+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

सामाजिक सञ्जालमा साम्प्रदायिक विभेद र असहिष्णुता

मोहम्मद वाहिद अलि मोहम्मद वाहिद अलि
२०७६ साउन १८ गते १०:३९

धार्मिक विषय निकै संवेदनशील हुनेगर्छ । धार्मिक विषयमा लेख्न अथवा बोल्न भन्दा पहिले धेरै अध्ययन तथा ज्ञानको आवश्यकता हुन्छ । त्यसो त ईस्लाममा मात्र अन्य धर्ममा जस्तै आफुमा भएको ज्ञान अरुलाई बाँड्नुपर्छ भनिएको छ । तर, कस्तो व्यक्तिले ज्ञान बाँड्दैछ, त्यो पनि महत्वपूर्ण हुन्छ । किनकी धर्मग्रन्थमा लेखिएको कुराहरु कुनै एक व्यक्तिको बुझाइसँग केही अर्थ लाग्दैन ।

वर्तमान अवस्थामा मानिसहरु आफु अनुकुल व्याख्या गर्दै ईस्लामले दिएका आदेशहरुलाई तोडमोड गर्ने कोसिस गरिरहेका छन्, जुन निकै निन्दनीय छ ।

म इस्लाममा भनिएका आधारभूत कुराको पूर्ण पालना गर्न नसकेको मान्छे । धर्मले वर्जित गरिएका धेरै कुराहरुबाट पूर्णरुपमा बच्न नसकेको मान्छे । त्यसैले ईस्लामिक ज्ञानगुन बाड्ने भन्दा पनि नेपाली मुसलमानले सामाजिक सञ्जालमा अनुभव गरिरहेका सामाजिक चासोमाथि आफ्ना विचार राख्ने प्रयास गरेको छु ।

मानव परापूर्वकालदेखि नै आफ्नो चालचलन, विचार तथा सिद्दान्त मिल्नेहरु बीच झुण्ड भइ बस्ने गरेको पाइन्छ । आज त्यहि झुण्डलाई समाज अथवा समुदाय भन्ने गरिन्छ । जहाँ धनिर गरिव, शिक्षित र अशिक्षित तथा बलिया र कम्जोर सबै अटाएका हुन्छन । अहिले समाजको परिभाषा फेरिएको अवस्था छ । समाजले अहिले ठुलोरुप लिएको छ । अर्थात् इन्टरनेट तथा सामाजिक संजालको कारण पुरै विश्व साघुरिएको छ ।

व्यक्तिगतरुपमा म फेसबुकसँग जोडिएको एकदशक भन्दा धेरै भैसकेको छ । जसले गर्दा फेसबुक लगायतका सामाजिक संजालका धेरै पाटा केलाउने तथा बुझ्ने अवसर मिल्यो । सामाजिक संजाल जसले संसार भरिका मानिस तथा मानिस संग जोडिएका कैयौ पाटाहरुलाई हेर्ने, बुझ्ने तथा उपयोग गर्न सहज गरिदिएको छ ।

धार्मिक गुरुहरुको पनि सामाजिक सञ्जालप्रति गजबको मोह देखिएको छ । उनीहरू सामाजिक सञ्जालमा जोडिने मात्र नभई सामाजिक सञ्जालको भरपुर उपयोग गरिरहेका छन् । आफ्ना सुन्दर तस्वीरसँगै भावना तथा रिस–रागसम्म प्रस्तुत गरिरहेका हुन्छन्

कुनै पनि समाज तथा समुदाय धर्म संग जोडिएको नै हुन्छ । त्यसैले सामाजिक संजालमा धार्मिक बहस नहुने कुरै भएन । त्यसो त यस संजालमा धार्मिक र अधार्मिक दुवै कुराहरु वर्जित छैनन । अपराधिक मानिस देखि साधु सज्जन अनि शरीर पुरै ढाकिने पहिरन लगाउनेदेखि निकै कम वस्त्र लगाउने मानिसहरु यहाँ देख्न सकिन्छ । पहिरनसँगै विचार लगायत धेरै विविधता भएका मानिसहरु यहाँ भेट्न सकिन्छ । त्यसैले सामाजिक संजाल धेरै पक्षबाट उदार देखिन्छ ।

वर्तमान अवस्थामा धार्मिक प्रचारप्रसार तथा बहसको निम्ति सामाजिक संजाल प्रयोग बढ्दै गरेको पाइन्छ । यसरि सामाजिक संजालमा धार्मिक बहस तथा पोस्टहरु गरिरहदा यसका फाइदा बेफाइदाका आआफ्नै तर्कहरु होलान । तथापी धार्मिक बहस तथा पोस्टहरु सामाजिक संजालमा फैलाउदै गर्दा यो धर्मको दयारामा छ कि छैन भन्ने सवाल महत्वपूर्ण छ ।

सामाजिक सञ्जालको प्रयोग

सामाजिक सञ्जाल देश, समाज र परिवेश अनुसार फरक किसिमले प्रयोग गरेको पाइन्छ । हाम्रो समाजले सामाजिक सञ्जालको प्रयोग धन हुनेले धन, रुप हुनेले रुप, ज्ञान हुनेले ज्ञान देखाउने माध्यमका रुपमा लिएका छौ । यसलाई आफ्नो वैभव देखाउने संजाल भन्दा दुईमत नहोला । जसले गर्दा समाजमा यसको नकरात्मक असर परिरहेको देखिन्छ । कसैले आफ्नो नयाँ घर, गाडी, पार्टी, मोजमस्ती तथा खानेकुराका फोटो, भिडियो पोस्ट गर्यो भने त्यसले धेरै लाई बेचैनि गराउँछ । कतिले तुरुन्त आफ्नो भडास पोखी हाल्छन् । यसरी कसैको प्रगतिले कसैको चित्त दुख्छ भने यो देख्ने देखाउने काम पक्कै पनि ठिक होइन ।

पछिल्लो समय सामाजिक संजालमा संसारिक रंगरमाईलो देखाउने मात्र नभई धर्मकर्म प्रति मेरो झुकाव यति भनेर देखाउने माध्यम पनि बनेको छ । कतिले आफ्नो पहिरन, सत्कार्य, ध्यान आदि कुराहरु माथि गर्व गर्दै सामाजिक संजालमा पोस्ट गर्ने गर्छन् । पक्कै पनि यी सबै कुरा देखाउनको निम्ति होइन । धर्म जस्तो नितान्त व्यक्तिगत कुरा अरुलाई देखाउनका निम्ति गरिने हुँदै होइन ।

फोटो तथा भिडियोको सन्दर्भ

सामाजिक सञ्जाल अहिले आएर फोटो तथा भिडियो निकै महत्वपूर्ण भएर आएको छ । मानिसहरु आफ्ना दैनिक गतिविधि फोटो तथा भिडियोको माध्यमबाट एकअर्का माझ फैलाउने काम सामाजिक संजालमा हुन्छ । केही दशक पहिले मानिसहरु मोबाइल बोकेजस्तै क्यामेरा हातमा बोकेर हिँड्ने गर्दथे । त्यसै बिचमा केही बुज्रुकहरु थिए, जसले फोटो खिच्न असहमति जनाउथे । ईस्लाममा फोटो खिच्नु बर्जित छ भन्थे । अहिले पनि केही त्यस्ता इस्लाम धर्मालम्बीहरु भेटिने गर्दछन । फोटो खिच्न लालायित हुने उ बेला उनीहरु आफु अनुकुल ईस्लामिक आदेशलाई तोडमोड गरेर आफ्नो फोटो खिचाउन चाहेनन् । वर्तमान अवस्था बेग्लै छ । मानिसहरु आवश्यकता भन्दा पनि फोटो, भिडियो खिच्ने सौख राख्दछन । त्यो पनि सामाजिक सञ्जालमा पोस्ट गर्नका निम्ति ।

मोहम्मद वाहिद अलि

के सर्वसाधारण, के धर्म गुरुहरु चिरिच्याट्ट परेको फोटो तथा भिडियो सामाजिक संजालमा पोस्ट नगर्ने व्यक्ति कमै भेटिन्छ । त्यसो त् फोटो भिडियोबिना पनि सामाजिक सञ्जाल प्रयोग गर्न सकिन्छ ।

हामीले सिनेमा हेर्न वर्जित छ भन्ने कुराहरु धर्म गुरुहरुबाट सुन्दै आएका छौ । जसको चर्चा सामाजिक सञ्जालमा पनि हुने गर्छ । सिनेमा जहाँ बेपर्दा महिला पुरुषका बीच अभिनय तथा नाचगान हुने गर्दछ । आजको युगमा पनि आफ्नो सम्पूर्ण जीवनकाल भरि सिनेमा नहेर्ने कैयाैं त्यस्ता बुज्रुगहरु छन् । उहाँहरु सिनेमाका सम्बन्धमा किन्तु परन्तु लगाउन चाहँदैनन् । कतिपय बुज्रुक, जसले घरमा टेलिभिजनसम्म पनि राख्दैन ।

हामी फेसबुक प्रयोगकर्ता जसले न्युजफिडमा डुल्दै गर्दा त्यस्ता नाचगान, फिल्म, व्यवसायिक प्रचारप्रसार र आफूसँग भएका साथीहरुका बेपर्दा भिडियो, फोटो आउने गर्दछन । फेसबुकमा ती सबै कुरालाई बर्जित गर्ने कुनै विकल्प हँुदैन । फेसबुक चलाउँदै गर्दा हामी ती सामग्री हेर्न बाट अछुतो रहन सक्दैनौ । अर्थात् फेसबुक जस्ता सामाजिक संजाल हेर्नु र फिल्म हेर्नुमा कुनै भिन्नता छैन भन्दा दुइमत नहोला ।

पहिरनका कुरा

सामाजिक संजालमा पहिरनका बारेमा धेरै बहस हुने गर्दछ । अझ भनौ महिलाका पहिरनमा । पहिरन शरीर पुरै ढाकिने हुनुपर्छ, चाहे त्यो पुरुषको होस् अथवा महिलाको । फेरि धर्ममा घुमघाम, बिहे तथा पार्टी छुट दिएको छैन । केहि मानिसहरु आफ्ना सहजतामा पहिरिने पोशाकको आडमा अरु माथि निकै प्रश्न तेस्र्याउने गर्छांै । जाडोमा ईस्लामिक पहिरनमा फेन्सी ज्याकेट लगाउने गरिन्थ्यो । अहिले पनि बिवाह जस्ता कार्यमा त्यस्ता पहिरन लगाइन्छ । तर, त्यो पहिरनमा अहिले सिनेमा शैलीमा चश्मा लगाउने गरिन्छ । तर, त्यस्तै ज्याकेट, कोट तथा चस्मा संगै ट्राउजर, पाइन्ट क्याप लगाउनेहरु लाई फरक सोच्ने सिद्धान्तले ग्रसित छौं । यो त आफु अनुकुल सोच भएन र ?

अरुका बारे टीकाटिप्पणी

सामाजिक सञ्जालमा मानिसहरु आफ्ना कमीकमजोरीहरुलाई नजरअन्दाज गरिरहेका हुन्छन् । ती कमीकमजोरी सबैका अगाडि छर्लङ्ग हुन्छ । ईस्लाममा ईल्म तथा पहिरनसँगै नियत पनि महत्वपूर्ण हुने गर्छ । व्यवहारिकरुपमा शुन्य । तर, देखाउनका निम्ति गरिने धार्मिक कार्य, बहस, उपदेश व्यर्थ हो । सामाजिक सञ्जाल केवल आफूलाई मन नपर्ने व्यक्तिले गरेका कार्यहरु माथि धेरै टीकाटिप्पणी गर्ने तर आफू तथा आफ्ना परिवारले त्यस्तै प्रवृतिका तथा गैरधार्मिक कार्यको नजरअञ्दाज गरेको देखिन्छ । बरु त्यस्ता गैरधार्मिक पोस्टहरुमा तारिफ गर्दै कमेन्ट लाईक गर्न छुटाउँदैनन् । धर्मले पक्कै पनि कसैलाई गल्ति गर्ने छुट दिएको छैन । अरुका बारेमा सोच्दै गर्दा पहिले आफैमा परिवर्तन ल्याउने कोसिस गर्नु पर्दछ ।

फेसबुके संस्कार

सामाजिक संजालको सामान्य नियम साथीबनाउने, फोटो, भिडियो तथा स्ट्याटस पोस्ट गर्ने अनि लाइक, कमेन्ट तथा शेयर गर्ने आदि हो । हामीले कस्तोलाई साथी बनाउने, कस्तो सामग्रीमा लाई लाइक , कमेन्ट तथा शेयर गर्ने भन्ने कुरा आफैमा स्वतन्त्रता छ । एउटा धार्मिक मानिस जसले गैर महिला तथा पुरुसलाई साथि बनाउनका निम्ति अनुरोध पठाउछ । साथी बनिसकेपछि एउटा धार्मिक व्यक्ति जसले आफ्नो मर्यादा नै भुलेर उसका फोटो तथा भिडियोमा लाइक तथा तारिफयुक्त कमेन्ट गर्दछ ।

कतिपय अवस्थामा त्यस्ता तस्विर र भिडियोमा प्रसंसा गर्न योग्य छैन भन्ने तर्फ हेक्का राखिदैन । त्यसैगरी गैर धार्मिक पोस्टमा गरिने प्रतिक्रियाले कस्तो संदेश दिन्छ भन्ने सम्म हेक्का हुदैन । गैर महिला पुरुष मात्र नभई आफ्नो परिवार, इष्टमित्र तथा समाजका व्यक्तिहरुका गलत पोस्टहरुमा लाइक, कमेन्ट नगरी बस्ने स्वतन्त्रता आफू संगै सुरक्षित हुन्छ । तथापि यसलाई संस्कारको रुपमा लिनु गलत होइन र ? गलतकार्य लाई प्रोत्साहन गरेको भएन र ?

धार्मिक पोस्ट

सामाजिक संजाल जस्तोसुकै अवस्थामा हेर्ने गरिन्छ । अर्थात् पवित्र स्थानमा पवित्र भएर हेरेको हुँदैनौ । पाइखानामा बसेर फेसबुक हेर्दै गर्दा अथवा त्यस्तै अपवित्र अवस्थामा फेसबुक हेर्दै गर्दा धार्मिक पोस्टहरु अचानक न्युजफिडमा आइदिदा पक्कै पनि त्यो सहज अवस्था हुँदैन ।

कतिपय अवस्थामा धार्मिक पोस्ट, पवित्र ग्रन्थका श्लोक तथा पवित्र धार्मिकस्थलका फोटोहरु का अघि पछि निकै अधार्मिक पोस्टहरु आइदिने गर्दछन् । यसले पवित्र धार्मिक पोस्टहरुको अपमान हुने गर्दछ । कतिपय धार्मिक पोस्टहरुमाथि गैर धार्मिक कमेन्ट तथा बहस हुने गर्दछ जसले गर्दा ती धार्मिक पोस्टहरुको मर्यादा नहुने देखिन्छ । हामी यस्ता कुराहरुमा सजग हुन जरुरी छ ।

धार्मिक असहिष्णुताको प्रदर्शन

हामी सामाजिक सञ्जालमा धार्मिक कट्टरता प्रस्तुत गरिरहदा धार्मिक सद्भाव, आपसी भाइचाराको सम्बन्धमा के कस्तो असर पर्ने हो बुझ्नु आवश्यक छ । आफुलाई धार्मिक व्यक्तित्व भनेर प्रस्तुत गर्नु भन्दा आत्मा देखि अनि व्यवहारिक रुपमा कट्टरता हुनु पर्दछ। जसले गर्दा समाजका विकृतिहरुलाई सहजै पराजय गर्न सकिन्छ। तर देखाउनका निम्ति गरिने कट्टरताले केवल हामी असहिष्णु देखिनेछांै । सामाजिक संजालमा मुस्लिम तथा गैरमुस्लिम, धार्मिक तथा अधार्मिक सबैकिसिमका साथि बनाउने तर कट्टरताका नाममा अन्य धर्मलाई आँच आउने प्रसंगलाई अतिरन्जित गर्नु गलत हो ।

हामी व्यापार–व्यवसाय, कृषी , सरकारी तथा गैरसरकारी जागिरे जेसुकै पेशामा आबद्ध भए पनि त्यो केवल पेशा मात्र नभएर सेवा पनि हो । ती सेवाहरु गरिरहँदा हामी धर्म–जात हेर्दैनौ । अर्थात् हामी आफ्ना फाइदाका निम्ति किन्तु परन्तु नलगाई सेवामा तल्लिन हुन्छौ । तर, हामी मानवता तथा धार्मिक सहिष्णुताका निम्ति गरिने कार्यहरु प्रति लक्षित गरेर विभिन्न टिकाटिप्पणी गरेर सामाजिक सद्भावना आपसी भाइचाराको सम्बन्ध बिथोल्ने काम गर्दछौ । यस्ता गतिविधि सामाजिक सञ्जालमा गर्दै गर्दा भविष्यमा घट्न सक्ने ठुलो दुर्घटनाको बारेमा हामि सचेत हुनु जरुरि छ ।

खुल्ला धार्मिक बहस

सामाजिक संजालमा धार्मिक मुद्दाहरुमा खुल्लारुपमा बहस हुने गर्दछ । सामाजिक संजाल प्रयोगकर्ताहरु एक आपसमा छलफल तथा बहस गर्नका निम्ति ग्रुप च्याट, ग्रुप कल तथा अन्य धेरै उपायहरु उपलब्ध गरिएको छ । तर हामी सिधै कमेन्ट बक्समा नै युद्द गर्न  हाेमिन्छाैं ।

यो पक्कै पनि हामीबीच भएका कमीकमजोरी छरपस्ट पार्ने काम हो । एकअर्कालाई होच्याउने र अन्तिममा धार्मिक दायराभन्दा बाहिर गएर गालीगलौज गरेको पनि भेटिन्छ । यस्ता कार्यहरु पक्कै पनि फाइदाजनक होइनन । पुण्य कमाउने उदेश्यले नै बहस गर्दै छौ भने किन हामी ती सुविधाको प्रयोग गर्दैनाैं ।

धार्मिक व्यक्तिहरुको सामाजिक संजाल मोह

किन्तु परन्तु नलगाउने हो भने सामाजिक सञ्जाल धार्मिक दयारा भन्दा पर छ । यसको विकृति यति अनियन्त्रित छ कि कतिपय देशहरुमा सामाजिक सञ्जालहरु माथि प्रतिबन्ध लगाइएको छ । तथापि धार्मिक गुरुहरुको पनि सामाजिक सञ्जालप्रति गजबको मोह देखिएको छ । उनीहरु सामाजिक सञ्जालमा जोडिने मात्र नभई सामाजिक सञ्जालको भरपुर उपयोग गरिरहेका छन् । आफ्ना सुन्दर तस्वीरसँगै भावना तथा रीस रागसम्म प्रस्तुत गरिरहेका हुन्छन् ।

अन्त्यमा

सामाजिक सञ्जाल जस्तो रंगमञ्चमा जोडिएर फेरि पनि आफुलाई शुद्ध धर्मात्मा हो भनिरहनु ‘पानीमाथिको ओभानो’ जस्तै हो । सामाजिक सञ्जाललाई आफ्नै बाटोबाट चल्न दिऊँ । आफू संकीर्ण सोच पनि राख्ने अनि सामाजिक सञ्जाल चलाउने दुई कुरा एकसाथ हुनु राम्रो होइन । उदार सोच भएकाहरुले यसलाई प्रयोग गरिरहेका छन् ।

यस्तो उदार सञ्जालमा जोडिएर धार्मिक कुरामा नियन्त्रण गर्छु भन्नु आफुलाई अनुदारवादी देखाउनु हो । धर्मका राम्रा कुरा फैलाउन र सामाजिक सञ्जालमा भएका विकृतिलाई नियन्त्रण गर्ने बहानामा आफुलाई सामाजिक सञ्जालको संस्कारयुक्त बनाउनैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?