरा हाल्दै उकालिँदै थिएँ म । सिङ्गापुरेहरूका पाइलै पिच्छेको खुइया पनि सुन्नलायक थियो । धन्न लाल थियो र ! उनको कुरा सुनेर बाटो कटेको पत्तै भएन । उनले दन्त्य कथामा भनेको काग मरेको ठाउँ पुगियो ।

हामी सीधै स्नोल्यान्ड होटलमा प्रवेश गर्‍याैं ।

ज्यानमा पानी नपरेको चार दिन भैसकेको थियो । फेरिचे पुगेर पसिना पखाल्न आतुर थिएँ म । आज एकरात काट्न पाए त !

०००
सगरमाथा सुम्सुम्याउन आतुर हामी भोलिपल्ट सखारै उकालो लाग्यौँ ।

सगरमाथाले तानिरहेको छ हामीलाई । टर्चलाइटको सहारामा एकतमासले उक्लिरहेका छौँ, उही हिमानी मार्गका चट्टानहरू समाउँदै ।

अँध्यारोको विलुप्तिमा उज्यालोको साम्राज्य बढ्दै थियो, बढ्दै थियो । इबीसीमाथिको डिलमा पुगिसकेका थियौँ हामी । उदाउँदो घामसँगै झुलुक्क झुल्क्यो नुप्से र ल्होत्सेका पछाडि गमक्क परेर बसेको सगरमाथा र घामको लालित्यले टलक्क टल्कियो नम्बरी सुनझैँ । सगरमाथा यसरी झल्झलाकार भइरहेको थियो कि मानौँ, घामको झुल्कोले सगरमाथाको शिरमा सुनको लावा बर्साइरहेछ ।

यात्राभरकै सबैभन्दा नजिकको दृश्य थियो त्योे ।

मैले भनिहालेँ, “उः… त्यही हो माउन्ट एभरेस्ट ! नेपाल भनेर नचिने पनि सगरमाथाको देश भन्दा सबैले चिन्छन् । यही हो चिनारी हाम्रो । यही हो स्वाभिमान ।”

सबैले एकतमासले हेरिरहे सगरमाथालाई, आँखा चिम्म नगरिकनै । यतिसम्म कि तस्बिर लिन पनि भुलिरहेका थिए ।

सगरमाथा निर्बाध हाँसिरहेथ्यो । मैले मनले छोएँ सगरमाथालाई । आँखाले सुम्सुम्याएँ बेस्सरी । गर्वले बडेमान भएर फुल्दै थियो, मेरो छाती । छमछमी नाचिरहेथ्यो, मेरो मन । यस्तो भान हुन्थ्यो– म सगरमाथासँग रमाएको बेला मेरो खुसीमा स्वयम् सगरमाथा पनि हाँसिरहेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment