Comments Add Comment

मुक्तिक्षेत्रमा सयौं वर्ष पुरानो यार्तुङ, १९ गाउँका बासिन्दाले मनाउँदै उत्सव

२८ साउन, मुक्तिनाथ । तामाको भाँडामा चोखो रक्सी, लुलु गाईको शुद्ध घ्युमा मुछिएको चामल, घ्युबाटै बनाइएको परम्परागत प्रसाद, ठ्यांग्रो ठोक्दै परम्परागत गीतका भाका हाल्दै निस्किए, एक हुल स्थानीय । बक्खु, दोचासँगै हिमाली क्षेत्रमा लगाइने पुर्ख्यौली पोसाकमा सजिएका स्थानीयले पाहुनालाई यसरी स्वागत गरे ।

शुभ साइत र शुभ कार्यमा गाइने गीतसँगै रमाइरहेका छन्, गाउँले । गाउँ-गाउँबाट आएका बासिन्दाले अंकमाल र हात मिलाउँदै शुभकामना दिँदै भनिरहेका छन्- टसी धेलेक, टसी धेलेक अर्थात् स्वागत छ, शुभकामना छ ।

खासै बर्खाको पानीले नभिजाउने हिमाली जिल्ला मुस्ताङको मुक्तिक्षेत्रमा यस्तै रौनक छ । परम्परागत मौलिक संस्कृति, पोसाक र इतिहासलाई पछ्याउँदै गाउँ-गाउँबाट स्थानीय भेला भएका छन् ।

बर्खा सकियो । उति साह्रो खेतीको माचो छैन । अनि जनैपूर्णिमाको छेको पारेर मुक्तिनाथ वरपरका गाउँलेहरु एकै ठाउँ भेला हुन्छन् र उत्सव मनाउँछन् । यो उत्सवमय पर्व हो- यार्तुङ ।

मुक्तिनाथ मन्दिरको प्रवेशद्वारमा पुरानो बजार छ, रानीपौवा । यसै पनि यहाँ मुक्तिनाथ पुग्ने पर्यटकको चहलपहल भइरहन्छ, हिउँ पर्ने यामबाहेक । रानीपौवामा यसपाली पर्यटकको उति चहलपहल छैन । बरु स्थानीयको यार्तुङ पर्वले गुल्जार छ । अनि गुल्जार एक गाउँको होइन, १९ गाउँको । हो, रानीपौवामा यतिबेला यार्तुङको सामूहिक उत्सव चलेको छ ।

१९ गाउँका बासिन्दा एकसाथ, एकै ठाउँ भेला भएर मनाउने यार्तुङ उनीहरुको सबैभन्दा उल्लासको पर्व हो । बर्खायामको बिदाइका रुपमा यार्तुङको अर्थ लगाउँछन् स्थानीय ।

हिमाली बासिन्दाका बेग्लै दुःख छन् । हिउँ परे पनि नपरे पनि उनीहरुलाई चिन्ता पर्छ । हिउँदमा गाउँ ठाउँमा बस्नै सकस हुन्छ । चौंरी, भेंडा, घोंडा लगायतसँग किसानका दिन गोठ, खर्कमै बित्छ । सबै दुःख, कष्टलाई भुलेर उत्साहका साथ प्रत्येक वर्ष जनैपूर्णिमाका बेला मुक्ति क्षेत्रमा यार्तुङ पर्व मनाइने परम्परा छ ।

यार्तुङको मुख्य आकर्षण घोंडा दौड हो । गाउँ-गाउँका बलिस्ट र धावक घोडाकासाथ रानीपौवा आइपुग्छन् । घोडा दौडमात्रै हुँदैन, प्रतिस्पर्धा नै हुन्छ । घोडा दौडका विभिन्न कला हेर्न विभिन्न ठाउँबाट पर्यटक आउने गरेका छन् । तोटले दौडेको घोंडाबाटै भुइँमा राखिएको पैसा, खादा टिप्ने कला रोचक हुने गर्छ । यो कौशल काठमाडौंको टुँडीखेलमा नेपाली सेनाले गर्ने प्रदर्शनभन्दा कम छैन ।

ऐतिहासिक सांस्कृतिक कार्यक्रम, नाचगान त भइहाल्यो । तारो हान्ने यार्तुङको अर्को आकर्षण हो । गाउँ-गाउँबाट तारो हान्ने खेलमा भाग लिन सहभागी हुन्छन् । ‘जसले उपाधि जित्छ त्यसको नाम रोशन हुन्छ,’ स्थानीय रमेश गुरुङ भन्छन् । मिठो खाने, एकआपसमा शुभकामना साट्ने र एक गाउँ, अर्को गाउँबीच सदभाव राख्ने यसको मर्म भएको गुरुङले सुनाए । यार्तुङमा धेरै वर्ष पुरानो पोशाकको ठूलो महत्व हुने स्थानीय बताउँछन् ।

यार्तुङ कहिलेदेखि मनाउन थालियो, ठ्याक्कै एकिन छैन । तर,  जिजूबाजेकै पालादेखि यार्तुङ मनाउन थालिएको खिङ्गा गाउँका छवाङ नाम्ग्या गुरुङ बताउँछन् । ‘वर्षौं पहिलेदेखि जिजूबाजेकै पालादेखि यो भव्य रुपमा मनाइन्थ्यो । यार्तुङ सबै गाउँमा हुन्छ, तर जनैपूर्णिमाका बेला १९ गाउँले एकसाथ यार्तुङ मनाउँछ,’ छवाङले भने, ‘यसको विशेष महत्व छ । बर्खायामको बिदाइ गर्दै भव्यरुपमा यार्तुङ मनाइन्छ ।’

पहिलेदेखि नै १९ गाउँका बासिन्दा रानीपौवामा जम्मा हुन्थे र यार्तुङ मनाउँथे । बीचमा केही सेलायो । केही वर्ष अघिदेखि यार्तुङलाई फेरि सबै गाउँलाई जोड्ने र संस्कृति बचाइराख्ने कामको नेतृत्व रानीपौवाकै जनप्रिय युवा क्लबले सम्हाल्यो । अहिले युवा क्लबलाई साथ दिन र यार्तुङ संस्कृतिलाई बचाइ राख्न वारागुङ मुक्तिक्षेत्र गाउँपालिका आइपुगेको छ । पर्यटन बोर्ड पोखराले यसपालीको यार्तुङलाई प्रवर्द्धन गरेको छ ।

‘परम्परागत रुपमा मनाइँदै आएको यार्तुङलाई बचाइराख्ने कामको नेतृत्व गाउँपालिकाले लिनुपर्छ भनेर त्यसको नेतृत्व लिएका छौं,’  गाउँपालिका उपाध्यक्ष बिकी गुरुङले भनिन् ।

यार्तुङ मुस्ताङमा प्राय गाउँमा मनाइन्छ । तर, मुक्तिनाथ क्षेत्र र लोमान्थाङमा सामूहिक रुपमा उत्सवको रुपमा मनाउने गरिन्छ । यार्तुङलाई केही वर्षयता महोत्सवका रुपमा मनाउन थालिएको र त्यसबाट पर्यटकीय आकर्षण पनि थपिएको गाउँपालिका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले बताए ।

सोमबारदेखि सुरु भएको यार्तुङ महोत्सव ३० गतेसम्म चल्ने छ । महोत्सवको उदघाटन गर्न पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि यार्तुङमा रमाए । स्थानीय पोसाकमा सजिए । घोडामा चढेर कार्यक्रमको उदघाटन गरे, याक चढेर रोमाञ्चित बने ।

घोडा दौडको स्वाद लिए । बाटोमा पैसा राखेर घोडा दौडाउँदै टिप्ने कला हेरेर रमाए । यार्तुङमा पुगेर मुख्यमन्त्री गुरुङले मुस्ताङ जिल्ला एक संग्रहालय भएको बताए ।

संसारभर पहिचान, रितिरिवाज र संस्कृति बचाउन अभियान चलिरहेको भन्दै उनले मुक्तिक्षेत्रमा पनि यार्तुङलाई बचाउन उत्सवका रुपमा मनाइएको भन्दै प्रदेशले आर्थिक हिसाबमै सहयोग गर्ने बचन दिए ।

मुख्यमन्त्री गुरुङले लोमान्थाङको अहिले पनि सांस्कृतिक राजा रहेको बताउँदै लोमान्थाङलाई युनेस्कोमा दर्ता गराउन पहल गर्ने आश्वासन दिए । हिँजो दुःखको जिल्ला मुस्ताङले अब मुहार फेर्ने उनको भनाइ थियो ।

मुक्तिनाथलाई डकुमेन्ट्रीका रुपमा भारत र चीनमा पुर्‍याउने, प्रचार प्रसार गर्ने र सन् २०२२ सम्म गण्डकी प्रदेशको जनसंख्या बराबर पर्यटक भित्राउने मुख्यमन्त्री गुरुङले बताए ।

संघीय सांसद प्रेम तुलाचनले यार्तुङ पर्वलाई बचाइराख्न नयाँ पुस्ताले नेतृत्व लिएको बताए । भोलि यार्तुङ हेर्नकै लागि सयौं पर्यटक मुस्ताङ आउने उनको भनाइ थियो ।

‘पर्यटन, संस्कृति, कृषि, पशुपालन र गुणस्तरीय पूर्वाधार, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पहिचान र समृद्धिको मुल आधार’ यार्तुङको मूल मर्मका रुपमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment