Comments Add Comment

पूर्वाञ्चल विश्वविद्यालयको प्राध्यापक छान्न होटलमा अन्तरवार्ता

सेवा आयोग अध्यक्षबाट विदा भइसकेकाले लिए जाँच

४ भदौ, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोग अध्यक्षबाट विदाई भइसकेका बद्रीनाथ श्रेष्ठले प्राध्यापक र सहप्राध्यापक नियुक्तिका लागि होटलमा परीक्षा सञ्चालन गरेका छन् ।

साउन अन्तिम साता नै विदाई भएका अध्यक्ष श्रेष्ठले सोमबार काठमाडौंको होटल एम्बास्डरमा प्राध्यापक र सहप्राध्यापकको नियुक्तिका लागि अन्तर्वार्ता परीक्षा लिएका हुन् । श्रेष्ठको चारवर्षे कार्यकाल भदौ ५ गते सकिँदैछ, तर विश्वविद्यालय परिवारले उनलाई साउन अन्तिम साता नै विदाई गरिसकेको छ ।

अन्तर्वार्तामा विज्ञको रुपमा प्रा.डा. कमल ढकाल, पृथ्वीविक्रम राई र पुस्कर बज्राचार्यसमेत सहभागी भएको पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगबाट विदाई भइसकेका सदस्य महेन्द्र यादवले जानकारी दिए । यादवलाई पनि सोमबार बिहान काठमाडौं बोलाइएको थियो । बिहान काठमाडौं पुगेका यादव सोमबार बेलुका विराटनगर फर्किएको बताउँछन् । उनले भने, ‘म सहभागी भएपनि आमन्त्रित सदस्य भएकाले छनोट प्रक्रियामा मेरो कुनै भूमिका हुँदैन ।’

होटल बुक गर्दा विश्वविद्यालयको नाममा नभई सेवा आयोग अध्यक्ष बद्रीनाथ श्रेष्ठको नाममा गरिएको स्रोतले जानकारी दियो । सोमबार अन्तरवार्ताको तयारी भएपछि परीक्षार्थी र सेवा आयोगका सदस्यलाई बिहान होटलमा बोलाइएको थियो । जबकी पूर्वाञ्चल विश्वविद्यालयको सम्पर्क कार्यालय काठमाडौंमा पनि छ ।

‘कानुनविपरित र आपत्तीजनक’

पूर्वाञ्चल विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक बोधहरि आचार्य होटलमा अन्तरवार्ता लिनु कानुनविपरित भएको बताउँछन् । ‘कार्यालय छँदाछँदै यदि होटलमा परीक्षा लिएको भए त्यो गैरजिम्मेवारीपन हो,’ उनले भने, ‘यस विषयमा अध्ययन गरिरहेका छौं ।’

विदाई कार्यक्रममा सेवा आयोग अध्यक्ष बद्रीनाथ श्रेष्ठ (फूलको माला लगाएका) र सदस्य महेन्द्र यादव (बायाँ)

पूर्वाञ्चल विश्वविद्यालय सुधारको अभियान सञ्चालन गरिरहेका नेकपा केन्द्रीय सदस्य महेश रेग्मीले पनि प्राध्यापक नियुक्तिका लागि होटलमा अन्तरवार्ता लिनु विश्वविद्यालयका लागि लाजमर्दाे विषय भएको बताए । केन्द्रीय कार्यालय र सम्पर्क कार्यालय हुँदाहुँदै होटलमा अन्तरवार्ता गर्नु आपत्तीजनक भएको उनको भनाइ छ । ‘विश्वविद्यालयको सम्पर्क कार्यालय काठमाडौंमा छ,’ उनी भन्छन्, ‘कार्यालय हुँदाहुँदै होटलमा अन्तरवार्ता गर्दा कस्तो थिती बस्ला ?’ विश्वविद्यालयबाट विदा भइसकेका व्यक्तिले नियुक्तिका लागि अन्तरवार्ता लिनु पनि गलत भएको उनको भनाइ छ ।

उम्मेद्वारलाई बधाईको ओइरो

प्राध्यापकको मौखिक परीक्षाका लागि काठमाडौं पुगेका प्रा.डा. जीवनकुमार ढकाल त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक र शैलेन्द्र शिवाकोटी त्रिभुवन विश्वविद्यालयको अस्थायी उपप्राध्यापक (शिक्षण सहायक) हुन् । काठमाडौंमा परीक्षा दिएर फर्किएका ढकाल नियुक्तिको आधिकारिक जानकारी नआए पनि बधाई भने आउन थालेको बताउँछन् । काठमाडौंमा अन्तरवार्ता दिएर फर्किएपछि टेलिफोन गरी पूर्वाञ्चल विश्वविद्यालयका सहकर्मीहरुबाट बधाई आइरहेको उनले बताए ।

विद्यार्थी नेता भन्छन्- हाजिर हुन दिन्नौं

विश्वविद्यालयले २०७४ साल चैत ९ गते १ जना प्राध्यापक, तीन विषयगत सहप्राध्यापक र पाँच उपप्राध्यापकसहित विभिन्न पदका लागि विज्ञापन आह्वान गरेको थियो । विद्यार्थी नभएको विषयमा पनि विज्ञापन प्रकाशित गरेको भन्दै विद्यार्थीहरुले आन्दोलन गरिरहेकै बेला व्यवस्थापन तर्फको प्राध्यापकमा ढकाल र सहप्राध्यापकमा शिवाकोटीको नाम अन्तरवार्ताका लागि छनोट भएको थियो । पटकपटक अन्तरवार्ताको मिति तोकिए पनि विद्यार्थीहरुको विरोधका कारण अन्तरवार्ता लिन नसकेको विश्वविद्यालयले काठमाडौंको होटलमा अन्तर्वार्ता लिएको हो ।

छनोट प्रकृयामा असन्तुष्टि जनाउँदै चार विद्यार्थी संगठनले विश्वविद्यालय सेवा आयोगको केन्द्रीय कार्यालयमा लगाएको ताला अझै खुलेको छैन । विद्यार्थी संगठनहरुले होटलमा गरिएको अन्तरवार्ताका आधारमा नियुक्ति पाएका प्राध्यापक र सहप्राध्यापकलाई विश्वविद्यालयमा हाजिर गर्न नदिने बताउँछन् । विद्यार्थी नेता वसिम आलमले भने, ‘सेवा आयोगमा तालाबन्दी भएको अवस्थामा पूर्वसूचना विना होटलमा गरिएको अन्तरवार्ताका आधारमा नियुक्त भए हाजिरी गर्न दिँदैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment