Comments Add Comment

प्रचण्डज्यू, नेकपाको एकता भूल नै भएको हो ?

सन् १९२५ मा विख्यात अंग्रेजी साहित्यकार एचजी वेल्सले एउटा कथा लेखे- द पर्ल्स अफ लभ । उक्त कथाको सारांश यस्तो छ –

उत्तर भारतका कुनै राजकुमार एउटी ‘अवर्णनीय’ सुन्दरीसँग माया मोहमा फस्छन् र तत्काल त्यो केटीसँग विवाह बन्धनमा बाँधिन्छन् । विधिको विडम्वना, जङ्गलबाट निस्केको विषालु सर्पको डसाइबाट नवविवाहित राजकुमारीको एक वर्ष नवित्तै ज्यान गएपछि राजकुमारको दाम्पत्य सुख समाप्त हुन्छ ।

राजकुमार शोकविहृवल हुन्छन् र लामो मौनतापछि उनी यो निर्णयमा पुग्छन् कि उनी जीवनभर अर्को विवाह गर्ने छैनन् । दिवंगत राजकुमारीको सम्झनामा एक भव्य स्मारक निर्माण गर्न उनले आफ्नो सम्पूर्ण जीवन समर्पण गर्नेछन् ।

राजकुमारको योजना जनताले स्वीकार गरे । हीरा, मोती, जुहारत, सुनले सुसज्जित राजकुमारीको चिहानलाई केन्द्रमा पारेर भव्य स्मारक बनाउन शुरु गरिन्छ ।

वर्ष बित्तै गए, स्मारकको भव्यता थपिँदै गयो । सितिमिति चित्त नबुझाउने राजकुमार भएकाले भत्काएर नयाँ-नयाँ डिजाइन थपिँदै गए । राजकुमारको सोच अनुसार त्यस क्षेत्रका त्यसबेलाका सर्वोत्तम कालिगढहरुले दिमाग लगाएर स्मारकको काम लगभग सकियो ।

तर, राजकुमारलाई अझै स्मारकको सुन्दरता र भव्यतासँग चित्त बुझेन । राजकुमार घण्टौं घण्टा सो स्मारकमा के मिलेन वा बढी भयो भनेर एकोहोरो हेरिरहन्थे । अन्त्यमा राजकुमारले आदेश दिए- ‘राजकुमारीको शव स्मारकबाट हटाऊ !’

प्रशङ्ग नेकपा एकताको हो ।

संविधानसभाले बनाएको संविधानको आधारमा हुने प्रथम निर्वाचन लड्न तत्कालीन एमाले र तत्कालीन माओवादीले संयुक्त रुपमा चुनाव लड्न गठबन्धन निर्माण गरे । गठबन्धनमात्र निर्माण गरेनन्, चुनावपछि पार्टी एकता गर्ने घोषणासमेत गरे । चुनावमा झण्डै दुई तिहाई जनताले बाम गठबन्धनलाई साथ दिए ।

रिणामस्वरुप केन्द्र र प्रदेशमा बाम गठबन्धनका शक्तिशाली सरकार बने र घोषणा गरिएबमोजिम पार्टी एकतासमेत गरियो ।

पार्टी अध्यक्ष प्रचण्डले भनेजस्तै एकता नभएको भए के हुन्थ्यो ? के-के विकल्प बाँकी रहन्थे ? विगतको अस्थिर राजनीतिले निरन्तरता पाउँथ्यो, सिंहदरबारमा छिटोछिटो प्रधानमन्त्रीका फोटोहरु थपिँदै जान्थे अरु के हुन्थ्यो ?

यो अवधिमा बाम गठबन्धन र पार्टी एकताको आवश्यकता र औचित्यबारे लिखित र मौखिक व्याख्या नेपालीको राजनीतिक बजारमा निस्किए । स्थिरता, शान्ति, सुशासन, आर्थिक सम्वृद्धि, सन्तुलित विदेश नीतिका हेतु नेकपाको एकताको आवश्यकता र औचित्य देशव्यापी दर्शाइयो । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को चुनावअघि र पछिका देश दौडाहा यसैमा केन्द्रित रहे । नेकपाका अन्य शीर्षनेता पनि नेकपा एकतालाई निष्कर्षमा पुर्‍याउन तल्लीन रहे ।

इतिहासमै नभएको र विरलै अपेक्षा गरिएको तत्कालीन एमाले र तत्कालीन माओवादी पार्टीजस्ता भीमकाय पार्टीको एकीकरण अब अन्तिम चरणमा छ । केन्द्रका केही अंगहरु र तृणमूल तहका केही पार्टी संगठनको एकता भएपछि नेकपाको सांगठानिक एकताको मैझारो हुनेछ ।

पार्टी एकताका सूत्राधार, निर्णायक पदमा आसीन र एकताको क्रममा नेता कार्यकर्तामा देखिन सक्ने असन्तुष्टिलाई साम्य पार्न भूमिका खेल्नुपर्ने नेकपा अध्यक्ष प्रचण्डलाई उल्लेखित कथाको राजकुमारझैं असन्तुष्ट भइरहन मिल्ला र ?

ठीक यही विन्दुमा विगतमा जनयुद्धको नेतृत्व गरेका, शान्ति प्रक्रियामा निर्णायक भूमिका खेलेका, संविधान निर्माणमा लचकता र सिर्जनात्मकता प्रयोग गरेका र संविधानको घोषणापछि ‘आमूल सामाजिक आर्थिक रुपान्तरणको माध्यमद्वारा समाजवादमा पुग्ने’ ध्येयका वाम गठबन्धन र पार्टी एकताका लागि अब्बल र अविच्छिन्न भूमिका निभाएका नेकपाका अध्यक्ष प्रचण्डबाट एउटा सार्वजनिक अभिव्यक्ति आयो- ‘कहिलेकाहीँ मलाई लाग्छ, पार्टी एकता भूल भयो कि, पार्टी एकता नगरेको भए विकल्प बाँकी रहन्थे कि !’

पार्टी अध्यक्ष प्रचण्डले भनेजस्तै एकता नभएको भए के हुन्थ्यो ? के-के विकल्प बाँकी रहन्थे ?

प्रष्टै छ -बाम गठबन्धन नै नबनेको भए वा गठबन्धन बनेर चुनाव सकिएपछि घोषणा भएबमोजिम पार्टी एकता नभई बाम गठबन्धन नै टुटेको भए तत्कालीन एमालेको शक्तिशाली उपस्थिति रहेको ‘हंग पार्लियामेन्ट’ हुने थियो । सरकार बनाउने र गिराउने खेल चलिरहन्थ्यो । विगतको अस्थिर राजनीतिले निरन्तरता पाउँथ्यो, सिंहदरबारमा छिटोछिटो प्रधानमन्त्रीका फोटोहरु थपिँदै जान्थे । स्थिरता, शान्ति, सुशासन, आर्थिक सम्वृद्धिलाई ओझेलमा पार्ने गरी सत्ता प्राप्तिको बुर्कुसी चलिरहन्थ्यो । अरु के हुन्थ्यो ?

भनिन्छ- हरेक मानिसका अभिव्यक्तिले उसका कतिपय अव्यक्त चाहना र हुटहुटीको पर्दाफास गर्छ । ‘आवश्यकताअनुसार सरकारको आलोपालो गरिनेछ ।’ भन्ने तत्कालीन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’वीच भएको सहमति कार्यान्वयनमा समस्या देखिँदै जाँदा र सरकारको आलोपालो नेतृत्वको आवश्यकता कसले र कहिले महसुस गर्ने भन्नेमा कुनै प्रष्टता नभएको बखत आएको यो अभिव्यक्ति अर्थपूर्ण छ ।

लोकतन्त्रमा असन्तुष्टि व्यक्त गर्नु सामान्य कुरा हो । राजनेता, नेता, कार्यकर्ता जनता सबैले असन्तुष्टि व्यक्त गर्न पाउँछन् । तर, पार्टी एकताका सूत्राधार, निणर्ायक पदमा आसीन र एकताको क्रममा नेता कार्यकर्तामा देखिन सक्ने असन्तुष्टिलाई साम्य पार्न भूमिका खेल्नुपर्ने नेकपा अध्यक्ष प्रचण्डलाई उल्लेखित कथाको राजकुमारझैं असन्तुष्ट भइरहन मिल्ला र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment